कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कोरोना परीक्षण किट किन्‍न कोरियामा १ करोड २० लाख संकलन

गोकुल थोकर

दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन गरेको १ करोड २० लाख रुपैयाँ पैसाले परीक्षण किट किनिएको हो । 

कोरोना परीक्षण किट किन्‍न कोरियामा १ करोड २० लाख संकलन

बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए ।


‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेको कम्पनीसँग सम्झौता गरेका छौं । प्रति किट झन्डै दुई हजार रुपैयाँमा २ हजार थान किट किन्न लागेका हौं । नेपालमा रहेका प्रयोगशालाका लागि लागि समेत यी किट उपयुक्त हुने भन्ने व्यवहोराको आधिकारिक संस्थाबाट हामीले पत्र पाएका छौं,’ सुवेदीले भने ।


‘हामीले देशका लागि सक्दो सहयोग गर्न खोजेका हौं । यहाँ रहेका धेरै नेपालीले सहयोग गरिरहनु भएको छ । पहिलो चरणमा परीक्षण किट पठाउँछौं र बाँकी पैसा सबैसँग छलफल गरेर प्रयोग गर्नेछौं,’ अभियानका संयोजक यदु लामिछानेले बताए ।


२ हजार थान किट किन्न रकम संकलनका लागि अभियान सुरु गरिएको भए पनि आवश्यकभन्दा बढी रकम संकलन भएको गैर आवासीय संघ कोरियाले जनाएको छ । थप किट किन्‍न समय लाग्ने हुँदा बढी भएको रकमबारे छलफल हुने संघका अध्यक्ष सुवेदीले भने, ‘कोरियाकै लागि बेच्‍न राखिएको दुई हजार थान किट हामीले पाएका हौं । थप किन्‍न परे केही समय कुर्नपर्छ । त्यसैले बढी भएको सहयोग रकम किट नै किन्‍ने हो कि कोरोनासँग लड्न प्रयोग हुने अन्य सामाग्री किन्ने भन्ने छलफल गर्दैछौं ।’

२ हजार थान किट कसरी नेपालसम्म पुर्‍याउने भन्ने विषयमा भने संघ चिन्तित छ । ‘मार्च ३० मा कोरियन एयर काठमाडौं जाँदैछ भन्ने थियो । त्यसैमा पठाउने भनेको तर त्यो रद्द भयो रे । त्यसको विकल्पमा चीन हुँदै पठाउन सकिन्छ कि भनेको त्यो पनि विभिन्न नीतिगत कारणले सम्भव देखिन्‍न । अझै कसरी छिटो पठाउन सकिन्छ, हेर्दैछौं,’ रकम संकलन अभियानका संयोजक लामिछानेले बताए ।


केही अघिसम्म कोभिड–१९ को उद्गमस्थल चीनपछि सबैभन्दा प्रभावित दक्षिण कोरियाले हाल विश्वका अन्य राष्ट्र पनि कोरोना परीक्षण किट निर्यात गरिरहेको छ । मंगलबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली समकक्षी मुन जाय–इनलाई टेलिफोन गरी कोरोना नियन्त्रणका लागि सहयोग माग गरेको दक्षिण कोरियाली पत्रिका ‘कोरियन हेराल्ड’ले उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?