‘डर र शंकाबीच बेसमेन्टमा रात बित्यो’

कोरोनालाई जितेका न्युयोर्कका नेपालीको कथा  
दिनेशजंग शाह

न्युयोर्क — न्युयोर्कका रेन्टुरेन्ट व्यवसायी जंग (जीवन) बम, ५०, को दैनिकी, न्युयोर्क सहरको ‘रफ्तार’ सँगै दौडिरहेकै थियो । ग्राहकहरुको आथित्य, कामदार एवं आवश्यक सरसामानको व्यवस्थापन र किनमेलकै भागदौड । 

‘डर र शंकाबीच बेसमेन्टमा रात बित्यो’

यस्तै–यस्तैमा उनी व्यस्त थिए । सहरमा कोरोना भाइरस (कोभिड १९) को ‘सन्त्रास’ विस्तारै फैलिँदै थियो । मार्च १६ अर्थात् चैत ३ मा सम्भावित संक्रमणलाई मध्यनजर गर्दै न्युयोर्क सहरका मेयरको उर्दी आयो– ‘रातको आठ बजेपछि रेन्टुरेन्ट बन्द गर्नुस् ।’ त्यसदिन रेन्टुरेन्ट बन्द गर्दै उनी घर गए । सोफामा बसेर टेलिभिजन हेर्दै थिए, शरीर तातेको अनुभव गरे ।


मनमा चिसो पस्यो– कतै केही त भएन ! शरीर नापे । ९९ दशमलव ९९ ज्वरो देखियो । ज्वरो नरोकिएपछि, बमले स्वास्थ्य पेशामा कार्यरत श्रीमतीलाई सुनाए । श्रीमतीले सम्भावित परिस्थितीको आकलन गर्दै घरको बेसमेन्टमा उनको बस्ने व्‍यवस्थापन मिलाइन्, आइसोलेसनमा ।

कैलालीका बमले शनिबार कान्तिपुरसँगको टेलिफोन संवादमा भने, ‘रातभरि पनि ज्वरो घटेन । मनमा एकखाले डर उब्जियो ।’ तीन साताअघि, त्यतिबेला सहरमा मास्क लगाउने त्यति ‘ट्रेन्ड’ थिएन, किनमेलको क्रममा कहाँकहाँ पुगियो ? को–को भेटिए ? कतै कोभिड १९ को चपेटामा त परिएन ? शंका र डरबीच बमले बेसमेन्टमा त्यो रात बिताए ।


भोलिपल्ट बिहान, नजिकैको एउटा मेडिकल केयरमा पुगे । नाकमा पाइप हालेर परक्षण गरियो । ज्वरो रोक्ने औषधि लिएर उनी फर्किए ।


एक, दुई दिन हेरौं न त भन्ने लाग्यो । तर, ज्वरोले रोकिने नामै लिएन । बरु, सुख्खा खोकी सुरु भयो । शरीर पनि दुख्न थाल्यो । ‘ज्वरो बढदै गएपछि, शरीर यसरी दुख्ने कि मानौं कसैले पिट्दैछ ।’ आफ्नो लक्षणबारे उनले थपे, ‘श्वासप्रवासको गति बढ्यो ।’ जिब्रोले स्वादको चाल नै पाउन छोड्यो । खाना पटक्कै नरुच्ने । खानातिर हेर्नसमेत मन नलाग्ने । अब यसरी बसेर भएन भन्ने लाग्यो ।


दुई दिनपछि अर्को मेडिकल सेन्टरमा परीक्षण भयो । नाकमा पाइप हालियो । एक्सरे भयो । निमोनिया पनि देखिएन । परीक्षणको रिपोर्ट आउन तीन, चार दिन लाग्ने भनियो ।


परीक्षण नेगेटिभ आयो । कोरोनाको संक्रमण देखिएन । तर, बमको स्थिति झनै प्रतिकुल बन्दै गयो । शरीरको दुखाइ सहनै गाह्रो । श्वासप्रश्वासमा कठिनाइ हुनथाल्यो । परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि उनको मनले मानेन । मनको शंका झन् बढ्न थाल्यो, ‘कोभिड १९ ले समात्यो कि क्या हो !’ अन्ततः ज्वरो आउन थालेको नौं दिनपछि, बम, ओसन साइडमा रहेको माउण्ट साइनाई हस्पिटलमा पुगे ।


हस्पिटलमा त्यति भीडभाड त थिएन तर बेड खाली नभएकोले केही बेर पर्खिए उनले । ज्वरो र शरीर दुखाइ सहनै नसक्ने अवस्थामा थियो । बेड पाएपछि स्लाइन चढाइयो । प्रेसर नापियो । परीक्षण थालियो । नाकमा पाइप हाल्नेदेखि करीब १० सीसीमा रगत संकलन भयो । भोलिपल्ट तिजा आयो । कोभिड १९ को संक्रमण पुष्टि भयो । निमोनियासमेत सुरु भइसकेको रहेछ ।


औषधि र भिटामिन दिन थालियो । ‘विशेषत: भिटामिन सी र डीसँगै मल्टी भिटामिन, यस्तो बेला महत्वपूर्ण खुराक हुँदोरहेछ,’ उपचारको क्रममा चिकित्सकहरुले एन्टिबायोटिकसहित धेरैखाले औषधि दिएको स्मरण गर्दै बमले भने ‘मुख्यतया, मलेरिया नियन्त्रणमा प्रयोग हुने औषधि (हाइडोओक्सक्लोरोक्विन) प्रयोग गर्दा रहेछन ।’

अस्पताल बसाइको दोस्रो दिन बिस्तारै ज्वरोमा नियन्त्रण आयो । स्वाँस्वाँ र खोकीमा सुधार आयो । खान रुच्न थाल्यो । ६ दिनको बसाइपछि स्थितिमा सुधार आएपछि बमको पुनः परीक्षण गरियो । परीक्षण नेगेटिभ आयो ।


गत मंगलबार उनी डिस्चार्ज भए । दुई दशकदेखि अमेरिकामा बस्दै आएका बम, अहिले घरमा आराम गर्दै छन् । बमले भने ‘बेलैमा उपचार भए, कोभिड-१९ निको हुँदो रहेछ । साथै संकटमा आत्मविश्वास बलियो पार्नु पर्दोरहेछ । आत्तिनु हुँदैन ।’ चिकित्सकले उनलाई अहिले कुनै औषधि दिएका छैनन् । भिटामिन सी र डी सेवन गर्ने, अतिरिक्त घर भित्रै हल्का हिँडने, योग गर्ने उनको दैनिकी छ ।

प्रकाशित : चैत्र २३, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?