युरोपमा लकडाउन: ढुक्क तर सतर्क नेपाली  

ददि सापकोटा

फ्रान्स — चीनबाट सुरु भएको कोरोना संक्रमण यतिखेर युरोपकेन्द्रित बनेको छ । युरोपका फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, स्पेन, इटाली र पोर्चुगलसहितका मुलुकमा बसेका प्रतिनिधि नेपालीसँग कोरोना संक्रमणका उब्जिएको सन्त्रास र यथास्थितिका बारे फ्रान्सको पेरिसस्थित कान्तिपुर प्रतिनिधि ददी सापकोटाले गरेको कुराकानी आधारित समाचार सामग्री-

युरोपमा लकडाउन: ढुक्क तर सतर्क नेपाली  

विस्तारै बढ्दै छ, असर देखिन अझै बाँकी छ

अमर भण्डारी, पेरिस

मेरो मूल घर चितवन हो । पेरिसमा म ट्याक्सी ब्यवसाय गर्छु । म एनआरएनए फ्रान्सको वरिष्ठ उपाध्यक्ष पनि हुँ । कोरोना भाइरसको संक्रमणका घटना सुरू हुँदा केही समय ट्याक्सी चलाएँ । तर पछि त पेसेन्जर कस्ता कस्ता पर्दा हुन्, रोग पो सार्छन् कि भन्ने डर लागेर छाडेँ । अहिले ट्याक्सी थन्क्याएर गरेर घरमै बसेको छु । बाहिर उति निस्किन्न । उबर ट्याक्सीको ब्यवसाय गर्नेलाई अहिले फ्रान्स सरकारले गज्जबको नियम बनाइदिएको छ । ट्याक्सी चलाएपनि कुनै ग्राहकलाई लिन जाँदा यदि आफूलाई त्यो ग्राहकको स्वास्थ्यप्रति शंका लाग्यो भने 'म तपाईलाइ लान्न' भनेर अस्वीकार गर्न पाइन्छ । यो सुविधा यही कोरोना भाइरसको संक्रमणकाल अवधिका लागि मात्रै ब्यवस्था गरेको हो । पहिले यसरी अस्वीकार गर्न पाइन्नथ्यो ।


उबर र ट्याक्सी चलाउनेहरुले अगाडि सिटमा यात्रु राख्न पाउँदैनन् । कन्ट्रोल परेको बेला ग्राहकले ट्याक्सी बुक गरेको प्रमाण देखाउन सक्नुपर्छ । जसले यो बेला ट्याक्सी नै चलाएको छैन, उसलाई सरकारले मासिक एक हजार पाँच सय युरो दिने भनेको छ । जसले अरुको ट्याक्सी भाडामा लिएका छन्, र थन्क्याएर बसेका छन् तिनले भाडा तिर्न नपर्ने सुविधा दिएको छ ।


लगभग एक महिनादेखि म घरमै छु । एनआरएनए फ्रान्सको उपाध्यक्ष र राहत वितरण समितिको संयोजक पनि भएका नाताले राहत वितरणमा पनि लागेको छु । फ्रान्समा राहतको समस्या भएका २६ जना नेपालीलाई चामल, दाल, नुन, चिनी र तेल वितरण गरियो । अझै २० जनाले नाम लेखाएका छन् । तिनलाई पनि वितरण गर्नु छ । त्यसबाहेक म प्राय घरमै बस्छु । नेपालका समाचार हेर्छु । किताब पढ्छु । परिवारसित बस्न समय मिलेको छ । हामी एउटै घरमा दुई नेपाली परिवार बस्छौं । अर्को परिवारसित मिलेर म गाडीको पार्किङमा गएर फ्रान्सेली खेल पेताङ्क खेल्छु । कहिले जुटपत्ती खेलिन्छ त कहिले पोकर खेलिन्छ ।


नेपालीहरु हामी आलोपालो गरेर खाना अदलीबदली गर्दै पकाउँछौं । कहिले भेला भएर कफी खान्छौं, गफ गर्छौं । नेपालका आफ्ना इष्टमित्रसित गफ गरिन्छ । हिजोआज कस्तो छलफल भइरहेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका नेपालीको चासो किन राख्नुभयो होला ? युरोप, अमेरिकामा त राष्ट्रपति, मन्त्रि, नेताका आफन्त, परिवार छन् । त्यसैले आफ्ना मान्छेको चासो राख्नुभयो होला । नेपालमा त्यो महाकाली नदीको किनारमा भारतबाट ज्यालादारी गरेर आउनेमा त आफ्ना मान्छे थिएनन् । त्यसैले तिनका बारेमा चासो राख्नुभएन की । वुहानमा पनि नेपाल सरकारका उच्चपदस्थका छोराछोरी भएर पो प्लेन पठाएर नेपाल ल्याएको हो की । गरिबका छोराछोरी भए ल्याउँथे की ल्याउँदैनथे होलान् ?


फ्रान्समा जसले वैधानिकतापूर्वक दर्ता गरेर काम गरेको छ, उसले काम नहुँदाका अवस्थामा सरकारी भत्ता पाउँछ । खान बस्नैका लागि त समस्या नहोला । नियम थाहा नपाएर दुःख पाउने नेपाली पनि यहाँ नभएका होइनन् । विद्यार्थीहरुले आठै घण्टा वैधानिक तरिकाले काम गर्न नपाउने हुनाले कम घण्टा काम गरेको देखाएर बढी गरे होलान् । तिनले जति दर्ता गरेको हो, त्यही हिसाबले थोरै पाउँछन् । अवैधानिक तरिकाले काम गर्नेले त केही पनि पाउँदैनन् । अवैधानिक तरिकाले काम गर्ने, आफूलाई एक-डेढ सय मासिक खर्च राखेर बाँकी सबै नेपाल पठाउने गरेकालाई यो संकटका बेला गाह्रो पर्न सक्छ । यो कोरोनाको समस्या कति समयसम्म रहन्छ, त्यसले पनि कस्तो समस्या पर्ला भन्ने थाहा हुने हो । अहिले नै त ठूलो समस्या परिसकेको छैन ।


अरूभन्दा हामी नेपाली नै सतर्क

दीपक देवकोटा / ह्यामवर्ग,जर्मनी


नेपालमा मेरो घर गोरखा हो । म दाइसित ह्यामवर्ग सहरमा बस्छु । जर्मनीभरिमा २५ हजार र हेम्बर्गमा दुई हजार नेपाली भएको अनुमान छ । जर्मनी आएको साढे तीन वर्ष भयो । सुपरमार्केटमा फूलटाइम काम छ । कोरोना भाइरस फैलिएपछि कामको अवधि घटाइएको छ, त्यसैले अहिले ५० प्रतिशत मात्रै गर्छु । त्यति काम गर्दा पहिले पाउने पूरा तलबको ८० प्रतिशतमात्रै भत्ता आउँछ । मैले जापानीज खाना सुशीको काम गर्छु । ग्राहक घटेकाले यहाँको सुपरमार्केटमा कामदारलाई आधा काम लगाइएको छ ।


काममा एकदम तनाव हुन्छ । अनेक खालका ग्राहक आउँछन् । पैसा तिर्न भन्दै नजिकै आउँछन् । कोही नजिकै आएर 'यो यो सामान दे' भन्छन् । प्याकेट झिकेर दिनुपर्‍यो । न उनीहरुले मास्क लगाउँछन्, खाना समात्ने भएकोले न आफूले लगाइन्छ ।


सुपरमार्केटमा ग्राहक घटेपनि आइरहन्छन् । फाट्टफुट्टले मात्रै मास्क लगाउँछन् । मास्क खोज्दा पनि सजिलै पाइन्न । एक जना बहिनी अस्पतालमा काम गर्ने भएकोले उनले हुलाकबाट पठाइदिएर मैले बल्ल बल्ल एउटा मास्क पाएको छु । मैले काम गर्ने सुपरमार्केटमा सहकर्मी कसैले पनि मास्क लागाउँदैनन् । मेडिकल गयो मास्क छैन भन्छ । यता पनि हस्पिटलबाटै मास्क चोरियो भन्छन् । सेनिटाइजर केही छैन । सतर्कता गर्नुपर्छ भनेर केही बताएको छैन । मान्छे आको आइ गर्छन् । कता छोइने हो र कोरोना सारिदिने हुन् भन्ने त्रास छ । रेलमा दुई जना मात्रै सँगै बस्न पाइन्छ भनिन्छ । रेलमा गयो खचाखच हुन्छ । तर्केर बस्यो, अर्को आएर छेउमै बसिदिन्छ । मतलबै छैन । सामाजिक सञ्जाल र समाचारमा हेर्‍यो जर्मनीमा कडा छ, सुरक्षा प्रबन्ध छ भन्छन् । तर म यहाँ त्यस्तो केही देख्दिन । रेलको ढोकामा बसेर म्युजिक बजाएर मान्छे नाचेको देखिन्छ ।


अहिले म हप्तामा चार दिन खाली भएँ । अलि अलि लेख्न मन लाग्छ । ल्याएका किताब छन्, तिनै पढ्ने गर्छु । जंगल डुल्छु । घर वरिपरि हिँड्यो । कोठामा बस्दा बस्दा अत्यास लाग्छ । अहिले चारतिर फोन नचाउँदैमा दिन बित्छ । सम्पर्क गज्जब छ । कहिल्यै नसम्झिनेको पनि फोन आउँछ ।


जर्मनीमा भर्खर सुरु भएको हो यो कोरोनाको प्रभाव । त्यसैले यसले कस्तो रुप लेला, कति र कसलाई क्षति गर्ला अझै हेर्नै बाँकी छ । अहिले नै पार्ट-टाइम काम गर्नेहरुको रोजगारी गएको छ । विद्यार्थीहरुलाई गाह्रो पर्न सक्छ यो समस्या लामो समयसम्म लम्बियो भने । धेरै विद्यार्थी काम गर्दै पढ्छन् । अहिलेलाई त बस्नलाई खासै समस्या देखिएको छैन । तर लामो समयसम्म गयो भने काम नपाएर खासगरि विद्यार्थीहरुलाई गाह्रो पर्नसक्छ ।


अहिले पनि खाना डेलिभरी राम्रो चल्छ जर्मनीमा । रेस्टुरेन्टको खाना यस्तो बेला पनि मगाएर खाने रहेछन् । डेलिभरी गर्न छुट छ । केही समय खाना डेलिभरी गर्न बन्द गरेका नेपालीले पनि थालेका छन् । अझै त जर्मनहरुलाई डर नै भए जस्तो देखिँदैन । हामी नेपाली बढी सतर्क छौं जस्तो लाग्यो ।


नेपालीलाई कोरोना भाइरस लागेको, आइसोलेसनमा बसेको भन्ने हल्ला चल्छ । तर गोप्य राख्छन् । कोही निको भए अरे भन्ने सुनिन्छ । तर केहि पर्‍यो भने यहाँको एनआरएनए र दूतावासले पनि सहयोग गर्छ भनेका छन् । सुरुवातकालमै भएर होला जर्मनीमा अरु देशमा जस्तो कडा गरिसकेको पनि छैन । त्यसैले नेपालीले दुःख पाए भन्ने सुनिएको पनि छैन ।


एकअर्कालाई सहयोग गर्ने बेला

सरला सापकोटा / बार्सिलोना, स्पेन


म नर्स हो । बार्सिलोनामा काम गर्छु । यता बसेको १४ वर्ष भयो । विहान काममै जान्छु । विरामीको उपचार गर्छु । अरु सामाजिक गतिविधिमा पनि सरिक हुन्छु ।

पहिले पार्कतिर गइन्थ्यो । अहिले कोरोना भाइरसको आतंक पछि गइन्न । बच्चाहरुलाई बाहिर निकालेकै छैनौं । सपिङ जाँदा घरमा कोही नभए बच्चालाई पनि सँगै लान मिल्छ । हामीले नेपाली पाठशाला चलाउँछौं । नेपाली बच्चालाई नेपाली भाषा, संस्कृति, साहित्य, कला सिकाउन खोलिएको हो नेपाली पाठशाला । अहिले त्यो पनि बन्द छ ।


बार्सिलोनाकै एउटा संस्थामा म विहान काममा जान्छु । काम गर्ने ठाउँमा जाँदा मलाई डर लाग्दैन । किनभने मेरो पेसा नै उपचार गर्ने हो । घरमा उपचार गर्न जान्छु । यो मनोविज्ञानसित सम्बन्धित कुरा पनि हो । कमजोर भो भने रोग प्रतिरक्षात्मक क्षमता ह्रास हुन्छ । त्यो ह्रास भयो भने रोगले आक्रमण गर्छ ।


म हत्तपत्त डराउँदिन पनि । यो कोरोना भाइरस आउनु अघि पनि मान्छे मर्थे । दुर्घटना भएर पनि मर्छन् । तर पछिल्लो समयमा कति मान्छे मर्थे हेर्नुपर्छ । कोरोना भाइरसले मात्रै त मरेका होइनन् होला । अर्को कुरा के पनि छ भने हामीले जति सतर्कता अपनाए पनि सधैं हिँड्नेलाई पनि नहुन सक्छ । एक दिन फुत्त सुपरमार्केटतिर निस्किनेलाई पनि हुन सक्छ ।


स्पेनमा खाना सुरक्षित छ । फार्मेसी पनि छन् । यातायात छ । ठूलै समस्या परेमा पुलिसलाई खबर गरेरै पनि हिँड्न सकिन्छ । खाद्यान्नका पसलहरु खुलेकै छन् । खाना घरैमा बसेर पकाएर खान सकिन्छ । खाना स्वस्थ नै हुन्छ, जाँचेर आएको हुन्छ । त्यसैले हामी यहाँ निकै सुरक्षित छौं भन्ने मलाइ लाग्छ । हामीले यहाँबाट हाम्रो होइन नेपालको चिन्ता लिनुपर्छ जस्तो लाग्छ । नेपालमा सबै आइसोलेसनमा बस्न नसक्लान् । यता त अस्पतालबाट निकालेर पनि नेपालीलाई होटेलमा लगेर राखिदिएको छ । हामी यस्तो सुविधामा छौं । त्यसैले यताका नेपालीको चिन्ता लिनुपर्दैन ।


यसलाई विश्वले कसरी नियन्त्रण गर्छ भन्ने पनि हेर्न बाँकी छ । सबै जना जिम्मेवार र गम्भीर हुनुपर्‍यो । नागरिक र सरकार पनि जिम्मेवार हुनुपर्‍यो ।


यो बेला नेपालतिरका न्युज हेर्छु । उठाएका पैसा सहयोग जो पठाउँछन् । भ्रष्टाचार भएको आरोप लागेको हुन्छ । एउटै कुरा फरक फरक तरिकाले लेख्छन् । एक अर्कालाई आरोप लगाउँछन् । को ठीक को बेठीक थाहा पाउनै गाह्रो । यो बेला सबैले एक अर्कालाई सहयोग गर्ने हो । सहयोग सही किसिमले प्रयोग भए हुन्थ्यो भन्ने लाग्छ ।


यो बेला अलिकति समय चाहिँ पाएको छु । बच्चाहरुसित बस्न पाइएको छ । किनकि म काममा गएपनि फर्किँदा बच्चा घरैमा हुन्छन् । परिवार घरैमा हुन्छन् ।


मैले चाहिँ भाइरल रुघाखोकी लाग्दा औषधि खान्न । आराम गर्ने, तातोपानी पिउने, तातोमा बस्ने गरे निको हुन्छ । मेरो श्रीमान कलाकार हुनुहुन्छ । उहाँले बालबच्चालाई नाच्न-गाउन सिकाउनुहुन्छ । म पनि बच्चासित बस्छु । गृहकार्य गर्न लगाउँछु, पढाउँछु ।


एनआरएनए स्पेनले पनि आपतविपतमा सहयोग गर्ने भनेर समिति बनाएको छ । प्याकेज बनाएका छन् । सहयोग लिन आउने नेपालीहरु पनि छन् । तिनले सहयोग पाएका पनि छन् । यो बेला कसैले गरेन भनेर आरोप लगाउनुभन्दा पनि सबैले गर्नुपर्ने बेला हो । संघसंस्थाले सकेको गर्ने हो । काम गरेर बाँकी रहेको समयमा सामाजिक सेवा गर्ने हो । त्यो यहाँका नेपालीले गरेका पनि छन् । कम्तिमा प्रयास गरेकै देख्छु ।


संकटमा परिवारका साथ होम क्वारेन्टाइनमा

कृष्ण सुबेदी / मिलान, इटाली


मेरो स्थायी घर चितवनको सौराहा हो । अहिले सपरिवार इटालीको मिलान सहरमा बस्छु । यहाँको एउटा रेस्टुरेन्टको सेफ हुँ म । कोरोना भाइरसको संक्रमण बढेपछि अहिले तीन हप्ता भयो क्वारेन्टाइनमा बसेको ।

यो समयमा सरकारको आदेशअनुसार घरभित्रै बसिएको छ । हामी घर बसिदिने भनेकै इटाली सरकारलाई सहयोग गर्ने हो । किनभने सरकारले चाहेकै यही हो । यो बेला साथीभाइसित फोन सम्पर्क गर्ने, बालबच्चासित खेल्ने, तिनलाई खेलाउने गरिएको छ । खाना बनाउने र परिवारलाई सहयोग गर्ने, सबै परिवार एकैसाथ बसेर गफगाफ गर्ने, खानपिनमा रमाउने पनि चलेको छ । संसारभरिका साथीभाईसित इन्टरनेटमार्फत हाइ-हेल्लो गर्ने र नेपालमा परिवारसित कुरा गर्ने गरेर समय बितेको छ ।

इटालीमा करिब १७ सय जति नेपाली छौं । यिनमा केही जागिर गर्ने पनि छन् । थुप्रै नेपालीहरुले खेतीमा काम गर्छन् । खेतीमा काम गर्नेहरु यो बेला ब्यस्त छन् । सबै आफ्ना घरमै बसेर पनि हुन्न । अस्पत्तालमा काम गर्नेलाई पनि त खाना खुवाउनुपर्‍यो । धेरै चाहिँ घरमै लकडाउनमै छौं । म एनआरएनए इटालीको कार्यकारी समितिमा पनि छु । एनआरएनए इटालीले नेपालीलाई गाह्रोसाह्रो पर्दा के कसरी सहयोग गर्न सकिन्छ भनेर जेनेभास्थित नेपाली दूतावाससित समन्वय गरिराखेको छ ।

दुःख पाएका, आपतमा परेका नेपालीलाई सहयोग गर्न भनेर एनआरएनए इटालीले एउटा आपतकालीन कोष पनि बनाएको छ । हामी आपतविपतमा परेका नेपालीलाई सहयोग गर्नुपर्ने हुनसक्छ भनेर तयार भएर बसेका छौं । तर अहिलेसम्म एक जना पनि सहयोग माग्न आएका छैनन् । त्यसको अर्थ कुनै पनि नेपाली समस्यामा नपरेर होला । समग्रमा यहाँ नेपालीलाई खासै समस्या परेको पनि देखिएको छैन । समस्या परेको भए थाहा हुन्थ्यो । किनभने इटालीका अन्य सहरमा पनि हामीले आफ्ना साथीहरूलाई परिचालित गरेका छौं । संयोजक तोकेका छौं ।

यहाँ औषधी पसल, सुपरमार्केट र खाद्यान्नका पसल खुला छन् । रेस्टुरेन्टले टेक-अवे गर्न पाउँछन् । बाँकी सबै बन्द छन् । सामान्य रोग लागे फार्मेसीले औषधी दिन्छ । अलि गाह्रो अवस्था भयो भने डाक्टरलाई फोन गर्ने ब्यवस्था हुन्छ । डाक्टरले सिफारिस गरेअनुसार औषधी किन्न पाइन्छ । त्यो औषधीले भएन र गम्भीर अवस्था हो भने चिकित्सकहरु विरामी लिन घरमै आउँछन् । चिकित्सकहरुले यहाँ आफ्नो ज्यानको बाजी लगाएर चौबिसै घण्टा सेवा दिएका छन् ।

इटालीमा जो वैधानिक तरिकाले बसेका छन् तिनले तलबको ८० प्रतिशत भत्ता पाउँछन् । अहिले काम नभएपनि सरकारले भत्ता दिने भएपछि बस्न-खान कुनै समस्या नै हुन्न । यहाँको सरकारले जतिसुकै अप्ठेरोमा परे पनि नागरिकलाई उपचार नपाएर मर्न दिँदैन । आफ्नो दायित्वबाट पन्छिदैन । त्यसैले नागरिकले पनि सरकारलाई विश्वास गर्छन्, भनेको मान्छन् ।

गीत लेख्छु, गाउँछु, बिन्दास तरिकाले दिन बिताउँछु

दीपक खतिवडा / पोर्तो, पोर्चुगल

मेरो स्थायी घर इटहरी हो । म पोर्चुगलको पोर्तो सहरमा रहेको ठमेल भन्ने नेपाली रेस्टुरेन्टमा काम गर्छु । मे २००९ मा युरोप आएँ । केही वर्ष स्वीटजरल्याण्ड बसेर यता आएको हुँ ।


अहिले म पनि क्वारेन्टाइनमै छु । यता थोरै होटेलहरु खुलेका छन् । खाना टेक-अवे गर्ने रेस्टुरेन्ट, सपिङ सेन्टर र औषधी पसल, खानेकुरा बेच्ने पसलहरु खुला छन् । बाँकी बन्द छन् । कोरोनाको संक्रमणबाट जोगिन सरकारले सबैलाई 'घरै बस' भन्दिएको छ । पोर्चुगिजहरु अचम्मका मान्छे रहेछन् । सरकारले यसो नगर भनेपछि ठ्याक्कै मान्ने । सरकारले बाहिर ननिस्क, घर बस भनेपछि घर घरमै बसेका छन् ।


खाद्यान्नका पसलहरु पनि केही दिनदेखि सरकारले बेलुका ७ बजेबाट बन्द गर्न भनेपछि बन्द हुन थालेका छन् । अध्यागमन हेर्ने निकायले एसइएफ पनि बन्द भयो । इमिग्रेसन बन्द भयो । पेपर नहुनेहरुको काम रोकिएको छ । यहाँको सरकार कति जिम्मेवार रैछ भने पेपरका लागि डकुमेन्ट बुझाउने जति सबैलाई उपचार गर्ने भन्ने निर्णय गरेको छ । संकटकालको अवधिमा विदेशबाट आएका आप्रवासीले पनि सुविधा पाउन भनेर कार्ड नहुने, काम नहुनेले पनि बेतलवी भत्ता पाउने भएका छन् । त्यसैले यता कोही मर्ने अवस्था छैन । सरकारी नियमअनुसार घोषणा गरेर बेतलवी भत्ता दिने भएको छ ।

जसले फूलटाइम काम गर्ने गरेको थियो, उसलाई ३३ प्रतिशत तलब साहुले ब्यहोर्ने र बाँकी सरकारले ब्यहोर्ने भन्ने निर्णय गरेको छ । हामी ढुक्कले बसेका छौं ।

यस्सो गितार बजाउँछु, गीत गाउँछु । नयाँ गीत लेखेर संगीत भर्छु । किताब पढ्ने र न्युज लेख्ने पनि गर्छु । गीत गाउने-लेख्ने सोखिन मान्छे हुँ । एक्लै भए पनि म त गाएर बजाएरै बिन्दास तरिकाले दिन बिताउन सक्छु ।


रेस्टुरेन्टमा काम गर्दा ब्यस्त भइन्छ । म पोर्तोमा बस्छु । यो एकदमै शान्त, पर्यटकीय ठाउँ हो । । पोर्तो भन्ने विश्वभरि चल्ने गुलियो रक्सी यही ठाउँमा बन्छ । यहाँ धेरै वाइन बन्छ । नेपालीहरु कमै छन् यहाँ ।


यहाँ नेपालका अवैतनिक वाणिज्यदूत छन् । केही परेमा यहीमार्फत जाने हो । यहाँ केहि पर्‍यो भने प्रक्रियाअन्तर्गत जानुपर्छ । अप्ठेरो अवस्थाका लागि पनि भिसाका लागि उपाय खुलै राखेका छन् । यहाँ नारा जुलुस र धर्ना गर्ने सम्भावना छैन । कागजी प्रक्रियाको अप्ठेरामा परेका नेपालीलाई पुराना नेपालीले सहयोग गरेर राखेका छन् । दुःखमा परेका बेला नेपालीले सहयोग गर्ने हो । पोर्चुगिज सरकारले राहत बाँड्ने भन्ने निर्णय पनि गरिसकेको छैन । एनआरएनए पोर्चुगलले राहत दिने भनेर सूचना निकालेका छन् । कुनै उपाय नहुने नेपालीहरु एनआरएनबाट पनि सहयोग लिन सक्छन् ।


सरकारको तयारी देख्दा ढुक्क लाग्छ

विक्रम केसी / जेनेभा, स्वीटजरल्याण्ड

मेरो घर नुवाकोटको विदुरमा हो । यहीँ आएर पढेको हुँ । अहिले यहीँको रेस्टुरेन्टमा काम गर्छु । कोरोना भाइरसको संक्रमणले गर्दा अहिले सबै बन्द भयो । म पनि घरैमा छु । सरकारले भोकै नमरुन् भनेर सरकारी नियमअनुसार दर्ता भएर काम गरेकालाई ८० प्रतिशत भत्ता दिने भनेको छ ।

धेरैजसो समय म किताब पढ्ने, फिल्म हेर्ने, यस्सो घाम ताप्ने गरेर बिताउँछु । घरकै छेउमा सानो पार्क छ त्यहाँ जान्छु । यो बेला फुर्सदिलो समय भएकोले मिठो मिठो बनाएर खान्छु । नेपालबाट केही किताब ल्याएको थिएँ । यो बेला बल्ल पढ्दै छु । इन्टरनेटमा नेपालको समाचार हेरेर जान्छ केही समय ।

यता त भत्ता आउँछ । त्यतिले पुग्छ । तर नेपालको समाचारमा धेरै समस्या देखिन्छ अनि चिन्ता लाग्छ । यहाँ हजारौंलाई कोरोना लागिसक्यो, तर पनि त्यस्तो हाहाकार भएझैं लाग्दैन । चिन्ता पनि लाग्दैन । किनभने यहाँ कोरोना भाइरस लागे पनि बचिन्छ भन्ने थाहा छ । हजारौंलाई लाग्दा पनि यता तयारी राम्रो छ । मान्छेहरु आफूलाई चाहिने चिज लिन बाहिर गएकै छन् । नेपालमा ६ जनामा देखियो भन्नासाथ लौ बर्बादै भयो जस्तै गरेर मान्छे आत्तिएको देखिन्छ । यो सबै तयारी नभएर र नबुझेर त हो नी !

यता हामीलाई 'यो विकसित देश हो । यत्तिकै मर्न दिन्न सरकारले' भन्ने लाग्छ । नेपालमा परिवार छन् । आफ्नो देश हो । चिन्ता लागिरहन्छ । यता फेरि केही गाह्रोसाह्रो पर्‍यो भने खबर गर्नु भनेकै छ हाम्रो दूतावासले । तर यहाँ बस्ने नेपालीलाई अहिलेसम्म त्यस्तो समस्या परेको सुनिएको पनि छैन । खान बस्न समस्या खासै छैन यहाँका नेपालीलाई ।

यहाँ केही परे सरकारले उपचार गर्छ । अलिकति शंका लागेमा फोन गर्‍यो भने डाक्टरले सुझाव दिन्छन् । ज्वरो आयो, सास फेर्नै गाह्रो भो, उमेर पनि अलि बढी छ भने बल्ल उपचारका लागि बोलाउँछ । नेपालमा जो पनि अस्पताल जाने र जँचाएन भनेर अस्पतालका डाक्टरसित रुष्ट भएको खबर देखिन्छ । त्यो देख्दा हामीलाई अचम्म लाग्छ । सामान्य अवस्थामै सबै जना अस्पत्ताल गए भने कसरी सम्भव हुन्छ र ? यताको विकसित देशमा पनि त त्यो सम्भव छैन नी ! उनीहरुले सामान्य अवस्थाका मानिसलाई घरमै बस, आराम गर, सामान्य अवस्थाकालाई हेर्न सकिन्न भन्छन् ।

यहाँ पनि तीन-चार जना नेपालीलाई कोरोना भाइरस लागेको थियो । ती सबै निको भइसके । जे होस नेपालमा ठूलो क्षति नहोस भन्ने कामना गरेर बस्छौं हामी । यता त खासै चिन्ता गर्नुपर्ने पनि छैन । चिन्ता उतैको हो गर्नुपर्ने ।

प्रकाशित : चैत्र २२, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?