१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतले नेपाली भूमि मिचेको भन्दै कांग्रेसका प्रवासी संगठनहरू विरोधमा

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतले लिपुलेकमा सडक बनाएर नेपालको सीमा अतिक्रमण गरेको भन्दै नेपाली कांग्रेसनिकट प्रवासी संगठनहरूले विरोध जनाएका छन् । विभिन्न मुलुकमा गठित कांग्रेसनिकट ३४ वटा जनसम्पर्क समितिका सभापतिले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको भर्त्सना गरेका हुन् ।

भारतले नेपाली भूमि मिचेको भन्दै कांग्रेसका प्रवासी संगठनहरू विरोधमा

ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा लिपुलेक नेपाली भूमि भन्ने प्रस्ट भएकाले भारतले सीमा मिचेर सार्वभौम राष्ट्रको भूगोलमा हस्तक्षेप गरेको आरोप उनीहरूले लगाएका छन् । ‘सीमाजस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ, त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सहभापतिहरू घोर निन्दा र भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्या समाधान नहुने भन्दै जिम्मेवार ढंगले समाधान खोज्न आग्रह गरेका छन् । ‘नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहलकदमीमार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत पिथौरागढबाट लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेका थिए । नेपाली भूमि भएर सडक निर्माण गरिएको भन्दै नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै भारतको उक्त कदमको कडा शब्दमा विरोध जनाएको छ । भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरिएको दाबी गरेको छ ।

प्रकाशित : वैशाख २९, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?