परदेशमा पञ्चेबाजा

नारायण खड्का

(एडिलेड) — सन् १७८८ मा पहिलो डुंगा आइपुगेको थियो अस्ट्रेलियाको न्यु साउथ वेल्समा । यही दिनको स्मृतिमा बहुसांस्कृतिक चिनारीसहित ‘अस्ट्रेलिया डे’ मनाइँदै आएको छ । पछिल्लोपटक यो सांस्कृतिक परेडमा थपिएको छ– नेपाली चिनारी । यसपटक पनि यहाँका नेपालीहरू पञ्चेबाजासहितको परेडमा उत्रिए ।

परदेशमा पञ्चेबाजा

एक सयभन्दा बढी मुलुकका नागरिकले भाग लिएको सांस्कृतिक परेडमा नेपाली कलासंस्कृति र लोकबाजाको सान भिन्न थियो ।


दक्षिण अस्ट्रेलियामा आयोजित परेडमा सहभागी नेपालीको यस वर्षको मुख्य आकर्षण नै परम्परागत पञ्चेबाजा थियो । त्यसमा दौरा–सुरुवाल, गुन्यूचोली, ढाका टोपी त छुट्नै कुरै भएन । बालबच्चा, बाआमा मात्र नभएर युवाले समेत परेडमा उत्साहसाथ सहभागिता जनाए । नेपालीलाई संयोजन गरिरहेका एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन रेग्मीले यो कार्यक्रम नेपाल र नेपाली चिनाउने महत्त्वपूर्ण अवसर भएको सुनाए । उनले यस वर्ष नेपालीहरूले ल्याएको पञ्चेबाजाप्रति सर्वसाधारणले धेरै चासो देखाएको दाबी गरे । ‘यसपालि पर्यटन प्रवर्द्धनको पनि राम्रो अवसर बन्यो,’ उनले भने, ‘विदेशीहरूले नरसिंगाप्रति देखाएको चासो रोचक थियो ।’


मुख्य सहरमा करिब ३ किलोमिटरसम्म चलेको यो सांस्कृतिक पदयात्रामा मन्त्री, सांसदका साथै विभिन्न उच्च व्यक्ति पनि थिए । परेडकै क्रममा नेपाली सहभागीले नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरे ।

प्रकाशित : माघ १४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?