कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानडामा आदिवासी दिवस : सेलो, धिँमेदेखि हाकुपटासीसम्मको प्रस्तुति

काठमाडौँ — जहाँ नेपाली, त्यहाँ संस्कृति । २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा आइतबार क्यानडाका नेपालीहरुले आफ्नै भेषभुषा, लोकनृत्य र संस्कृति प्रस्तुत गरे । नेप्लीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा सहरको मेडोभेलस्थित कन्जरभेसन पार्कमा नेपाली आदिवासी समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गरेको हो ।

क्यानडामा आदिवासी दिवस : सेलो, धिँमेदेखि हाकुपटासीसम्मको प्रस्तुति

एशोसिएसनले विज्ञप्तिमा जनाएअनुसार पहिलोपटक गरिएको कार्यक्रममा तामाङ, ह्योल्मो, गुरुङ, मगर, शेर्पा, नेवार, किरात लगायतका नेपाली आदिवासी जनजाति समुदायले परम्परागत गीत, नृत्य र भेषभुषासहित आ–आफ्ना सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

नेवारी धिमे बाजा, हाकुपटासी, तामाङ सेलो, स्याब्रु लगायतको प्रस्तुति लोभलाग्दो थियो । गुरुङ समुदायले राडीपाखीसहित प्रस्तुति दिएको थियो । कार्यक्रमका मुख्य पाहुना थिए, क्यानडाका फस्ट नेसन लिडर केथ म्याकक्रेडी । उनले सांस्कृतिक सहकार्यका लागि आफूहरु सदैव तयार रहेको बताए । एनआएनए क्यानडाका सभापति चिरञ्जीवी घिमिरेले पनि कार्यक्रमको प्रशंसा गरे ।

तस्बिर सौजन्य : रामकाजी मोक्तान


आदिवासी दिवसका संयोजक रश्मी थापा मगरका अनुसार अमेरिकास्थित मिचिगन युनिभर्सिटी, राजनीतिक विभागका प्राध्यापक डा. महेन्द्र लावतीसँगै जनक चेम्जोङ, सुरेन्द्र लावती, नवराज गुरुङ, चन्द्र राई, डा. हरि गुरुङ, एशोसिएसनका सभापति विरकाजी गुरुङ लगायतले आदिवासी जनजातिको विषयमा प्रकाश पारे । करिब चार सय जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न समुदायले परम्परागत नेपाली खानासमेत पस्केका थिए ।

क्यानडास्थित ह्योल्मो समाज, नेवा गुठी, मगर संघ, शेर्पा किदुग, तामाङ सोसाइटी, तमुधिं र किरात कम्युनिटी लगायतका संस्थाहरुले सहकार्य रहेको कार्यक्रमका विभिन्न सेसन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले सञ्चालन गरेका थिए ।

प्रकाशित : भाद्र ११, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?