कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दक्षिण कोरियाबाट ४ हजार परीक्षण किट पठाइयो

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियास्थित नेपालीहरूको आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघले चार हजार वटा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट नेपाल पठाएको छ ।

दक्षिण कोरियाबाट ४ हजार परीक्षण किट पठाइयो

कोरियन एयरबाट नेपाल पठाइएका किट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई बुझाइने संघले जनाएको छ । किटबाट तीन घण्टामा नै कोभिड–१९ को संक्रमण भए/नभएको यकिन हुन्छ । दक्षिण कोरियामा हाल ६ वटा ठूला कम्पनीले मात्रै विदेशमा कोभिड–१९ परीक्षण किट निर्यात गरिरहेका छन् ।

संघले बिहीबार सोलस्थित नेपाली दूतावासलाई किनिएका किटको विवरण बुझाएको थियो । ‘एक व्यक्ति एक किट’ भन्ने नारासहित दक्षिण कोरियामा रहेका नेपालीबीच मार्चमा सहयोग संकलन गरिएको थियो ।

कोरियामा रहेका ४ हजार ६ सयभन्दा बढी नेपालीले १४ करोड ८४ लाख ५८ हजार ७ सय ६९ वन (१ करोड ४० लाख रुपैयाँ) जम्मा गरेका थिए । दुई हजार कोरोना परीक्षण किट किन्ने भनेर सुरु गरिएको अभियानमा सहयोग धेरै जुटेपछि चार हजार किट किनिएको हो । बाँकी रकमले चीनबाट पीपीई दुई हजार सेट, एन–९५ माक्स १० हजार प्रति, सर्जिकल माक्स २० हजार वटा किनिएको छ ।

‘कोरोना परीक्षण किट नेपाल पठाउन विविध कारणले ढिल भए पनि हामीले अब नेपाल सरकारलाई बुझाएको छौं । दोस्रो चरणका रूपमा हामी चीनमा किनिएका सामान नेपाल पठाउँछौ,’ संघका अध्यक्ष यज्ञराज सुवेदीले भने । दक्षिण कोरियामा रहेका नेपाली देशलाई आवश्यक पर्दा एकजुट भएको पनि उनले बताए ।

कार्यवाहक राजदूत रामसिं थापाले दक्षिण कोरियामा रहेको नेपालीको एकताले राम्रो सन्देश दिने बताए । ‘दुई साताको अभियानमा यति धेरै नेपाली जुट्नु धेरै राम्रो हो । यी सामग्रीको उचित प्रयोग हुनेमा म ढुक्क छु,’ उनले भने ।

प्रकाशित : चैत्र २९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?