२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विदेशी बुहारीलाई गाह्रो छ कोरियामा 

गोकुल थोकर

सोल, दक्षिण कोरिया — नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ मा उनकै जीवन रंगमञ्च झै भयो ।

विदेशी बुहारीलाई गाह्रो छ कोरियामा 

जब उनले कोरियन नागरिकसँग विवाह गरिन् । स्टेजमा मञ्चन भैरहेको नाट्य पात्रको जीवनमा आएको नयाँ मोड जस्तै ।


जिन्दगीको एक भाग सकियो । ‘मैले त आˆनै केटाको अनुहार राम्ररी थाहा नभइ बिहे गरें । आफैंलाई यस्तो पनि भयो भनेर सम्झाउन धेरै दिन लाग्यो,’ उनले भनिन्, ‘मेरी गाउँकी आफन्त बहिनीले पहिले कोरियनसँग विवाह गरेर आएकी थिएँ । उनैले आमासँग कुरा गरिछन् । मलाई आमाले कर गरिन् । खै, के भएर हुन्छ भन्दिएछु ।’

उनले बिहे गर्न राजी भएको केटा नेपाल गएसँगै म्यारिज ब्यूरोले सबै कागजात तयार गरिदियो । कफीसपमा बेहुलाले सुट लाए । उनले नेपाली सारी लगाइन् । दुवैले फोटो खिचे । त्यसपछि बिहे भयो ।

विवाह भएको तीन महिना पछि उनी कोरिया आइन् । न कोरियन भाषा आउने न संस्कार संस्कृति नै । उनलाई समस्या भयो । श्रीमान्ले एउटा एउटा शब्द अंग्रेजीमा भन्थे । इशाराले धेरै कुरा चल्थ्यो । झन्डै एक वर्षसम्म भाषा पढेपछि उनी सामान्य कुराकानी गर्नसक्ने भइन् । दैनिकी सामान्य बन्दै गयो ।

अहिले उनी एउटी छोरी हुर्काउँदै छिन् । फुर्सदको समयमा भाषा अनुवादकको काम पनि गर्छिन् ।

बालाको जस्तै छ धेरै कोरियन नागरिकसँग विवाह गरेर आउने नेपाली लगायत विदेशी बुहारीको समस्या । कति संख्या छन् ? यकिन तथ्यांक कतै छैन । नेपाली राजदूतावाससँग ६ सय १४ जना महिला र १ सय ३९ जना पुरुष कोरियनसँग बिहे गरेर आएको तथ्यांक छ । तर यो संख्या कोरिया भर विवाह गरेर आउने नेपालीको संख्याभन्दा थोरै रहेको दूतवासनै स्वीकार गर्छ ।

‘हामीलाई न त नेपालबाट विवाह गर्दा नै जानकारी हुन्छ, न कोरियामै । त्यसैले हामीसँग भएको यो जानकारी अफिसियल्ल होइन,’ नेपाली दूतावासका द्वितिय सचिव उद्वव न्यौपानेले भने, ‘औपचारिक तथा अनौपचारिक भेटमा कुराकानी हुन्छ । पहिलापहिला जस्तो समस्या पनि आउँदैन । कोरियन सरकारले पनि विदेशी महिलाहरुका लागि धेरै सुविधा दिएको छ । यसबाट हाम्रा दिदी बिहिनी पनि लाभान्वित छन् ।’

कोरियनसँग विवाह गरेर आउने महिलालाई भाषा र कोरियन जीवनशैली सिकाउन तालिम केन्द्रहरु छन् । कोरियन भाषामा ‘धामुना’ सेन्टर (बहुसंस्कृतिक परिवार सेवा केन्द्र) भनिने यस्ता केन्द्रमा विदेशी बुहारीहरुका लागि जीवन उपयोगी सिप पनि सिकाइन्छ । कुनै समस्या परे नेपालीमै भन्न सकिने सुविधा छ । तर कोरियनसँग विवाह गरेर आएका महिलाहरुका समस्या अनेक छन् ।

सन् २०१८ मा राष्ट्रिय मानव अधिकार आयोग कोरियाले गरेको एक अध्ययनले ४२ प्रतिशत कोरियनसँग विवाह गरेर आएका विदेशी महिलाले घरेलु हिंसा भोग्नु परेको र ६८ प्रतिशतले यौन हिंसा सहेको देखाएको थियो ।

विवाह गरेर आउनु अघि ‘केपप् ब्याण्ड’ र ‘टेलीसिरियल’ हेरेर ‘कोरिया त रमाइलो रहेछ’ भन्ने धेरै छन् । विवाह गरेर वास्तविक रुपमा कोरिया पुग्नेको यर्थाथ अर्कै छ ।

बिहे गर्नु पहिला म्यारिज ब्यूरोले राम्रै राम्रो मात्र भन्ने गरेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी महिला संयोजक शुभद्रा पालुङ्वाको दाबी छ । ‘बिहे गरेपछि सबै राम्रो हुने । तुरुन्तै कार्ड पाउने, अझ कतिले त डिभोर्स गरेर बस्दा पनि हुने भनेर भनि दिन्छन् । धेरै दिदी बहिनीलाई कोरियाको यर्थाथ थाहा नै हुँदैन,’ उनले भनिन् ।

नेपाल हुँदा म्यारिज ब्यूरोले एक दुई वर्षमै कोरियन ग्रीनकार्ड निस्कन्छ भने पनि कार्ड पाउन सजिलो छैन । कोरियन भाषा ‘एडभान्स लेभल’ पास गरेको, सन्तान भएको, आर्थिक अवस्था राम्रो रहेको जस्ता झन्झटिलो प्रक्रिया छन् । यी सबैमा श्रीमान्को सहयोग हरपल आवश्यक हुन्छ ।

एक अध्ययनले विदेशीसँग विवाह गर्ने कोरियनको उमेर औसतमा ४३.६ वर्षभन्दा बढि छ भने विदेशी महिलाको उमेर २५.२ वर्ष मात्रै छ । महिला र पुरुषको उमेर १८.४ वर्षले बढी भएपछि दाम्पत्य जीवनमा फरक पर्ने फेन्थेककी कविता लामा भनाइ छ ।

‘उमेर बढी भएपछि सोच्ने तरिका नै फरक हुने रहेछ । मैले सामान्य रुपमा लिएको विषयले परिवारमा झगडा नै हुने अवस्था पनि आउँछ,’ उनले भनिन् ।

धेरै घरयासी झगडाका कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको बढेकै छ । गत वर्ष ५ हजार विदेशीसँग विवाह गरेका जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।

विदेशी महिला विवाह गर्न चाहने धेरै कोरियनका आर्थिक अवस्था राम्रो छैन । उनीहरुको बसोबास गाउँमा छ । खेती किसानी मुख्य पेशा हो । कोरियन केटीसँग विवाह गर्न नसके पछि विदेशी महिलाहरु विकल्पको रुपमा प्रयोग भैरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पुरुषलाई विभिन्न नगरपालिकाले विवाहको लागि आर्थिक सहयोग समेत गर्छ ।

चीन, भियतनाम, थाइल्यान्ड, उज्बेकस्थान, फिलिपिन्सका महिलाहरु सबै भन्दा धेरै विवाह गरेर कोरिया आउँछन् । यसरी आउने धेरै महिलाका सपना समान छन् । आफू सेटल हुने अनि माइती देशमा सकेको आर्थिक सहयोग गर्ने हुन्छ ।

यहाँको तथ्यांक विभागले सन् १९९८ देखि विदेशीसँग गरेको विवाह रेकर्ड राख्न सुरु गरेको पाइन्छ । सबैभन्दा बढी विदेशी महिलासँग विवाह सन् २००५ मा भएको देखिन्छ । उक्त वर्ष ३० हजार ७ सय विदेशी महिला कोरियनसँग विवाह गरेका थिए भने ११ हजार ६ सय पुरुष विवाह गरेर कोरिया आएको रेकर्ड छ ।

पछिल्लो समय विदेशी महिलासँग विवाह गर्न केही कडा नियमहरु लागु भएका छन् । त्यससँगै विदेशीसँग विवाह गर्ने कोरियनको संख्या कम भएको छ । सन् २०१८ मा १६ हजार ६ सय विदेशी महिलाले विवाह गरेर आएका थिए भने ६ हजार पुरुषले विवाह गरेका थिए ।

परिवर्तन गरिएका केही नियम राम्रो भएको महिलाको लागि महिला दक्षिण कोरियाकी अध्यक्ष रितु श्रेष्ठ बताउँछिन् । ‘अहिले विदेशी वुहारी बनेर तुरुन्तै आउन पाईंदैन । भाषा पास गर्नुपर्छ । कोरियाको बारेमा बेसिक कुरा जानकारी लिएको हुनैपर्छ । त्यसैले नेपालबाट बिहे गरेर आउनेको संख्या कम भएको छ,’ उनले भनिन् ।


प्रकाशित : माघ २३, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?