कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नागरिक नेपाल फर्काउन सकिन्‍न :  दूतावास

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न नसकिने प्रस्ट पारेको छ । एकसातापछि नेपाली ध्वजाबाहक विमान अस्ट्रेलिया आउन लागेको सन्दर्भमा यहाँ अत्यन्तै समस्यामा रहेका नेपाली फिर्ता लैजान माग भएपछि दूतावासले विज्ञप्ति निकालेर उक्त कुरा जनाएको हो । 

नागरिक नेपाल फर्काउन सकिन्‍न :  दूतावास

अस्ट्रेलिया तथा न्युजिल्याण्डका नागरिक लिएर नेपाल एयरलाइन्सको विमान दोस्रो पटक अस्ट्रेलिया आउन लागेको छ । सोही विमानमा यहाँ बिरामी रहेका तथा अत्यन्तै समस्यामा परेका नागरिकलाई उद्धार गरेर नेपाल फर्काउन माग भएपछि दूतावासले तत्काल उद्धार गर्न नसकिने बताएको हो ।

‘यो विषम परिस्थितीमा स्वदेश फर्किने नेपाली नागरिकलाई व्यवस्थापन गर्न पर्याप्त स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिक परिवार र समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्न सुरक्षित नहुने विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित रहन अनुरोध गरिन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालले अहिले नेपाल सरकारले यात्रा गर्न प्रतिबन्ध गरेका कारण यहाँका नेपालीलाई उद्धार गर्न नसकिने बताए । ‘हामीले यहाँको वस्तुस्थिती र मागका बारेमा नेपाल सरकारलाई जानकारी गराएका थियौं तर सरकारबाट स्वीकृति नआएका कारण हामीले नेपालीलाई फर्काउन नसकेका हौं,’ उनले भने ।

नेपाल सरकारलाई औपचारिक पत्राचारका साथै पटक पटक आग्रह गरेपनि अनुमति नपाएपछि आफूहरुले निर्णय गर्न नसकेको उनको भनाइ छ । उनले अस्ट्रेलियामा बस्न अत्यन्तै समस्या भए त्यसको निराकारणका लागि एनआरएन लगायतका अन्य संस्थासँग समन्वय गरेर सहयोग पुरयाइरहेको दाबी गरे ।

यस्तै, सिड्नीमा एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्ट्राथफिल्डमा बस्दै आएका करिब ३० वर्षका विद्यार्थीमा भाइरसको संक्रमण देखिएको हो ।

यसैबीच भिक्टोरिया राज्यले एक विज्ञप्ति जारी गर्दै उक्त राज्यमा अध्ययनरत विदेशी विद्यार्थीलाई अधिकतम् ११ सय डलरको आर्थिक सहायता दिने जनाएको छ । राज्यद्वारा दिइने सहयोग कोरोना भाइरसका कारण जागिर गुमाएका र अत्यन्तै आर्थिक समस्यामा परेकालाई प्राथमिकताका आधारमा दिइनेछ ।

रोजगार तथा व्यवसाय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय विद्यार्थीले राज्यको अर्थतन्त्र तथा रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख छ ।

प्रकाशित : वैशाख १७, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?