कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ल्हासास्थित महावाणिज्य दूतावासको भवन तयार

लक्ष्मी लम्साल

बेइजिङ — चीनको तिब्बत स्वशासित क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासको नयाँ भवन एक वर्षमा निर्माण सम्पन्न भएको छ।

ल्हासास्थित महावाणिज्य दूतावासको भवन तयार

गत वर्ष सेप्टेम्बर ७ तारिखमा ल्हासामा भएको चौथो अन्तर्राष्ट्रिय चीन तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पोमा सहभागी हुन आएका सभामुख कृष्णबहादुर महराले भवन निर्माणको शिलान्यास गरेका थिए। शुक्रबार एउटा कार्यक्रम गरी तिब्बतले भवन निर्माणको कार्य पूरा भएको जनाएको हो ।


परिसरभित्र भिसा भवन, आवासीय भवन, व्यापारिक भवन, पानी तान्ने भवन, ग्यारेज लगायत ६ वटा एकतलेदेखि तीनतलेसम्मका भवनहरू रहेका छन्। भवन निर्माणको अवधिभर वाणिज्य दूतावासको कार्यालय होटलमा राखेर सञ्चालन गरिएको छ। भवनभित्रका केही फर्निचरहरू जोड्न बाँकी रहेकाले करीब एक महिनाभित्रै दूतावासको कार्यालय नयाँ भवनमा सर्ने महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए।


यसअघि सन् १९७८ मा बनेको ४० वर्ष पुरानो एकतले टायलको घर जीर्ण भएपछि केन्द्र सरकारको अनुमतिमा तिब्बतले नै नयाँ भवनहरू निर्माण गरिदिएको हो। निर्मित संरचनाहरू नेपाली डिजाइनका छन् ।


चीन आफैंले करीब ४०/४५ करोड रुपैयाँ लागत खर्च व्यहोरेपनि डिजाइन र नेपालीपन झल्काउनमा नेपालको हात रहेको कार्कीले बताए । भवनको हालको स्वरुपमा रंग, गजुर र मौलिकता झल्काउनका लागि सहयोग गरेको बताउँदै कार्कीले थपे, ‘नेपालको परराष्ट्र मन्त्रालयको भवन विभागका इन्जिनयरहरूले नेपालीपन झल्किने गरी नक्सा बनाउन योगदान गरेका छन्।’


सन् २०१७ मा ल्हासाका उपमेयर चाओ थाओ र कार्कीले महावाणिज्य दूतावासको पुनःनिर्माण तथा भवन निर्माणसम्बन्धी परियोजनामा हस्ताक्षर गरेपछि पुराना भवनहरू निर्माणको प्रक्रियाले गति लिएको थियो। छिट्टै भवन हस्तान्तरण समारोह गरेपछि भवनमा प्रवेश गर्ने साइत जुराइने कार्कीले सुनाए ।


निर्माण समापन समारोहमा बोल्दै तिब्बतकी विदेश मामिला कार्यालयकी निर्देशक पाइ मान याङचोङले चीन र नेपाल नदी र पहाड तथा दाँत र ओठ जोडिएजस्तै असल छिमेकी भएको बताइन् । उनले भनिन्, ‘नेपाल र चीन असल छिमेकी, असल साझेदार, असल साथी हुन् । ’


चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षमा दुवै देशबीचको सम्बन्ध स्वस्थ तथा स्थिर रूपमा विकसित भएको उनको भनाइ थियो। मैत्रीपूर्ण आदान प्रदान तथा आपसी विश्वासको स्तरपनि निकै बलियो बनेको बताउँदै उनले थपिन्, ‘आर्थिक तथा व्यापारिक वातावरण अझै उन्नत भएको छ, मानवीय आदानप्रदान विस्तृत हुँदै गएको छ।’


महावाणिज्यदूत कार्कीले नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी तथा तिब्बत सरकारलाई सामाजिक तथा आर्थिक विकासमा प्राप्त उपलब्धीप्रति बधाइ दिए । ‘ल्हासाको महावाणिज्य दूतावासको नयाँ भवन निर्माण परियोजना निकै महत्वपूर्ण काम थियो, कार्कीले भने’, ‘नयाँ संरचना तथा उपकरणको प्रयोगले महावाणिज्य दूतावासको काममा चुस्तता आउनेछ।’


महावाणिज्यदूत कार्कीले तिब्बतमा निर्मित नवनिर्मित भवन हस्तारण भएपछि नेपाल सरकार र नेपालीले चीनले दिएको उपहारको रूपमा यसलाई आत्मीयताका साथ सम्झिरहने बताए।

प्रकाशित : आश्विन १३, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?