कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेइजिङ विश्व बागवानी एक्स्पोमा 'नेपाल दिवस'

लक्ष्मी लम्साल

बेइजिङ — हरित जीवन, सुन्दर घर भन्ने नाराका साथ बेइजिङमा जारी विश्व बागवानी एक्स्पो अन्तर्गत लुम्बिनी बगैंचामा आइतबार ‘नेपाल दिवस’ मनाइएको छ।

बेइजिङ विश्व बागवानी एक्स्पोमा 'नेपाल दिवस'

परम्परागत कुमारी नृत्यबाट सुरू भएको नेपाल दिवस कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनको विकास र करोडौं जनतालाई गरिबीको रेखामुनिबाट उकास्ने चिनियाँ प्रगतिप्रति छिमेकी भएको नाताले नेपालको तर्फबाट खुशी व्यक्त गरे ।

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको शुभकामना दिँदै उनले दुवै देशबाट भैरहेका उच्चस्तरीय भ्रमणले अन्तरदेशीय सम्बन्ध नयाँ उचाइ पुगेको बताए। नेपालले अर्को वर्ष नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेकाले चीनबाट धेरै भन्दा धेरै पर्यटकलाई नेपाल भ्रमणमा जान पनि उनले अनुरोध गरे।


विश्व बागवानी एक्स्पो–२०१९ गत वैशाख १६ अर्थात् अप्रिल २९ देखि सुरू भएको हो । १ सय ६२ दिनसम्म चल्ने यो एक्स्पो अक्टोबर असोज २० मा सम्पन्न हुनेछ। यस अवधिमा २५०० वटा श्रृंखलाबद्ध सांस्कृतिक गतिविधि भैरहेका छन्, त्यसमध्ये एउटा कार्यक्रम नेपालले पनि गरेको हो।

गत मध्य वैशाखमा चीनमा भएको दोस्रो बेल्ट एण्ड रोड शिखर सम्मेलनमा सहभागी हुन आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचाको उद्घाटन गरेकी थिइन्। विश्वका १ सय १० मुलुक तथा क्षेत्रका संगठनले एक्स्पोमा भाग लिएका छन्। एक्स्पोभित्र ८० वटा बगैंचा पेभेलियन र घरहरू बनाइएका छन् ।


चीनको खुनमिन विश्व बागवानी एक्स्पो, सांघाई विश्व एक्स्पो र पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोपछि चीनले आयोजना गरेको यो सबैभन्दा ठूलो एक्स्पो मानिन्छ।


गत अप्रिल अन्तिम साता बेइजिङमा भएको बीआरआई दोस्रो शिखर सहकार्य मञ्चसँगै बागवानी एक्स्पो उद्घाटन गरिएको थियो । चीनको यस वर्षको घरेलु कूटनीतिमा बेइजिङ विश्व एक्स्पो पनि एक हो ।


एक्स्पोस्थल राजधानी बेइजिङ केन्द्रदेखि ७४ किमि टाढा यानछिङ जिल्लामा पर्दछ । सोही जिल्लाले सन् २०२२ बेइजिङ ओलम्पिक पनि गर्दैछ । एक्स्पोभित्र नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा लुम्बिनी शान्ति बगैंचा निर्माण गरिएको छ ।

यो पनि पढ्नुहोस्:

बेइजिङमा लुम्बिनी शान्ति बगैंचा

प्रकाशित : आश्विन ५, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?