१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

७५ दिनदेखि पानीजहाजभित्रै छन् बोहरा

नविन पोखरेल

लन्डन — दुईमहिने बिदामा नेपाल गएर परिवारसँग रमाउने उनको योजना चकनाचुर हुन पुग्यो जब विमानस्थलका कर्मचारीले लकडाउनको कारण देखाउँदै त्यहीँबाट फर्काइदिए ।

७५ दिनदेखि पानीजहाजभित्रै छन् बोहरा

सिल्भर सी क्रुजेजमा कार्यरत हर्क बोहोरा गत मार्च २० को साँझ सिड्नीबाट उड्ने तरखरमा थिए । तर, मलेसियन एयरलाइन्सका कर्मचारीले लगेज जाँचका क्रममा नेपालमा लकडाउन सुरु भइसकेकाले जहाज नजाने भन्दै फर्काइदिए ।

बोहरा फर्किएर एक साता सिड्नीस्थित होलिडे इनमा बसे । त्यति बेला सिड्नी पनि कोभिड–१९ कारण लकडाउनमा थियो । बाहिर घुमघाम, साथीभाइ भेटघाटको सम्भावना थिएन । ‘क्रुजका साथीहरूसँग बिदा भएर निस्किएको थिएँ, विमानस्थलबाटै फर्कनुपर्‍यो’, हाल बेलायतको साउथह्याम्पटनस्थित बन्दरगाहमा फसेका बोहराले सुनाए, ‘म त नेपाल जान नसक्ने भएँ भनेर कम्पनीमा फेरि सम्पर्क गरें । उनीहरूले पर्थ आउनू, २६ मार्चमा अर्को क्रुज जाँदैछ भनेपछि एजेन्टमार्फत पर्थ गएँ ।’

पर्थबाट पानीजहाज चढ्नेबित्तिकै उनी १४ दिन आइसोलेसनमा बस्नुपर्ने भयो । कोरोना संक्रमण भए फैलन सक्छ भनेर उनलाई एक चिकित्सकले नै छैटौं तलाको बन्द कोठामा लगेर छाडेका थिए । कतै छुन नमिल्ने, कतै निस्कन नमिल्ने । ‘एक जना डाक्टर र बटलर (खाना ख्वाउने) आउँथे, अरूलाई प्रवेश अनुमति थिएन’, बोहराले सुनाए, ‘बाहिरबाट ढोका लक गरिदिएका थिए तर आपत्कालीन अवस्थामा तोड्न मिल्ने खालको थियो ।’

पानीजहाजभित्र टीभी, वाइफाई र खानेबस्ने, सुत्ने सबै व्यवस्था थियो । तर ‘होम सिक’ र कोरोनाको त्रासले उनी तड्पिरहे । कहिले क्याप्टेन, कहिले एचआर त यदाकदा साथीभाइसँग सम्पर्क गर्दै दिन बित्थ्यो ।

जहाज पर्थबाट १७ दिनमा दक्षिण अफ्रिकी सहर केपटाउन पुग्यो । ‘त्यहाँ १८० जना क्रु मेम्बरका लागि खानेकुरा किन्यौं । सबै सामान स्यानिटाइज गरेर ४८ घण्टा फ्रिजरमा राख्थ्यौं’, बोहरा सम्झिन्छन् ।

केपटाउनबाट जहाज स्पेनको टेनेरिफ पुग्यो । एउटै कम्पनीका पाँचवटा जहाज त्यहीँ आए । तिनमा रहेका सबैलाई एउटै जहाजमा राखेर स्पेनबाट बेलायतको साउथह्याम्पटनको यात्रा सुरु भयो ।

मे १० मा साउथह्याम्पटन आइपुगेका बोहरा र उनका साथी सुजन सुवेदी नेपाल सरकारले कहिले विमान चार्टर गर्ला भनेर बाटो हेरिरहेका छन् । नेपाल जान पाउने भए कम्पनीले विमानस्थलसम्म छाडिदिने नत्र भित्रै बस्नुपर्ने बाध्यता छ । आफ्नै कम्पनीको जहाजमा ट्रान्स्फर हुन पनि नमिल्ने उनी बताउँछन् । उनीहरूको दिनदिनै तापक्रम जाँचिने गरेको छ ।

‘मार्च २० देखि बिनातलब बस्नुपरेको छ । अझै कति लामो बस्नुपर्ने हो, मानसिक तनाब भइसक्यो,’ बोहराले कान्तिपुरसँग भने, ‘७४ दिन भइसक्यो जहाजभित्र थुनिएको । सरकारले उद्धार गरे बरु लागेको पैसा खर्च र नियम पालना गर्न राजी छौं ।’ उनले लन्डनस्थित नेपाली दूतावासमा उद्धारका लागि नाम टिपाइसकेको बताए ।

बोहरा नेपाल छँदा धनगढी प्रिमियर लिग (डीपीएल) मा ‘हस्पिटालिटी’ हेर्थे । उनी हस्पिटालिटी क्षेत्रमा लागेको ६ वर्ष बितिसकेको छ । दोहाको कतारमा ग्रान्ड हायात, चीनको ग्लोरी सी डायमन्ड क्रुजमा काम गरेपछि उनले सेप्टेम्बर २२ देखि फ्रान्सको बुर्डोबाट सिल्भर सी क्रुजेजमा जागिर थालेका हुन् । करिब ९ महिनामा विश्वका ६० वटाजति देश पानीजहाजमै यात्रा गरेको अनुभव उनीसँग छ ।


प्रकाशित : जेष्ठ २३, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?