न्युयोर्कमा १७३ नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

दिनेशजंग शाह

न्यूयोर्क — कोभिड–१९ महामारीका कारण समस्या भोगिरहेका न्यूयोर्कमा रहेका एक सय ७३ नेपाली विद्यार्थीहरुलाई न्यूयोर्कमा क्रियाशील नेपाली संघ संस्थाहरुको साझा सन्जाल ‘कोरोना विरुद्व सचेतना एवं सहयोग समुह’ले खाद्यान्न वितरण गरेर सहयोग गरेको छ । विद्यार्थी भिसा (एफ वान) रहेका दर्जनौं विद्यार्थीहरुलाई तीन चरणमा गरी एक महिना पुग्ने खाद्यान्न दिइएको छ ।

न्युयोर्कमा १७३ नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

पहिलो चरणमा ४६ विद्यार्थीहरुलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरिएको थियो भने दोस्रो चरणमा ५६ जना लाभान्वित भएका थिए । तेस्रो चरण अन्तर्गत शनिबार थप ७१ जना विद्यार्थीहरुलाई सहयोग गरिएको हो । व्यक्तिगत गोपनियताका कारण सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण सार्वजनिक नगरिएको ‘सचेतना एवम सहयोग समुह’ का संयोजक आनन्द बिष्टले कान्तिपुरलाई बताए । उनका अनुसार खाद्यान्न राहतका लागि विद्यार्थीहरु निरन्तर सम्पर्कमा आइरहेका छन् ।

शनिबार खाद्यान्न सहयोग प्राप्त गरेका एक विद्यार्थीले भने, ‘स्थानीय सरकारको निर्देशन बमोजिम अहिले कोठा भाडा तिर्न नसकेपनि घरबेटीले हामीलाई निकाल्न सक्दैन । तीन महिनालाई बसाईंको समस्या छैन । अहिले मुख्य आवश्यकता, खाद्यान सहयोग नै हो ।’

न्यूयोर्कमा स्थानीय सरकारले विभिन्न स्थानमा निशुल्क खाना वितरण गरिरहेको छ । लामो लाइनको झन्झट, संक्रमणको डरले पनि विद्यार्थीहरु त्यहाँ जान हच्चकिन्छन । सिटी कलेजमा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘वितरण गर्ने ठाउँसम्म जानै डर छ । हामीलाई दाल भात चाहिने । त्यहाँ अर्कै खाना बाँड्छ ।’

समुहले भने विद्यार्थीहरुको डेरामै २० पाउन्डको चामलको बोरा, तरकारी, चना, दाल, तेल, बिस्कुट लगायतका उपभोग्य सामानहरु डेलिभरी गरिरहेको छ । समुहमा सक्रिय स्वयंसेवी एवं दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही भन्छन्, ‘राहत वितरण गर्न हामी एकदर्जन सक्रिय छौं । सुरक्षित रुपमा सावधानी पूर्वक खाद्यान्न संकलन र डेलिभरी गरिरहेका छौं ।’

आगामी साता चौथो चरणको सहयोगका लागि पनि दर्जनौं विद्यार्थीहरु सम्पर्कमा आइसकेको सन्जालले बताएको छ । समुहबाट सहयोग पाउन, विद्यार्थीहरु ‘एफ वान’ भिसामा हुनपर्ने नियम छ । सामाग्री वितरणका लागि तीन दर्जन संघ संस्थाहरु एवं दर्जनौं व्यक्तिहरुको समुहले सहयोग गरिरहेका छन् । स्थिती अनुकुल नहुन्जेल समुहले अभियानलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?