१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कर्मथलोबाटै आचार्यले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघका वर्तमान उपाध्यक्ष आचार्यले कर्मथलो बेलायतको अल्डरसटस्थित अम्पायर हलमा मंगलबार २०१९–२०२१ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

कर्मथलोबाटै आचार्यले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकमा पुगेर राय तथा सुझाव लिएपछि संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले जनाए। संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने तय भएको छ ।


उम्मेदवारी घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन 'भिजनरी' नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प गरेका छन्।


उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरे । आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने उल्लेख छ ।


त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, स्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।


उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पुर्‍याउन निर्णायक पहल गर्ने बताए। उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन्।


‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने । नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।


परराष्ट्र मन्त्रालयले स्थापना गरेको 'ब्रेन गेन सेन्टर' लाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गतवर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्।


संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड' अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यको छ ।

प्रकाशित : आश्विन ८, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?