१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एनआरएनए अध्यक्षमा आचार्यको पनि उम्मेदवारी

नवीन पोखरेल

(लन्डन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्  । यसअघि संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्  ।

एनआरएनए अध्यक्षमा आचार्यको पनि उम्मेदवारी

आचार्य पनि संघका वर्तमान उपाध्यक्ष हुन् । उनले कर्मथलो बेलायतको अल्डरसटमा मंगलबार आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएलाई सबै सदस्यहरूको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको आचार्यले बताए ।

आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिबद्धताका साथ अगाडि बढाउन ‘भिजनरी’ नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प गरेका छन् । उनले १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरे ।

प्रतिबद्धता पत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने उल्लेख छ । आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाको समस्या बुझ्न र समाधानको पहल गर्न हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरूको सञ्जाल बनाई उनीहरूसँग रहेको सीप, स्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्नेसमेत प्रतिबद्धता गरे ।

आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरूप निष्कर्षमा पुर्‍याउन निर्णायक पहल गर्ने बताए । उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलब्ध गराउनसमेत पहल गर्ने बताए । ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने, ‘समान पेन्सनका साथै आफ्नो वयष्क छोराछोरीहरूलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरूको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरूको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरूसँग मैले पहल गर्नेछु ।’

उनले गैरआवासीय नेपाली लगानीकर्ताहरूबाहेक एनआरएनएका सदस्यहरूको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए । ‘नेपालका सबै नियोगहरूमा एनआरएन एएनसीसीहरूलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्नेछु,’ उनले भने ।

एनआरएनए र नेपाल सरकारबीच १० अर्ब रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमति पत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए । परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन सेन्टर’ लाई प्रभावकारी बनाउन संघका तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत वर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन् । संघअन्तर्गत गत वर्ष स्थापना भएको नेपाल पलिसी इन्टिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरी थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमी स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए ।

संघले बनाएको ‘भिजन २०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणबद्ध कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत आचार्यको छ । दुई वर्षभित्र सदस्य संख्या कम्तीमा एक लाख पुर्‍याउन विशेष अभियान सञ्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरूद्वारा गरिने कल्याणकारी कामहरू एनआरएनए फाउन्डेसनमार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए ।
‘एनसीसी तथा आईसीसीमा नेतृत्व चुन्न अनलाइन भोटिङ प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,’ उनले भने, विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता र संस्कृतिसँग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछ ।’ ‘भाषा जोगाऔं, जोगाऔं संस्कृति’ भन्ने मूल सन्देशसहित नेपाली भाषाको प्रवर्द्धनका लागि प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्ने, विदेशमा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीहरूलाई भाषाप्रति रुचि जगाउन ’घरभित्रै बोलौं नेपाली अभियान’ सञ्चालन गर्ने लगायतका कार्यक्रमसमेत उनले सार्वजनिक गरेका छन् ।

आचार्यले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सबै एनसीसीहरूलाई प्रोत्साहित गर्ने, संघका तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटन दूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने बताएका छन् । आचार्यले आफ्नो नेतृत्वमा नेपाल पत्रकार महासंघ बेलायत शाखासँग सहकार्य गर्दै एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतबाट स्थापना भएको स्मरण गर्दै दुई वर्षभित्र उक्त पुरस्कारको रकम दोब्बर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवर्द्धन र प्रोत्साहन गर्न आगामी एक वर्षभित्र केन्द्रीयस्तरमा प्रतिष्ठित ‘एनआरएनए भाषा, साहित्य पुरस्कार कोष’ स्थापना गर्न पहल गर्ने समेत बताएका छन् । उनले एनआरएनलाई नयाँ शिराबाट अगाडि बढाउने बताउँदै अब दुई वर्षभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरूको अपनत्व महसुस हुने किसिमको साझा चौतारीका रूपमा संघको विकास गरिने दाबी गरे । संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने तय भएको छ ।

प्रकाशित : आश्विन ९, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?