नेपाली उत्पादनलाई ब्रिटिश अवार्ड

कान्तिपुर संवाददाता

लन्डन — नेपाली सुकुटीले खाना र पेय पदार्थको एउटा प्रतिष्ठित ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको हो ।

नेपाली उत्पादनलाई ब्रिटिश अवार्ड

एकसय भन्दा बढी देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए ।


सेफ, कुक, खानाका समीक्षक, रेष्टुरेन्ट व्यवसायी, पत्रकार, लेखक आदि गरि ५ सय जनाको निर्णायक मण्डलले उत्कृष्ट खाना छनौट गरेका थिए ।


‘ग्रेट टेस्ट अवार्डमा पहिलो पटक प्रवेश गरेर टु स्टार पाउँदा म निकै खुशी छु’ ब्राण्ड निर्देशक नेपालले भने, ‘नेपाली उत्पादनलाई बेलायती समुदायले रुचाएको प्रमाण हो यो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यसले थप हौसला मिलेको छ ।’


उक्त कम्पनीले बेलायती बजारमा वाइवाइ चाउचाउ, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, मुलाको अचार, ताइचिन चिउरा, चटपटे भुजा, ओल्ड दरबार ह्विस्की लगायत सयौं नेपाली उत्पादन विक्री वितरण गर्दै आएको छ ।


प्रतियोगिताका लागि समावेश भएका १२ हजार ७७२ उत्पादनमध्ये २०८ उत्पादनले थ्री स्टार, १३२६ ले टु स्टार र ३४०९ ले ए स्टार पाएका कम्पनीले जनाएको छ ।


निर्णायकको प्यानलमा कुक, लेखक तथा सस्टेनेवल फुड च्याम्पियन मेलिसा हेम्सले, केनी टुट, मास्टर सेफ २०१८ च्याम्पियन ओलिया हर्कुलस्, सेफ तथा खाना सम्बन्धी लेखक गिल मेलर, डिसुमका कभी थक्कर, लेखक जोर्जिना हेडन, लेखक तथा सेफ जो एड्जोन्या लगायत थिए ।

प्रकाशित : श्रावण १९, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?