२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चीनमा नेपालीले गरे रक्तदान

लक्ष्मी लम्साल

बेइजिङ — दक्षिण चीनको व्यापारिक सहर क्वाङ्चौमा रहेका नेपालीहरूले चिनियाँ भूमिमा रक्तदान गरेका छन्। लामो समयदेखि अध्ययन तथा बसोबासरत नेपालीहरूले औपचारिक रूपमा पहिलोपटक यति ठूलो परिमाणमा रक्तदान गरेका हुन्।

चीनमा नेपालीले गरे रक्तदान

क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए, चीन) मिलेर नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। कूल ८८ जना रक्तदातामध्ये ७६ जना नेपाली र बाँकी अन्य विदेशी पनि रक्तदानमा सहभागी भए। एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेका अनुसार चीनमा व्यवसाय गर्ने व्यापारी, साउथ चाइना युनिभर्सिटी, क्वाङ्चौ नानफाङ युनिर्भसिटी र सन यात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरू र केही विदेशी समेतले रक्तदानमा भाग लिएका थिए।


क्वाङ्चौ ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन भएको जनाउँदै सोचेभन्दा बढी रक्तदाताको सहभागिता देखेर प्रसन्नता प्रकट गरेको छ। चीनमा कुनै पनि सामाजिक काम गर्नका लागि सम्बन्धित निकायको स्वीकृति चाहिन्छ। ‘नेपाली संस्थाले रक्तदान गर्ने प्रस्ताव गर्नेबित्तिकै क्वाङ्चौ वैदेशिक मामिलाबाट सजिलै अनुमति दिइयो,’ न्यौपानेले सुनाए।


रक्तदाताका लागि ब्लड बैंक सेन्टरले एक किसिमको कार्ड उपलब्ध गराउने र सो कार्डद्वारा भविष्यमा चिनियाँ अस्पतालमा सेवा लिन सुलभ हुने पनि उनले बताए। नेपालीहरूले दान गरेको यो रगत चीनमै प्रयोग हुनेछ। ब्लड बैंक सेन्टरको कार्यालय अवस्थित क्षेत्रमा दैनिक दशौं हजारले ओहोरदोहर गर्ने भएकाले प्रत्यक्ष प्रचारमा पनि टेवा पुगेको सहभागीहरूको भनाइ छ। आयोजक सदस्यहरूले नेपाल भ्रमण वर्ष-२०२० को लोगो अंकित भेस्ट लगाएर रक्तदान कार्यकमको संयोजन गरेका थिए।

प्रकाशित : मंसिर ८, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?