२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आपसी सहयोगमा जेनेभाको ‘डिप्लोमेटिक नोट’

ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का देशमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धारका लागि हातेमालो गर्न भन्दै स्विजरल्यान्डस्थित नेपाली दूतावासले ईटाली र स्विजरल्यान्ड सरकारलाई पत्राचार गरेको छ ।

संक्रमणका बेला युरोपका सबैजसो मुलुकसँग नेपाल आवतजावतको सम्पर्क बिच्छेद भएपछि सरोकार सम्बद्ध मुलुकहरुमा नेपालीले कुनै प्रकारको कठिनाइ ब्यहोर्नुपरेमा आवश्यक सहयोग गर्न पत्राचार भएको हो । स्विजरल्यान्ड र ईटालीको परराष्ट्र मन्त्रालयलाई पठाइएको ‘डिप्लोमेटिक नोट’मा आइपरेको मानवीय समस्यामा एकअर्काको भरथेगका लागि अनुरोध गरिएको जेनेभास्थित दूतावासका काउन्सिलर कुमार राईले जानकारी दिएका छन् ।


‘अहिले यी ३ वटै देशमा भएका नागरिक आफ्नो देश फर्किन सक्ने अवस्थामा छैनन् । नेपालमा भएका स्विस र ईटालीयन नागरिकको भिसा समस्या, ओभरस्टे वा अन्य कागजात अथवा स्वास्थ्य सरोकारमा नेपाल सरकार उत्तिकै गम्भीर रहेकाले यही मानवीय सद्भावका आधारमा युरोपेली मुलुकमा रहेका नेपालीको सेवा–सुरक्षाका लागि कूटनीतिक तवरमा आग्रह गरिएको हो ।


कागजी प्रक्रियामा रहेका, भिसा नभएका, अन्य कुनै देशबाट ईटाली आएकाहरु अथवा स्वास्थ्यको कुनै पनि समस्या भए त्यस्ता नेपालीलाई कुनै पनि सहयोग दिन दूतावास तयार अवस्थामा रहेको पनि काउन्सेलर राईले बताए । ’ईटालीमा केही नेपाली कागजी प्रक्रियामा जोडिएका हुन सक्छन् । तिनलाई घर बाहिर निस्किन, बस्न र खान अथवा उद्दार गर्नमा राहतको समस्या हुन सक्छ । हामी सहयोगका लागि तयारी अवस्थामा बसेका छौं । त्यस्ता नेपालीहरुलाई सम्पर्कमा आउन र कुनै पनि सहयोग चाहिएमा दूतावासलाई खबर गर्न आह्वान गरेका छौं’,राईले भने ।


जेनेभास्थित नेपाली दूतावासले स्विजरल्यान्ड, ईटाली, सान्मारिनो र लेचेस्टाईन गरी चार मुलुक हेरे पनि कुनै पनि देशबाट हालसम्म कोरोना सन्त्रासकै कारण नेपालीले सहयोग नमागेको पनि उनले जानकारी दिए ।


जर्मनीमा नेपाली डाक्टरहरु एकजुट

जर्मनीमा रहेका नेपालीलाई स्वास्थ्य संबन्धी कुनै प्रकारको सहयोग आवश्यक परेमा जर्मनीस्थित नेपाली चिकित्सकले सामूहिक रुपमा भरथेग गर्ने भएका छन् । कुनै पनि नेपालीलाई कोरोना सन्त्रास वा स्वास्थ्यसंबन्धी समस्या देखिएमा तत्कालै सम्पर्क गर्न भन्दै जर्मनीका १६ वटै प्रान्त ओगट्ने गरी १० जना नेपाली चिकित्सक सामूहिक रुपमा जुटेका हुन् ।


जर्मनीस्थित गैरआवासीय नेपाली संघले जर्मनीमा रहेका नेपाली चिकित्सकको विवरण संकलन गर्दै पहिलो चरणमा नेपालीलाई सहयोग–समन्वय गर्ने समिति बनाएको हो । जर्मनीस्थित पत्रकार दिपक धितालका अनुसार, जर्मनीका १६ वटै प्रान्तमा रहेका नेपालीलाई चितित्सकले आलोपालो गर्दै सुझाव, सल्लाह वा आइपरेको सहयोग प्रदान गर्नेछन् । ‘हाम्रा चिकित्सकहरु विभिन्न प्रान्तका छरिएका अस्पतालमा काम गर्छन् । फरक क्षेत्रका ती चिकित्सकहरु फरक–फरक समयमा काम गर्ने हुँदा आफ्नो उपयुक्त समयमा कल्याणकारी सेवामा अनलाइनमार्फत उपलब्ध हुने व्यवस्था मिलाएका छौं’,धितालले भने ।


तत्कालको कार्ययोजनामा फ्यांक्फर्ट वरपरका लागि डा. प्रल्हाद केसी, डा प्रदिप यादव, सरोज अर्याल र जेसेन गुरुङले सहयोग समन्वय गर्नेछन् । बर्लिन र आसपासका लागि डा सरोज चुडाल र मरिना तिवारी, हेम्बर्गका लागि डा आनन्द कार्की, म्युनिखका लागि डा रमेश बानियाँ, डुसल्डोर्फका लागि डा टाईमचन्द्र कार्की र ऊन्ना क्षेत्रका लागि डा सुनिल अर्याल तथा शंकर नेपाल छन् । त्यस्तै हाईडलवर्ग क्षेत्रका लगि डा.राजीव साह र मार्गवर्गका लागि डा सुमिना आदेलमायर सहयोग गर्न तत्पर भएका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?