१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेइजिङमा सुन्दर नेपालको चित्रण

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनको राजधानी बेइजिङस्थित प्रमुख पर्यटकीय गन्तव्य समर प्यालेस (गृष्म प्रासाद)मा बिहीबारदेखि २ साता लामो ‘सुन्दर नेपाल’ विषयक फोटो प्रदर्शनी सुरु भएको छ।

बेइजिङमा सुन्दर नेपालको चित्रण

नेपालका प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य झल्किने करिब ६० वटा फोटोहरु आसन्न भ्रमण वर्षलाई लक्षित गरेर प्रदर्शन गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिसन उपप्रमुख सुशील कुमार लम्सालले बताए।


प्रदर्शनीस्थल सन् १६४४ देखि १९११ सम्म तत्कालीन छिङ् राजवंशकालमा गृष्म ऋतुमा राजपरिवारले विश्राम गर्ने दरबारलाई रोजिएको छ। लम्सालले भने, ‘प्रत्येक दिन हजारौँ चिनियाँ तथा अन्य देशका पर्यटकले भ्रमण गर्ने गृष्म दरबारको खुन्मिङ तालको किनारैकिनार राखिएको छ।’


नेपालको परम्परा एवं कलासंस्कृति, जनजीवन, प्राकृतिक छटा र अनुपम धरोहर झल्काउने तस्बिरहरुले नेपाल भ्रमणअघि चिनियाँ पर्यटकमाझ नेपाललाई अझ राम्रोसँग चिनाउन सघाउने उनले बताए।


नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे उजागर गर्नका लागि प्रदर्शनीमा कुमारी, पोखरा, हिमाल, तरेली परेका पहाड, ताल, काठमाडौँ उपत्यकाका दरबार परिसर, वन्यजन्तु, साहसिक खेल, चराचुरुङ्गी, नेपाली खाना आदि फोटोहरु राखिएको छ।


नेपाली दूतावाससँग फोटो प्रदर्शनीको लागि समन्वय गरेको वैदेशिक मित्रताका लागि बेइजिङ जनसंघका उपाध्यक्ष सु पनशङले फोटो प्रदर्शनीबाट चिनियाँ जनताले नेपालबारे धेरै कुरा थाहा पाउनसक्ने बताए। उनले भने, ‘प्रदर्शनीले नेपालबारेको चिनियाँ बुझाईलाई थप फराकिलो बनाउनेछ।’


बेइजिङका प्रमुख पर्यटकीय स्थलहरूमा ग्रेटवाल, थ्यानआनमन जत्तिकै समर प्यालेस पनि लोकप्रिय गन्तव्य मानिन्छ। फोटो प्रदर्शनी आगामी नोभेम्बर ७ तारिखसम्म चल्नेछ।

प्रकाशित : कार्तिक ७, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?