बेलायतमा नेपाली लक्षित आक्रमण बढे

नवीन पोखरेल

लन्डन — बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा पार्किङ गरी राखिएका नेपालीका दुईवटा कार गत बुधबार राति ११ बजे आगो लगाएर जलाइयो ।

बेलायतमा नेपाली लक्षित आक्रमण बढे

अज्ञात व्यक्तिले एल्मस्टोन लेनस्थित भूतपूर्व गोर्खा रामकुमार लिम्बूको फोर्ड फोकस कार जलाएका थिए । लगत्तै करिब २ सय मिटर पर फ्यान्ट लेन निवासी वसन्त मादेनको कार पनि जलाइयो ।

अर्को सहर फार्नबोरोमा भूतपूर्व गोर्खा वृद्धवृद्धा पनि जातीय विभेदको सिकार भए । केही दिनअघि केही स्थानीय व्यक्तिले ती वृद्धवृद्धाले लगाएको मास्क थुतेर अपमानित हुने गरी गाली गरेको फार्नबोरो निवासी खेजी राईले जनाइन् ।

ब्रिस्टोल सहरमा पनि गतमहिना एक नेपालीले अपशब्द सामना गर्नुपर्‍यो । २३ वर्षका रोशन गुरुङ ग्लोस्टररोडमा हिँडिरहँदा कारमा सवार एक व्यक्तिले झ्याल खोलेर ‘ओइ, चमेरा कतिमा बिक्री गरिरहेका छौ ? कोरोना भाइरसका लागि बधाइ’ भन्दै चिच्याएको गुरुङले सम्झिए । बेलायतमा पहिलो पटक आफूले जातीय विभेद अनुभव गरेको उनी बताउँछन् ।

बेलायतमा नेपालीमाथि जातीय आक्रमण मुद्दा नौलो होइन् । तर अहिले घटना झन् बढेका छन् । गत जुलाईमा पनि मिडल्सबरोस्थित मिडलहेभनको एउटा सुपरस्टोरमा कामका बेला भूतपूर्व गोर्खामाथि ढुंगा प्रहार भएको थियो । मेडस्टोनका पीडित परिवारले उक्त घटनालाई कोरोनासित गाँसिएको जातीय घृणा हुन सक्ने दाबी गरे पनि अनुसन्धान गरिरहेको केन्ट प्रहरीले जातीय आक्रमण हो वा होइन केही बताएको छैन ।

कोरोना भाइरसको महामारी सुरु भएयता सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको लिम्बूकी भतिजीलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेका छन् । बाहिर हिँड्न निस्कन लाग्दा ‘चाइनिज आफ्नो देश जा’, ‘चमेरा खान छोड’ जस्ता शब्द सुन्नुपरेको अनुभव पनि उनीसँग छ ।

मेडिस्टोनस्थित नेपालीमूलका काउन्सिलर दिनेश खड्का साढे १९ वर्षदेखि सोही क्षेत्रमा छन् । यसअघि जातीय आक्रमण आफूले कहिल्यै नभोगेको बताउँदै उनले केन्ट पुलिसले अनुसन्धानका क्रममा ५ जनालाई शंकास्पद रूपमा निगरानी गरिरहेको बताए ।

‘अहिले स्थानीय बासिन्दाले नेपालीको योगदान देखेर पीडितलाई ८ सय पाउन्ड उठाइसकेका छन्’, काउन्सिलर खड्काले भने, ‘हामी समग्रमा एकदम सौहार्दपूर्ण वातावरणमा बसेका छौं । केही उच्छृंखल व्यक्तिको क्रियाकलाप जोडेर हेर्नुहुँदैन तर यसले सजग हुन भने पाठ सिकाएको छ ।’

लन्डनस्थित नेपाली दूतावासले मेडस्टोन घटनापछि तुरुन्त ब्रिटिस सरकारलई जानकारी गराइएको बताएको छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बेलायत सरकारले घटनालाई गम्भीर रूपमा लिने बताएको आरनले जनाए । ‘कोभिड १९ नियन्त्रणपछि पनि जातीय आक्रमण हुन सक्ने अवस्था मध्यनजर गर्दै ब्रिटिस सरकारलाई अवगत गराएको हौं,’ आरनले थपे, ‘नेपालीभन्दा पनि चाइनिज मूलका देखिने व्यक्तिमाथि कोरोना भाइरसलाई जोडेर आक्रमण भएका देखिएको छ ।’

नेपालीहरु धेरै रहेको रसमोरमा जातीय आक्रमण नभएको ग्रेटर रसमोर नेप्लिज कम्युनिटीकी महासचिव प्रमिला लाबुंग राईले बताइन् । तर, काउन्सिलले लकडाउन नियम नमानेको, बीबीक्यू खाएको जस्ता गुनासा गरेपछि त्यो समाधान गरिएको राईले जनाइन् ।

कम्युनिटीले भूतपूर्व गोर्खा वृद्धवृद्धालाई औषधि, खाद्यान्न लगायत आवश्यक सामग्री नियमित सपिङ गरिदिने र सातै दिन योगा र मेडिटेसन गर्ने गरेको उनले सुनाइन् । यूके नेपाल फ्रेन्डसिप सोसाइटीले नेपालीमाथि गरिएका क्रियाकलापको निन्दा गर्दै मंगलबार केन्टका सरकारी अधिकारीहरुसँग यसबारे कुरा राख्ने जनाएको छ । गत वर्ष स्विन्डन, नर्थ विलसायरमा नेपालीमाथि जातीय आक्रमण हँुदा पनि सोसाइटीले कारबाहीका लागि पहल गरेको थियो ।

प्रकाशित : वैशाख ९, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?