जम्मु-कश्मीरमा तनाव : नेपालीलाई बढ्दो चिन्ता

नेपालले जम्मु-कश्मीरमा रहेका नेपालीहरुको सम्बन्धमा औपचारिक रुपमा चासो समेत प्रकट गरेको छैन
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु भने आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । गत आइतबारबाट जम्मु-कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले त्यहाँ रहेका नेपालीहरुको जनजीवन पनि कष्टकर बनेको छ । हालसम्म नेपालीहरु सुरक्षित नै रहे पनि आगामी दिनमा बढ्न सक्ने तनावले उनीहरुको चिन्ता बढाएको हो । 


जम्मु-कश्मीरमा रहेका नेपालीहरुको संख्या यकिन नभए पनि भारतस्थित प्रवासी संगठनहरुले भने मौसमी मजदुरी गर्न आउनेलाई समेत हिसाब गर्दा करीब असी हजारको हाराहारीमा रहेको बताएका छन्। ‘यकिन नभए पनि हामीहरुले बुझ्दा करीब अस्सी हजारको संख्यामा छन् भन्ने देखिएको छ,’ भारतस्थित प्रवासी एकता मञ्चको केन्द्रीय सचिवालय सदस्य (सह-कोषाध्यक्ष) नरेश घतानीले कान्तिपुरलाई बताए। जसमध्ये सबैभन्दा बढी कठुवा, साम्बा, जम्मु सहर, उद्यमपुर, कश्मीरको श्रीनगर, पहलगाम, कार्गिल, लेहलद्दाक, बारामुला, पुलवामा, गुलमोहर, छन्। तिनीहरु मजदुरी, चौकिदारी, कुक, भरिया र स-साना व्यापारलगायतका काममा संलग्न रहेको घतानीले बताए।

तीमध्ये पनि सबैभन्दा बढी श्रीनगरमा रहेको उनको भनाइ छ। त्यसैगरी जम्ममा भने पत्नीटफलगातका पर्यटकीय क्षेत्र, अख्नोर र रजौरी कुन्जमा पनि ठूला संख्यामा नेपालीहरु बस्दै आएका छन्। कार्गिल क्षेत्रमा रहेका नेपालीहरु भने भारतीय सेनाको रसदपानी बोक्नेदेखि अन्य मजदुरीको काम गर्ने गरेका छन्। त्यसैगरी कतिपयले आफ्नै फाष्टफुड व्यवसाय पनि सञ्चालन गरिरहेको घतानीले जानकारी दिए। त्यसका अतिरिक्त जम्मुमा पूर्व गोर्खा सैनिकहरुको बेग्लै बस्ती नै छ।

केन्द्र सरकारले गत सोमबार जम्मु-कश्मीरले उपभोग गर्दै आएको संविधानको धारा ३७० खारेज र धारा ३५ (क) खारेज गर्ने निर्णय गरेको थियो। त्यसको अघिल्लो दिन देखि नै त्यहाँ धारा १४४ मार्फत् निषेधाज्ञा मात्र नभएर मोबाइल, इन्टरनेट र केबुलसेवा समेत बन्द गरेको थियो। शनिबारदेखि भने जम्मुलगायतका क्षेत्रमा निषेधाज्ञा हटाइएको छ। जम्मुका कथुवा र साम्बामा शुक्रवारदेखि धारा १४४ हटाइएको थियो। यहाँ धागो, औषधि, भाँडा र खाद्य उद्योगहरु भएकाले नेपाली मजदुरहरुको बाक्लो उपस्थिति छ। पछिल्लो यी क्षेत्रमा भने जनजीवन सामान्य बन्न थालेको जम्मुबाट घतानीले कान्तिपुरलाई बताए।

तर, श्रीनगर र आसपासको क्षेत्रमा भने अझै पनि कर्फ्यु कायम छ। शुक्रबार मुस्लिमहरुको प्रार्थनाका लागि केही खुकुलो बनाइए पनि शनिबारदेखि पुनः कडाई गरिएको छ। भारतीय सञ्चारमाध्यमहरुले श्रीनगरभित्रि भाग र आसपासका क्षेत्रमा जुलुस प्रदर्शन भएको र सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुमाथि कारवाही गरेको जनाएका छन्। जसले गर्दा विशेषगरी श्रीनगर र छेउछाउको अवस्था थप तनावपूर्ण बन्दै जाने सम्भावना छ। कश्मीररमा रहेका नेपालीहरुसँग सम्पर्क नहुँदा चिन्ता बढेको घतानीले भने। ‘ईदको बेला केही सहज हुन्छ भन्ने सुनिए पनि त्यसपछि अवस्था कस्तो होला भन्ने कुराले चिन्तित बनाउन थालेको छ,' उनले भने, ‘यही अवस्था रहने हो भने त रासनपानी पनि सकिन्छ अनि फेरि केकस्तो अवस्था हुने हो। बाहिरी कुरा सुन्दा यो त चाँडै सहज होला जस्तो देखिँदैन, त्यसैले चिन्ता बढ्दै गएको छ।’

तर, जम्मु-कश्मीरमा रहेका नेपालीबारेमा अहिलेसम्म पनि नेपाल सरकारले चासो नदेखाएको प्रवासी नेपालीहरुले आश्चर्य प्रकट गरेका छन्। ‘आफ्ना नागरिकहरुका बारेमा त सरकारले चासो देखाउनुपर्ने हो, किन हो अहिलेसम्म पुरै बेवास्ता गरेको देखिन्छ,’ घतानीले भने।

हुन पनि करिव एक साता बित्न लाग्दा समेत नेपालले भने जम्मु-कश्मीरमा रहेका नेपालीहरुको सम्बन्धमा औपचारिक रुपमा चासो प्रकट गरेको छैन। तर, स्रोतका अनुसार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गत मंगलबार भाारतीय विदेश सचिव विजय गोखलेसँगको भेटमा जम्मु-कश्मीरका रहेका नेपालीहरुको सुरक्षालाई लिएर चासो व्यक्त गरेका थिए। भारतले जम्मु-कश्मीरका सम्बन्धमा लिइएको पछिल्लो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्रममा दिल्लीस्थित विदेशी नियोगका प्रमुखहरुलाई बिफ्रिङ गरेको थियो। त्यही क्रममा भारतीय विदेश सचिव गोखल र राजदूत आचार्यबीच भेट भएको थियो।

त्यसो त भारतको विदेश मन्त्रालयले समेत त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति भारतको चासो रहेको बताएको छ। बिहीबार विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले जम्मु-कश्मीरका नेपालीहरुको सुरक्षाका सम्बन्धमा कान्तिपुरले राखेको जिज्ञासामा भारत त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति गम्भीर रहेको जवाफ दिएका थिए। ‘अहिलेसम्म त्यस्तो असहज भएको जानकारी आएको छैन। तर, उनीहरुको सुरक्षाप्रति भारत सरकार गम्भीर छ,’ प्रवक्ता रविशले भने।

प्रकाशित : श्रावण २५, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

मनसुनी प्रणाली कमजोर हुँदै

रासस

काठमाडौँ — मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । 'उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन्,' मौसमविद् बासीले भनिन् ।

'यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ । कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रुपमा वर्षा हुनसक्छ,' तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् बासीको भनाइ रहेको छ ।

मौसमविद्का अनुसार न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर –प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीको शिरसम्म जनाउँछ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै सोमबार देशको धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, पूर्वी र मध्यका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्