कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रिसबनमा “रातो र चन्द्रसूर्य...”

नारायण खड्का

(अस्ट्रेलिया) — गोपालप्रसाद रिमालको ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो....’ गीत यतिबेला थप चर्चामा छ । पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको एउटा रात्रि क्लबमा यही गीतमा नाचे । अम्बर गुरुङको संगीतमा किरण प्रधान, रविन शर्मा र सुनीता सुब्बाले धेरैअघि गाएको यही गीतलाई नेपाली लोक रक ब्यान्ड नेपथ्यले पनि झन्डै डेढ दशकदेखि गाउँदै आएको छ । यतिबेला अस्ट्रेलियाको सांगीतिक यात्रामा आएको नेपथ्य टोलीले ब्रिसबेनमा मंगलबार आयोजित कन्सर्टमा यही गीत सुनाउँदा यताका दर्शक निकै उत्साहित बने । 

ब्यान्डले अस्ट्रेलियाको तेस्रो ठूलो सहर मानिने ब्रिसबनबाटै यसपटकको कन्सर्ट यात्रा आरम्भ गरेको छ । एक दशकअघिसम्म पनि मुस्किलले करिब हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरू विस्तारै बढ्दै गएका छन् । सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्युड म्युजिक हल’ को क्षमता भरिने गरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा उपस्थित हुनुले पनि यहाँ बढ्दै गएको नेपाली प्रभावलाई पुष्टि गर्छ । स्थानीयका अनुसार आजसम्मै कुनै पनि नेपाली कार्यक्रममा यति धेरै दर्शक जुटेको सम्भवत: यो पहिलो पटक हो ।


‘आजसम्मकै ठूलो र व्यवस्थित प्रस्तुति बन्नपुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्टस्’ का टोली सदस्य सुनिल बस्नेत हौसिए, ‘ब्रिसबेनमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलै सफलता मान्नुपर्छ ।’ सबै पुस्ताका दर्शकले भरिएको हलमा वृद्ध बाआमादेखि केटाकेटीसम्म लिएर आउने दर्शक उल्लेख्य थिए । ‘संगीतले कसरी फरकफरक मानिसलाई एकै ठाउँमा ल्याएर जोड्दो रहेछ भन्ने साबित गरिदिएको छ,’ सुनिलले भने, ‘धेरै नेपाली कार्यक्रम आयोजना गर्दै आएको भए तापनि यति धेरै विविधता बोकेको दर्शक पाउन सकेका थिएनौं ।’


कसर्न्टमा ‘भेडाको ऊनजस्तो...’, ‘छेक्यो छेक्यो...’, ‘लाम्पाते सुरती...’, ‘चरी मर्‍यो...’, ‘जोमसोमे बजारमा...’ जस्ता चर्चित गीतहरू गाए । गायनमा अमृत गुरुङ निकै खुलेका थिए । उनले यहाँका नेपालीमाझ आफ्नोपन बोकेको लोकगीतको बखान पनि गर्न भ्याए । ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शन पनि बोकेका हुन्छन्,’ उनी भन्दै थिए । कन्सर्ट अवधिमा उनले विदेसमा सबै नेपाली मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे ।


कन्सर्टमा ‘यो जिन्दगानी...’, ‘रेसम...’ र ‘तालको पानी...’ जस्ता गीत बज्दा दर्शकले सँधैझैं नाचेर साथ दिएका थिए । नयाँ एल्बमबाट ‘नैना ताल...’ पनि गाउन भ्याए अमृतले । संगीत पारखीहरूले यो गीतलाई पनि निकै रुचाए । विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरूले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन् । कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्य’ बाट गरियो । यसपटक नेपथ्यले अस्ट्रेलियामा ६ वटा प्रस्तुति दिनेछ । यात्रालाई सिड्नीस्थित नेपाली टचले संयोजन गरिरहेको छ भने ब्रिसबनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्सले गरेको थियो ।


टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ । यहाँ शुक्रबार नेपथ्यले अर्को प्रस्तुति दिनेछ । स्थानीय आयोजक गोर्खा पल्टनले नेपथ्यलाई ‘इटालियन क्लब’ मा उपस्थित गराउँदै छ । अस्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपाला अस्ट्रेलियाकै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत प्रस्तुति दिँदै छ ।


फेरि इलामे सहर...

निकै लोकप्रिय गीत मानिन्छ, ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्‍यो घर हाम्रो...’ । गंगाराज मुकारुङद्वारा रचित यो गीतको पुन: गायन गरी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बुलु मुकारुङको संगीत तथा कुन्ती मोक्तान र स्वयं बुलुकै स्वर रहेको पुरानो गीतलाई अशोक मुकारुङ र सुनीता थेगिमको स्वरमा रिभोकल गरिएको हो ।


नोर्बु शेर्पाले रि–एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् । सुजन गुरुङले शृंगार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायांकन गरेका हुन् । भिडियो जीवन मुकारुङको निर्देशन र सम्पादनमा तयार भएको छ ।


प्रकाशित : मंसिर ५, २०७६ ०९:५६

प्रतिक्रिया
पठाउनुहोस्

जङ्गे पिलरमाथि पुस्तक

कान्तिपुर संवाददाता

काठमाडौँ — कालापानी, लिपुलेक, लिम्पियाधुरामा विवाद चर्किरहेकै बेला सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘जङ्गे सीमाखम्बाको गन्ती’ नामक पुस्तक ल्याएका छन् ।

‘नेपालको सिमाना’ कृतिका लागि मदन पुरस्कार पाएका श्रेष्ठले तथ्यपरक रूपमा पुस्तकलाई प्रस्तुत गरेका छन् । ‘नेपालको आधिकारिक सिमाना भनेकै जङ्गे सीमाखम्बा हो तर सिमानाबाट रातारात यी खम्बा गायव पारिएका छन्’, उनले भने, ‘नेपाल–भारत सीमा नक्सामा अंकन गरिएका स्तम्भको संख्या ८ हजार ५ सय ५३ र नेपाल–चीनतर्फको सीमा स्तम्भको संख्या ९९ रहेको छ । यिनै जङ्गे सीमाखम्बाको निर्माण, मूलखम्बा र सहायक खम्बा, डुबान तथा तोडफोड र रातारात सारिएको अवस्थालाई पुस्तकमा समेटेको छु ।’

प्रकाशित : मंसिर ५, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×