सिड्नीमा एक नेपालीको मृत्यु, हत्याको आशंकामा श्रीमती प्रहरी नियन्त्रणमा

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीको ग्रानभिलमा सन्तोष गौतम नाम गरेका एक नेपाली युवाको हत्या भएको छ । हत्या आरोपमा मृतककी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यू साउथ वेल्स प्रहरीका अनुसार घरायसी विवाद हुँदा घटना भएको देखिएको छ ।

सिड्नीमा एक नेपालीको मृत्यु, हत्याको आशंकामा श्रीमती प्रहरी नियन्त्रणमा

प्रहरीले जारी गरेको सूचना अनुसार घटना शनिबार राति साढे सात बजे भएको थियो । श्रीमान श्रीमती नै घाइते भएपछि स्थानीय वेस्टमिड अस्पताल लगिएको भएपनि गौतमको मृत्यु भएको थियो । घाइते श्रीमतीलाई उपचारपछि प्रहरीले घरेलु हिंसा अन्तर्गतको हत्या आरोपमा पक्राउ गरेको उल्लेख गरिएको छ । उनको जमानत समेत अस्वीकार भएको छ भने आइतबार स्थानीय पारामाटा अदालतमा प्रस्तुत गरिने प्रहरीले जनाएको छ । कम्बरल्याण्ड प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।

स्थानीय वेस्ट युनाइटेड क्रिकेट क्लबका खेलाडी समेत रहेका गौतम मिलनसार र सबै साथीभाईहरुसँग मिल्ने व्यवहारको रहेको नेप्लिज क्रिकेट एसोसिएसन अस्ट्रेलियाका पूर्व अध्यक्ष रुपक चुडालले बताए । केही वर्षअघि नेपाली क्रिकेट एसोसिएसनबाट ‘इमर्जिङ युथ प्लेयर’ को उपाधि समेत पाएका थिए । करिब ४ बर्षदेखि ब्रिसबनबाट बसाई सरेर सिड्नी आएका उनको आफ्नै अटोमोबाईल्सको व्यवसाय रहेको थियो ।

घटनाका बारेमा क्यानबेरास्थित नेपाली दूतावासले औपचारिक जानकारी पाइनसकेको बताएको छ । सिड्नीमै रहेका अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दहालले अनौपचारिक रुपमा घटनाका बारेमा सुनेपनि अहिलेसम्म औपचारिक जानकारी नपाएको बताए ।


प्रकाशित : मंसिर ८, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?