दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु भएको हो । सामान्य ज्वरो आएर उनी आइतबार सउलको अस्पताल भर्ना भएका थिए ।


उनले शनिबार मात्रै फेसबुक लाइभ गरेर जन्मदिन मनाउँदै गरेको भिडियो राखेका छन् । 'राईको भाइरसको कारण ज्यान गएको भन्ने प्रारम्भिक रिपोर्ट देखाएको रहेछ । के कस्तो भाइरस हो त्यो एकिन गर्न केही समय लाग्ने अस्पतालले हामीलाई जानकारी दिएको छ' गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी निर्वतमान अध्यक्ष लक्ष्मी गुरुङले भनिन् ।


शनिबार नै आन्सानमा दोलखाका दावा लामाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी लामो समयदेखि कलोजोको रोगबाट पीडित थिए ।


त्यस्तै गत बिहीबार रौतहटका सञ्जय विकको मृत्यु भएको थियो । उनी पनि हेपाटाइटिस रोगको उपचार गराइरहेका थिए । प्रकाशित : मंसिर ११, २०७६ ०९:४९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छिटो पैसा कमाउ, नेपाल जाउ

गोकुल थोकर

काठमाडौँ — सँगै काम गर्ने कोरियन बुढा छन् । उमेरले साठी काटेका । अनुहार हेर्दा त्यति धेरै उमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । सेतै फुलेको कपाललाई मेहेन्दीले कालो वनाएका । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् ।

कोरियामा काम गर्न जानका लागि दिइने भाषा परीक्षाको फारम भर्न राजधानीमा लाम लागेका युवाहरु । फाइल तस्बिर ।

काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् । कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । कोरियन न परे कताको धर्मकर्म हुनु ? ‘सकुन्जेल आफै काम गर्छु । नसकेको दिन देखा जाएगा’ युवा जोशमा उनी भन्छन् ।

उनले जिन्दगीका सबै रंग देखेका छन् । दु:खको चरम देखेका छन् । भोगेका छन् । उनका दु:खका कुरा सुने हामी नेपालीले के दु:ख भेगेका रहेछौं र भन्ने लाग्छ । सत्तरीको दशकमा उनी युवा थिए । ज्यानमा बल थियो । परे ढुंगा खाएर पचाउने उमेर थियो । देशमा द्वन्द्व सकिएको त थियो तर अभाव र गरिबी चरम रुपमा थियो । त्यो बेला समुद्रको माछा र लेउ खाएर परिवार चलाउनुको बिकल्प थिएन । ‘समुद्रमा माछा मार्न पनि सजिलो थिएन । माछा मार्न नसकेको बेला समुद्रको किनारा छेउछाउ पाइने बिभिन्न किराहरु खाने बानी नै पर्‍यो । त्यो पनि भेटाइन भने लेउ मात्रैले पनि कति छाक टर्‍यो टर्‍यो । कतिदिन त भोक भोकै पनि बित्यो । त्यसको के हिसाब गर्नु ?’ पुराना दिनहरु सम्झदा उनका चिम्सा आँखा झन चिम्सिन्छन् ।
उनी टुटे फुटेका अंग्रेजी बोल्छन् । बिदेशमा काम गर्न जाँदा सिकेका रहेछन् । कुरा गर्न त्यसैले पनि सजिलो भएको छ । बुढा बेला न कुबेला गफिन्छन् । अनि कति खेर हामीले गरेको काम चित्त नबुझे झनक्क रिसाउँछन् । बुढेस काल भएर होला । हामी मन बुझाउँछौं । हुन त उनी कम्पनीका हकिम झैं हुन् । पद केही नदिए पनि उनलाई कोरियनहरुले पनि केही भन्दैनन् । मन लागे काम गर्छन् । मन लागे आराम । सबैले हराबजी अर्थात हजुरबा भनेर सम्मान गर्छन् । सानाले ठूलालाई सम्मान गर्ने संस्कार भएर हो कि?
पुरानो कोरियाको कथा हामीसँग ठ्याक्कै मिल्छ । ‘देशमा काम थिएन । खानाको समस्या उस्तै थियो । अरु साथीहरु बिदेशमा काम गर्न जान्थे । म पनि लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा थिएँ । बिदेशमा गएर केही कमाउने रहर थियो' त्यसैले नेपालीहरु अहिले गए जस्तै मलेसिया गएर काम गरेका थिए बुढाले । ‘गर्मी खुब हुने त्यता कोरियामा त चिसो पनि हुन्छ नी । त्यहाँ त गर्मीका गर्मी’ उनी थप्छन् ।

‘अलिअलि पैसा कमाएँ । देशमा आएर एउटा सानो प्लास्टिकको झोला बनाउने कम्पनी खोलेँ । दिन रात नभनि काम गरेँ । कम्पनी नाफाको नाफामा गयो । जिन्दगीमा नसोचेको पैसा देखियो । जता गयो । त्यतै आनन्द । नोरेवाङ – गीत गाउन पाइने रेष्टुरेन्ट गयो केटीहरु लाइन लाग्थे । साथीभाइ आफन्त सबै थिए । रक्सीको खोला बगाइयो । गाडी किनेँ । बजारमा घर किने । बिहे गरेँ । भाइ यो पैसा भनेको कहिले सकिन्छ थाहै नहुने’ बुढा सुनाई रहन्छन् ।

‘जिन्दगी भनेको घडी जस्तै रहेछ । घुम्दै जाँदा एक दिनमा एक पटक घन्टा, सेकेन्ड र मिनेटका सुई एकै ठाँउमा पुग्ने’ छ दशकको जिन्दगी बाँचेपछि उनले बुझाई हो यो । बुढाको जिन्दगीमा फेरि दु:ख सुरु भो । ‘ब्यापार घाटा भो । भएका जोडेका सम्पति सकिंदै गयो । हुँदा आफन्त बन्नेहरुले छाडे । हुँदाहुँदा भएकी श्रीमतीले पनि डिभार्स गरिन् । जिन्दगीका कुरा हुन् भोलि के हुन्छ यसै भन्न सकिन्न’ उनी हामीलाई सम्झाउँछन् ।
‘हरेस कहिल्यै नखानु । पहिले के खाऊ ? के लाऊ भन्ने बेलाथ्यो । मैले श्रीमती छोड्दा दु:खले बनाको घर पनि छाडेँ । रक्सी खुब खान्थे । रक्सी छाडे । अहिले कोक खान्छु ।’ हो पनि उनी कोकको फ्यान हुन् । मल्टिनेसनल कल्चर पनि हुन सक्छ । जति खेर पनि कोक खान्छन् । ‘म आजकाल गेम खेल्छु’ कोरियामा खुब फेमस छ बेस बल । उनी त्यही खेल्छन् । हातमा बेस बल क्लबको नामभएको फित्ता बानेका छन् ।
‘पैसा हुनेहरुले मैले जसरी नै कम्पनी खोले । कामको अभाब भएन । हाम्रो देशको उत्पादन विदेश जान लाग्यो । देशको आर्थिक अबस्था राम्रो भो । मेरो कम्पनी घाटामा गए पनि
मलाई काम खोज्न गाह्रो छैन । हामीले कस्तो कस्तो दु:ख खेपेका छौं । मलाई कुनै काम पनि गाह्रो लाग्दैन । गर्छु भन्नेलाई कामको अभाव छैन । जीवन चलाउन सक्ने पैसा त जसले जसरी पनि कमाउन सक्छ ।’ हो पनि । कोरियामा कामको अभाव छैन । कामदारको अभाव छ । त्यसैले त बिदेशी कामदार डाक्छन् ।
‘बिदेशमा जति काम गरे पनि आफ्नो देशमा गरे जस्तो हुँदैन । जे भएपनि आफ्नै देशमा गर्नु पर्छ । मेरो पनि मनमा फेरि एउटा कम्पनी चलाउने रहर छ । अहिले पैसा छैन । अपार्ट किनें । गाडी नयाँ लिएँ । अझै कमाउन सके कम्पनी खोल्छु होला । विदेशमा पैसा कमाउनु पर्छ । अनि आफ्नै देशमा सदुपयोग गर्नु पर्छ । 'थोन मानी फर । नेपालखा । त्यसैले छिटो पैसा कमाउ र नेपाल जाउ ।’

प्रकाशित : भाद्र ३, २०७५ १३:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×