२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

न्यूयोर्कका नेपाली : त्राससँगै आशमा

दिनेशजंग शाह

न्युयोर्क — कोभिड १९ को नयाँ इपिसेन्टर भनिएको न्युयोर्क सहर अहिले सन्त्रासमा छ । न्युयोर्क राज्यमा संक्रमितहरुको संख्या १ लाख ३० हजार नाघेको छ । मृतकहरुको संख्या पाँच हजारको निकट पुगेको छ ।

न्यूयोर्कका नेपाली : त्राससँगै आशमा

आगामी केही साता संक्रमणको स्थिति झनै डरलाग्दो हुने सरकारी चेतावनी छ । सहर पूर्णरुपमा ठप्प त छैन तर सुनसान छ । यहाँ नेपाली आप्रबासीहरुको उल्लेख्य बसोबास छ । कोभिड १९ का कारण तीनजना नेपालीको न्युयोर्कमा मृत्यु भइसकेको महावाणिज्यदूतावासले बताएको छ । भाइरसको त्रासले नेपालीहरुलाई कसरी प्रभावित पार्दैछ ? दैनिकी कसरी चल्दैछ ? कोभिड १९ को सन्त्रासको पुष्ठभूमिमा केन्द्रित गरिएको संवादको अंश :


तारा कोइराला



ब्युटिसीयन मेरो पेशा हो । घर काठमाडौं, माईती घर झापा हो । १६ बर्षदेखि परिवारसँग अमेरिकामा छु । पहिलोपटक अमेरिकामा यो स्थितिले चिन्तित बनाएको छ । यस्तो भाइरसको कल्पना नै थिएन । हामी करिब तीन सातादेखि अपार्टमेन्टमा ‘क्वारेनटाइन’ को स्थितिमा छौं । के हुन्छ ? कसैलाई थाहा छैन । यो त्रासबाट मुक्ति पाउन हरेक बिहान पुजा गर्दै भजन गाउँछौं । भगवानले सबैको रक्षा गर्लान् भन्ने आशा छ । आवश्यक खाद्यान भए पनि दैनिक चाहिने तरकारी, सागसब्जी दुधको व्यबस्थापन गर्न गाह्रो भइरहेको छ । बाहिर कसरी जाने ? भाइरसको संक्रमणको चपेटामा परिन्छ कि भन्ने चिन्ता छ । दैनिकी रोकिएको छ ।


मनमोहन घिमिरे



गुल्मी पुर्खौली घर हो । नौं बर्षदेखि पारालिगल एवं शैक्षिक परामर्शको पेशामा कार्यरत छु । भाइरसले जिन्दगी ठप्प भएको छ । स्वास्थ्य र आर्थिक अवस्थामा गम्भीर त्रास छाएको छ । बाहिर जान सानोतिनो हिम्मत चाहिने बेला आएको छ । गइहाले पनि कसरी सुरक्षित हुने भन्ने चिन्ता छ । अत्यावश्यक सामान लिएर घर फर्केपछि, कतै भाइरस सँगै त आएन भनेर डर लाग्छ । भित्र पस्नुअघि समानलाई ‘वाईप’ गर्ने, आफूले लगाएको लुगा एवं जुत्ता धुने र नुहाउने कार्य अनिवार्य बनेको छ । यो सन्त्रासमा केही भइहाले, नाबालक बच्चाहरुको स्थिति सोच्दा पनि आँखा भरिन्छ । आम्दानी पनि ठप्प छ ।


बिष्णु राना मगर



मेरो घर नुवाकोट हो । उबर ड्राइभरको काम गर्छु । यहाँको स्थिति राम्रो नभए पनि मलाई ब्यक्तिगतरुपमा त्यस्तो डर त लागेको छैन । तैपनि बाहिर निस्कनु पर्छ । बासस्थानमा फर्कदा सधै एकखाले चिन्ता लाग्छ । घरमा बालबच्चा छन् । सासु र ससुरा अहिले घुम्न अमेरिका आएकोले यतै हुनुहुन्छ । ससुरा ७५ बर्षको हुनु भयो । उहाँमा विगतमा फोक्सोको समस्या थियो । अहिले ठीकै छ । तैपनि यो स्थितिमा चिन्ता लाग्छ । छोराछोरीचाहिँ घरमै रमाएका छन् । स्थिति चाँडै सुध्रिएला भन्ने आशा छ । सँधै त यसरी कसरी बस्ने ? कसरी धानिएला र ? नेपालतिर जान पाए पनि हुन्थ्यो तर कसरी जानु ?


कमला प्रसाई



म स्वास्थ्य विज्ञानको विद्यार्थी हुँ । माइती विराटनगर र घर काठमाडौं हो । धेरै चिन्ता र डरको स्थिति छ । केही निकट परिचित नेपालीहरुको निधन भएकोले झनै स्तब्ध छौं । हरेक बिहान समाचार आउँछ, ‘आज यति सयको निधन भयो । हजारौं संक्रमित भए । मर्नेहरुको संख्या हजारौं पुग्यो ।’ यस्तो हेर्दा, सुन्दा, कहाली लागेर आउँछ । मन अत्तालिन्छ । एक महिना भयो, छोरा र म घरबाट बाहिर ननिस्किएको । अत्यावश्यक सरसामान लिन श्रीमान कहिलेकाहीं बाहिर निस्कनु हुन्छ । हरेक दिन नेपालमा रहेका आफन्तहरुले फोन, फेसबुकमा मार्फत् सुरक्षित रहनु भनिरहेको अवस्था छ ।


पासाङ शेर्पा



मेरो जन्मथलो सोलुखुम्बु हो । परिवारसहित चौध बर्षदेखि अमेरिकामा छु । मेरो हेयर कटिङको व्यबसाय छ । यसअघि कहिलेकाहीं समुन्द्री आँधी र चर्को हिउपातले जीवन केही दिन अस्तब्यस्त हुन्थ्यो । तर, अहिले कल्पनै नगरेको स्थिति आयो । के गर्ने, कसो गर्ने भेउ नै छैन । भर्खरै म्यानहाटनमा रेन्टुरेन्टको ब्यबसाय सुरु गरेको थिए । स्थिति यस्तो भयावह भयो । एक महिना भयो, ब्यबसाय बन्द भएको । विज्ञानको उन्नति भव्य भईरहेको यो स्थितिमा कसैले यो भाइरसलाई निस्तेज गर्न नसकेको देख्दा, मन अत्तालिन्छ । हरेक दिन मृतकहरुको आँकडा उकालो लागेको देख्दा मनमा त्रास फैलिन्छ । परिस्थिति चाँडै सुध्रेला भन्ने आशमा छु । तर कहिले आउने हो त्यो अवस्था ? केही ठेगान छैन ।

प्रकाशित : चैत्र २५, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?