हरियाणामा नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

नयाँदिल्ली — नयाँदिल्लीनजिक फरिदाबादको होटलमा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु भएकामा अर्घाखाँची मालारानी-५ का १९ वर्षीय विवश कुँवर हुन् । उनी दुई साताअघि मात्रै फरिदाबाद आएका थिए ।

उक्त होटलमा उनले काम गर्न थालेको १२ दिन मात्र भएको थियो । यसअघि, उनी दुई वर्ष त्यही होटलमा काम गरी नेपाल फर्केका थिए । पारिवारिक स्रोतका अनुसार स्वदेशमा काम नपाएपछि उनी मामाको सम्पर्कबाट पुन: फरिदाबाद फर्किएका थिए । उनका मामा सोही होटलमा २० वर्षदेखि सिनियर कुकका रूपमा काम गर्दै आएका छन् ।

काम सुरु गरेको केही दिनमै विवशलाई सामान्य ज्वरो आएको थियो । ज्वरो आएपछि उनी केही दिनदेखि होटलको माथिल्लो तल्लामा कर्मचारी सुत्ने कोठामा आराम गर्दै आएका थिए । बुधबार साँझ होटलको छतमा निस्केका बेला उनी चक्कर आएर लडेका थिए । उनलाई तत्कालै फरिदाबादस्थित मेट्रो अस्पताल पुर्‍याइएको थियो । त्यहाँ चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

होटलमै कार्यरत रहेका बेला मृत्यु भएको हुँदा विवशको परिवारलाई क्षतिपूर्ति दिलाउन प्रवासी नेपालीहरू र होटल व्यवस्थापनबीच छलफल भएका छ । छलफलपछि होटल व्यवस्थापनले शव लैजानका लागि एम्बुलेन्स र काजकिरिया खर्चका अतिरिक्त
परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन र मृतककी आमालाई आजीवन मासिक ३ हजार भारु दिने सहमति जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

क्याम्पस प्रमुख नेकपाबाट निलम्बित

कान्तिपुर संवाददाता

इलाम — महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंलाई  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशनविपरीत क्याम्पस सञ्चालन गरेको भन्दै अन्तरिम विधान २०७५ बमोजिम निष्कासन गरेको पार्टीले जनाएको छ ।

जिल्ला कार्यालयको बिहीबार बसेको बैठकले गुरागाईंलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । कार्यालय सचिव नवराज शंकरद्वारा जारी विज्ञप्तिमा पार्टीको अन्तरिम विधानबमोजिम बुँदा नम्बर १, ३ र ५ मा उल्लेखित कार्य गरेको र त्यससम्बन्धी स्पष्टीकरण माग गरिएकामा बेवास्ता गरिएको भन्दै गुरागाईंलाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाइएको छ ।

क्याम्पस सञ्चालनका क्रममा केही समयदेखि क्याम्पस प्रमुखको काम कारबाहीप्रति पार्टीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । क्याम्पसका विषयमा बाहिर आएका समाचारलाई खण्डन गर्दै विज्ञप्ति निकाल्न सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितले यसअघि कार्यकक्षमा नै दबाब दिएका थिए । सञ्चालक समिति अध्यक्ष कुँवरले काठमाडौंमा बसेर क्याम्पसबाट नियमित सुविधा लिइरहेको विषयसहित क्याम्पसका विभिन्न गतिविधिका खबर बाहिरिएका थिए ।

त्यसैगरी पार्टीको इलाम जिल्ला कार्यालयले पनि क्याम्पस प्रमुख गुरागाईंलाई बाहिरिएका समाचारलाई लिएर स्पष्टीकरण मागेको थियो । पार्टीले ‘पार्टीको नेतृत्वलाई नै मुछेर भ्रामक समाचार किन दिएको ?’ भन्ने प्रश्नसहित त्यसबारे पार्टीमा स्पष्टीकरण बुझाउन भनेको थियो । गुरागाईं नेकपाका सदस्य हुन् । उनी २०७४ कात्तिकमा क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्