१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साउदीमा कोरोनासम्बन्धी गलत सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिवाना : दूतावास

होम कार्की

काठमाडौँ — साउदी अरबस्थित नेपाली दूतावासले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिवाना रहने भन्दै नेपाली कामदारलाई सूचित गरेको छ ।

दूतावासले त्यस्तो सूचना फैलाउनेलाई साउदी अरबको अनुसान्धान ब्यूरोले अनुसन्धान गरिरहेको भन्दै गलत सूचना नफैलाउन सचेत गरेको हो । साउदीले एक आप्रवासी कामदारलाई पक्राउ गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।


‘कोरोना भाइरसको संक्रमण र फैलावट सम्बन्धमा साउदी सरकारका तथ्याङक र सूचना भन्दा बाहिर गएर अनावश्यक बोल्नुहुदैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरलाई भने,‘तथ्यहीन विषयहरु सोसल मिडियामा पोष्ट नगर्नु समेत साउदीमा कार्यरत नेपालीलाई अनुरोध गर्दछु ।’ साउदीले यस विषयलाई अत्यन्त संवदेनशील रुपमा लिएको छ ।


‘कोरोना भाइरसको संक्रमण सम्बन्धमा कुनै अफवा फैलाउने सद्भाव खलबल्याउने प्रकारका कुनैपनि कार्य नगर्नु हुन अनुरोध छ । कुनै गलत गतिविध भेटाएमा यहाँको कानून अनुसार अत्यन्त कडा सजाय हुने हुँदा सजग गराइन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


साउदीको राजधानी रियाद, पूर्व क्षेत्र एवं देशका विभिन्‍न स्थानमा कोरोना फैलिदै गएकोले सचेत अपनाउन दूतावासले अनुरोध गरेको छ । यो भाइरसबाट साउदीमा संक्रमितको संख्या २३८ पुगेको छ । रियादमा मात्र थप १९ जनामा यो संक्रमण देखिएको छ । हालसम्म नेपाली कामदार संक्रमित भइनसकेको राजदूत राजपुतले बताए ।


दूतावासले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने महत्वपूर्ण प्रयासका रुपमा यहाँको स्वास्थ्य मन्त्रालयले मोबाइल प्रयोग कर्तामा एक सन्देश पठाइ संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन सुरु गरेको जनाएको छ । साउदीमा हाल ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।


साउदी सरकारले मक्का र मदिनाका दुई पवित्र मस्जिद बाहेक नियमित एवं हरेक शुक्रबार हुने विशेष प्रार्थनाका लागि खुल्ने गरेका देशभरीका मस्जिदहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।


मानिसको आवागमन धेरै हुने धार्मिकस्थल समेत बन्द गरेको उनले बताए । ‘यहाँका सरकारी कार्यालयहरु, अदालत, विद्यालय तथा विश्विद्यालय बन्द छन् । निजी क्षेत्रका कम्पनीमा ६० प्रतिशत भन्दा जनशक्तिबाट काम गराउन तथा सम्भव भएका कामहरु घरबाटै गर्ने वातावारण बनाउन साउदी सरकारले कम्पनीहरुलाई अनुरोध गरेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ६, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?