१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

नविन पोखरेल

लन्डन — बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल भित्रिन रोक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि चिकित्सक र विद्यार्थी अलपत्र परेका हुन् ।

दर्जनौं नेपाली चिकित्सक चिकित्सा परीक्षाका लागि बेलायत आएका बेला यतै फसेका छन् । विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या हुँदा विचल्लीमा परेका छन् ।

धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक डा. अमिर अवालले नेपाल सरकारसमक्ष आफूहरूलाई फर्काउनका लागि पहल गरिदिन अनुरोध गरेका छन् । हामी मेडिकल जाँचका लागि बेलायत आएका हौं । कोरोना भाइरसबाट सिर्जित महामारीका कारण जाँच सरेपछि टिकट परिवर्तन गरी हतारहतार नेपाल जान मार्च १९ का दिन विमानस्थल पुग्यौं । तर हाम्रो टिकट किनेको इत्तिहाद एयरलाइन्सले नेपाल र इण्डोनेसियाको यात्रु नलैजाने भनेर त्यहिदिन निर्णय गरेको रहेछ,’ अवालले कान्तिपुरसँग भने, ‘उनीहरूले लैजान नसक्ने भनेपछि हामीले कतार एयर र इयर इन्डियाबाट पनि कोसिस गरयौं तर दुवैमा असफल भयौं । त्यसपछि फर्केर पहिले बसेकै ठाउँमा आयौं । त्यहाँ घरबेटीले तिमीहरू गइसकेको मानिसलाई भित्र पस्न दिन्न भने । हामीले धेरै बिन्ती गरेपछि बाहिर हातखुट्टा धुन लगाएर भान्सामा नजाने, केही पनि पकाएर खान नपाउने, त्यस घरमा बस्ने अरुसित घुलमिल नगर्ने शर्तमा बस्न दियो ।' उनले थपे, 'दुई-तीन दिनसम्म केही नपकाइ तयारी खानेकुरा खाँदै बस्यौं । कति बस्नुपर्ने हो भन्नेमा अनिश्चित थियौं । त्यसैले घरबेटीलाई भाडामा सहुलियत गरिदिन अनुरोध गर्दा उनले पैसा छैन भने निस्केर जाउ भने । अहिले हामी त्यहाँबाट निस्केर नेपाली मूलका मानिसहरूको घरमा आश्रय लिइरहेका छौं ।’

आफ्नो समूहमा ६ जना रहेको उनले जानकारी दिए । केही समयका लागि भनेर ल्याएको खर्च पनि सकिन लागेको उनले बताए । बिरामी परेमा कस्तो अवस्था भोग्नुपर्ने हो भन्ने चिन्ताले थप पिरोलेको उनले बताए ।

अवालले लण्डनका दुई कोचिङ सेन्टर र म्यानचेस्टरमा एक गरी धेरै नै चिकित्सक बेलायतमा अलपत्र परेको बताए । ‘१६ जना त हामी एकापसमा सम्पर्कमा छौं । कोरोनाका कारण नेपालमा चिकित्सकको अभाव कति होला र भविष्यमा कति पर्न सक्ला ?,’ उनले भने, ‘तर हामी भने यहाँ रोकिएर बसेका छौं । हामी सबै नेपाल फर्कन चाहन्छौं ।’

उता, जागिर नहुँदा आर्थिक अभाव र कोभिड १९ संक्रमण फैलनेक्रम तीव्र भएपछि चिन्तित भएको विद्यार्थीहरूको गुनासो छ ।

युनिभर्सिटी अफ वेस्ट लण्डनमा अध्ययनरत अमरसिंह चौधरीले आफूहरू सहयोगविहीन भएको बताए । ‘दूतावासलाई इमेल र फोनमार्फत सम्पर्क गर्दा पनि सहयोग पाइएन,’चौधरीले भने, ‘हामी घर फर्कन चाहन्छौं । म अध्ययनरत विश्वविद्यालयका करिब ९० जना नेपाली विद्यार्थी प्राय सबै बेरोजगार भइसक्यौं । यदि नेपाल नफर्कने हो भने हामी घर विहीन र भोकमरीको समस्यामा पर्ने निश्चित छ ।’

बेलायतमा दिनदिनै फैलिएको कोरोना भाइरसका रोगीहरूको संख्याले आफ्ना धेरै साथी आत्तिएका उनले बताए । ‘हामीसित घरभाडा तिर्ने पैसा पनि छैन । यदि नेपाल नजाने हो भने कि त भोकले कि त कोरोनाले मर्नेछौं,' उनले भने ।

ग्लास्गो कालेडोनियन युनिभर्सिटीमा अध्ययनरत विनोद पोखरेलको पीडा पनि उस्तै छ । ‘हामी ६, ७ जना नेपाली विद्यार्थी यहाँ अलपत्र छौं । पार्टटाइम जागिर पनि गयो । घरभाडा तिर्नसक्ने अवस्था छैन । खानेकुरा पनि सकिँदै छ,’ उनले भने, ‘हामी नेपाल जान चाहन्छौं । बरु हामीलाई नेपाल सरकारले क्वारेन्टाइनमा जति राखे पनि राजी छौं ।’

अहिले लण्डनबाट घण्टौं टाढा रहेका युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्ल्यान) मा अध्ययनरत करिब २ सय नेपाली विद्यार्थीको पनि विचल्ली छ । कोरोना भाइरसका कारण रेष्टुरेन्ट र अन्य व्यापार बन्द भएपछि रोजगारी गुमेको त्यहाँ अध्ययनरत विद्यार्थीले पनि नेपाल सरकारलाई उद्धार गरिदिन अपिल गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले विद्यार्थीका पीडाबाट आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिएको छ । ‘हामी विद्यार्थीको सम्पर्कमै छौं र समस्या परे भन्न भनेका छौं,' दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘राजदूतले दक्षिण एसिया र कमनवेल्थ मन्त्रीसँग कुराकानी गरिसक्नुभएको छ । पीडित विद्यार्थी र भूतपूर्व गोर्खाहरूको सुरक्षाका लागि हामी गम्भीर छौं ।’

यसैबीच, बेलायतले विदेशी भूमिमा अलपत्र आफ्ना हजारौं नागरिकको उद्धार गर्ने भएको छ । विदेशमन्त्री डोमिनिक राबले सोमबार बेलायती नागरिकहरूलाई उद्धा् गर्न ७५ मिलियन पाउण्ड खर्च गरिने जनाए । ब्रिटिस एयरवेज, भर्जिन र इजी जेट जस्ता एयरलाइन्स चार्टर गरेर अलपत्र यात्रु बेलायत ल्याउने तयारी छ ।

सोमबारसम्म बेलायतमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ नाघेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?