संकटमा बेलायतका नेपाली रेस्टुँरा

कोरोना भाइरस रोकथामपछि पनि आर्थिक मन्दी आउने निश्चित भएकाले अधिकांश व्यवसाय सधैंका लागि बन्द हुने देखिएको छ
नवीन पोखरेल

लन्डन — बेलायतस्थित लेस्टरमा ८ वर्षदेखि इटालियन रेस्टुरेन्ट ‘ओजी’ (टुडे) सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाको लेस्टरमै अर्को रेस्टुरेन्ट छ गोर्खा एम्बेसी  । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले दुवै रेस्टुरेन्टमा ताला लागेका छन् ।

संकटमा बेलायतका नेपाली रेस्टुँरा

ओजीमा त यसअघि टेक वे थिएन तर नेपाली रेस्टुरेन्ट पनि पूर्णत: बन्द गरिएको सापकोटा बताउँछन् । उनकै शब्दमा वार्षिक ७ लाख पाउन्ड टर्न ओभर हुने रेस्टुरेन्ट अहिले मासिक ३० हजार पाउन्ड घाटामा छन् । कर्मचारीलाई तलब दिन सरकारले बेहोर्ने ८० प्रतिशत (फर्लो स्किम) र ‘ग्रान्ट’ ले केही सघाउ पुगे पनि त्यो रेस्टुरेन्ट सर्भाइभ हुन पर्याप्त छैन ।

सापकोटाका अनुसार मिडल्यान्डमा मात्र नेपालीका करिब सय रेस्टुरेन्ट छन् जसको हालत समान छ । ‘हामी दैनिक २५, ३० जना जुममार्फत अन्तरसंवाद गरिरहेका हुन्छौं । सबै साथीहरूको चिन्ता अब व्यवसाय चलाउन नसकिने भयो भन्ने नै हुन्छ,’ उनले सुनाए ।

लन्डनका अर्का व्यवसायी विजय थापाको अवस्था पनि उस्तै छ । थापाको पट्नीस्थित मुनाल तन्दुरीले अहिले ‘टेक–अवे’ सर्भिसमात्र गरिरहेको छ । ‘यसले खर्च धान्न पनि मुस्किल छ,’ थापाले भने, ‘सरकारले दिने ग्रान्टले केही राहत दिएको छ तर व्यवसाय निरन्तर घाटामा जान थालेपछि परिस्थिति थप जटिल बन्ने निश्चित छ ।’

नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष थापाले संस्थामा आबद्ध करिब ७० प्रतिशत सदस्यहरूले अहिले टेक–अवे खोलिरहेको जानकारी दिए । एसोसिएसनको बुझाइमा बेलायतमा नेपाली रेस्टुरेन्ट संख्या करिब अढाई सयदेखि ३ सयसम्म हुन सक्छ । लकडाउनका कारण ती सबैको हालत चौपट छ ।

बेलायतमा रेस्टुरेन्ट व्यवसाय अरू दुई चार वर्ष संकटग्रस्त हुने चिन्ता व्यवसायीको छ । ‘कोरोना भाइरस रोकथामपछि पनि मुलुकमा आर्थिक मन्दी आउने भएपछि व्यवसाय संकट उन्मुखतिर गइरहेका छन् । धेरै बिजनेसमा ताला लाग्ने डर छ,’ थापाले सुनाए ।

ग्रेसटस्थित बेलिफ रेस्टुरेन्टमा पनि अहिले टेक–वे सेवामात्र छ । सञ्चालक विष्णु खरेल ‘टेक वे’ डेलिभरीबाट विगतको तुलनामा ६५ प्रतिशतमात्र कमाइ हुने बताउँछन् । ‘स्टाफलाई फर्लो स्किममा राखेको छु । सरकारले दिएको १० हजार पाउन्ड ग्रान्टले रेन्ट तिर्न सजिलो भयो,’ खरेलले भने, ‘आगामी जुन जुलाई महिनासम्म लकडाउन खुले रेस्टुरेन्ट व्यवसाय सर्भाइभ हुन सक्छन् । त्यसपछि भयो भनेचाहिँ ठूलो डिजास्टर आइलाग्ने पक्का छ,’ रेस्टुरेन्ट खोलेको १० वर्षमा यस्तो संकट भोगेको खरेलले भने ।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले विगत डेढ महिनादेखि लागू गरेको लकडाउन कहिले टुंगिने हो निश्चित छैन । रेस्टुरेन्ट बिजनेस सुचारु गर्न अनुमति भए पनि त्यसका केही प्रावधान रहने देखिएको छ । ‘सोसल डिस्टेन्सिङ प्रावधान राखिए १०० जनाको सिटमा ५० जनामात्र अट्छन् । आधा कम ग्राहकलाई ख्वाएर बिजनेस कसरी चल्छ र ?’ सापकोटाको प्रश्न छ ।

कोभिड–१९ को औषधि वा खोप नबन्दासम्म रेस्टुरेन्ट वा आउटिङ गएर खाने, रमाइलो गर्न मानिस डराउने व्यवसायी बताउँछन् । भर्खर सिँढी चढ्दै गरेका नेपाली व्यवसाय कोरोना भाइरस महामारीले संकटतर्फ धकेलिएका छन् । बेलायतमा ५ वर्षसम्म आर्थिक मन्दी लम्बिने भविष्यवाणी भएकाले अब हस्पिटालिटी क्षेत्रको भविष्यमा कमै देख्छन् खरेल ।

सरकारको पोलिसीले ‘बिजनेस रेट’ का आधारमा प्रत्येक व्यवसायलाई १० देखि २५ हजार पाउन्डसम्म ग्रान्ट प्रदान गरेको छ । सरकारले जुन महिनासम्म कर्मचारीको ८० प्रतिशत ज्याला पनि तिरिदिने भएको छ । तर, अधिकांश नेपालीले कर नतिर्न नगदमा काम गरेकाले त्यो स्किमबाट लाभान्वित संख्या उल्लेख्य नहुने व्यवसायीको भनाइ छ ।

प्रकाशित : वैशाख २१, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?