बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय

नवीन पोखरेल

लन्डन — लन्डनका सफल व्यवसायी कुल आचार्यले अघिल्लो सोमबार दक्षिण पश्चिम लन्डनको पटनीमा नयाँ रेस्टुराँ खोले । बेलायतमा ‘होली काउ’ समूहको यो नवौं तथा पहिलो सिट इन हो । यसअघि आचार्यका सबै रेस्टुराँ ‘टेक अवे’ थिए । नयाँ रेस्टुराँमा करिब सय सिट छन्, दर्जन बढी कामदार ।

बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय

बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलेब्रिटी सेफ एन्सले ह्यारियटले उद्‌घाटन गर्दै बेलायतमा नेपाली व्यवसायी बढेकामा खुसी व्यक्त गरे । होली काउ समूहका निर्देशक आचार्यले २० वर्ष पहिले बेलायत आएपछि किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुँदै २००६ मा ‘होली काउ’ खोलेको स्मरण गरे ।


‘व्यवसायमा चुनौती छन् तर सबैको माया र साथले सफल भइरहेको छु,’ आचार्यले भने । उता, तीन साताअघि ५ जना नेपाली मुछेत्र गुरुङ, अनिल प्रधान, राजेन्द्र प्रधान, कमल गुरुङ र राजु घलेको साझेदारीमा बेलायतको अल्डरसटमा ‘चाइना ओरियन्टल सुपर मार्केट’ खुल्यो । ८ करोड रुपैयाँ लगानीमा खुलेको सुपरमार्केटमा १२ जना नेपालीले रोजगारी पाएका छन् ।

लगानीकर्ता कमल गुरुङका अनुसार पसलमा नेपाली, चिनियाँ, कोरियन तथा भियतनामी सामान उपलब्ध छन् । ‘ज्येष्ठ नागरिकले नेपाली खाना रुचाउने र नयाँ पुस्तामा अन्य खानाको लत बसेकाले सबै वर्गको माग पूरा गर्न सुपर मार्केट खोल्यौं,’ गुरुङले भने ।


आठ वर्षदेखि इटालियन रेस्टुराँ ‘ओजी’ (टुडे) सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाले बेलायतको लेस्टरमै अर्को रेस्टुराँ खोले । उनका अनुसार मिडल्यान्डमा मात्र नेपालीका करिब सय रेस्टुराँ सञ्चालनमा छन् । ‘कामदार अभाव समस्याले अझ हामीले शुद्ध नेपाली खाना दिन सकेका छैनौं,’ उनले कान्तिपुरसँग भने ।


रेस्टुराँ व्यवसायमा आएको संकटपछि लन्डनका युवा व्यवसायी दीपेन्द्र कार्कीको ठूलो रकम डुब्यो तर निरन्तरको प्रयासले तंग्रिएका उनका हाल आधा दर्जन रेस्टुराँ सञ्चालनमा छन् । ‘आत्मबल, मिहिनेत र लगावले हरेक क्षेत्रमा सफलता पाउन सकिने रहेछ,’ उनले भने ।


हाल महिनैपिच्छे नेपालीका कुनै न कुनै व्यवसाय खुल्ने क्रम जारी छ । विशेष गरी बेलायती सेनाका अधिकृतहरूको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट’ आसपासको अल्डरसट टाउनमा नेपाली व्यवसाय बढी खुलेका छन् । यहाँ नेपाली ग्राहक लक्षित गरेर ब्याङक्युटिङ हलदेखि ग्रोसरी, ब्युटी पार्लर, रेस्टुराँ, पब, ककटेल बार, दोहोरी साँझ, सुनचाँदी पसल, प्रोपर्टी, बुटिक, टेलर्स, मोर्गेज, ट्राभल्स एन्ड टुर, क्लिनिङ आदि व्यवसायमा नेपालीको लगानी छ ।


अल्डरसटमा गोर्खा राजदूत रेस्टुराँ पहिलो नेपाली व्यवसाय मानिन्छ तर अहिले त्यहाँ मात्र नेपालीका करिब ६० व्यवसाय पुगेको स्थानीय पत्रकार पूर्ण गुरुङले जानकारी दिए । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले बेलायतमा नेपाली व्यवसाय बढ्नु निकै खुसीको कुरा भएको जनाएको छ । ‘रोजगारी त छँदै छ, यसले बेलायत नेपाल सम्बन्ध अझ प्रगाढ बनाउन पनि भूमिका खेलेको हाम्रो बुझाइ छ,’ बीएनसीसी उपाध्यक्ष एवं पर्यटन व्यवसायी विराज भट्ट भन्छन् ।

प्रकाशित : पुस २२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?