बेलायतले फर्कायाे ३० हजार नागरिक

नेपालबाट पनि तीन उडानमा करिब ७ सय नागरिक फिर्ता ल्याइएको छ
नविन पोखरेल

लन्डन — बेलायत सरकारले कोभिड–१९ पछि जारी लकडाउनका कारण विदेशमा फसेका आफ्ना ३० हजारभन्दा बढी नागरिक फिर्ता ल्याएको छ । बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका नागरिक ल्याएको हो । 

बेलायतले फर्कायाे ३० हजार नागरिक

कोरोना संक्रमण रोक्न अधिकांश मुलुकले अन्तर्राष्ट्रिय उडान रोकेपछि हजारौं बेलायती विदेशमा अलपत्र थिए । ब्रिटिस परराष्ट्र मन्त्रालय (एफसीओ) ले विज्ञप्तिमा जनाएअनुसार ८ अप्रिलयता भारतबाट १३ हजार ५ सयभन्दा बढी, पाकिस्तानबाट ४ हजार, दक्षिण अफ्रिकाबाट २ हजार, न्युजिल्यान्डबाट १ हजार ५ सय र बंगलादेशबाट १६ सय बेलायती ल्याइएको छ ।

बेलायतले नेपालबाट पनि तीन उडानमा करिब ७ सय नागरिक फिर्ता ल्याएको थियो । नेपालको पहाडी क्षेत्रमा अलपत्र परेका ब्रिटिस नागरिकको उद्धार गर्न गोर्खा सैनिकहरूलाई खटाइएको थियो । ‘हामी संसारभरि सबैभन्दा जोखिमपूर्ण स्थितिमा रहेका ब्रिटिस नागरिकलाई सुरक्षित रुपमा स्वदेश फिर्ता ल्याउन एकदमै केन्द्रित छौं,’ विदेशमन्त्री राबले भने । उनले ३० मार्चमा विश्वभर रहेका नागरिक स्वदेश फिर्ता ल्याउन सरकारले करिब ११ अर्ब रुपैयाँ (७५ मिलियन पाउन्ड) छुट्ट्याएको घोषणा गरेका थिए ।

पहिलो चार्टर उडान चीनको वुहानबाट ३१ जनवरीमा गरिएको थियो । नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, फिजी, दक्षिण अफ्रिका, बोलिभिया, बर्मुडा, न्युजिल्यान्ड, साउदी अरब, कोलम्बिया, अर्जेन्टिना, होन्डुरस आदि देशबाट नागरिक ल्याइएको छ ।

कोभिड–१९ देखिएपछि कमर्सियल रुटबाट करिब १३ लाख नागरिक बेलायत फर्किएको मन्त्रालयको अनुमान छ । सरकारले अझै विदेशमै अड्किएका बेलायतीलाई स्वास्थ्योपचार, भिसा थप आदिका लागि आर्थिक सहयोगको ‘प्याकेज’ ल्याइएको पनि उल्लेख गरेको छ ।

यसैबीच, बेलायतमा रहेका सयौं नेपाली पनि स्वदेश फर्कन व्यग्र प्रतीक्षामा छन् । विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी, परीक्षाका लागि आएका चिकित्सक, तालिम तथा भिजिट भिसामा आएका नेपालीले उद्धारको अपिल गरिरहेका छन् ।

लन्डनस्थित नेपाली दूतावासले तत्काल नेपाल फर्कन खोजेका करिब सय नेपाली आफ्नो सम्पर्कमा रहेको जनाएको छ । ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय उडान सुचारु नभइन्जेल धैर्य गर्न भनेका छौं’, दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भने, ‘हो परिस्थिति जटिल छ । यस्तो अवस्थामा संयम अपनाएर सरकारलाई सहयोग गर्न हामी अपिल गर्छौं ।’

गैरआवासीय नेपाली संघ बेलायतले पनि कोभिड–१९ का कारण रोकिन बाध्य नेपालीलाई स्वदेश फर्काउने अभियानस्वरूप तथ्यांक संकलन थालिएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?