३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लन्डनमा नेपाली चिया महोत्सव

लन्डन — नेपाली दूतावास लन्डनमा 'नेपाल विकास सम्मेलन-८ तथा नेपाली चिया महोत्सव" आयोजना गरिएको छ । ‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) सँगको सहकार्यमा नेपाली दूतावासले बिहीबार सो कार्यक्रम गरेको हो ।

लन्डनमा नेपाली चिया महोत्सव

कार्यक्रममा नेपालको विकासका लागि बेलायती कल्याणकारी संस्थाहरुलाई प्रोत्साहन विषयमा विभिन्न प्रस्तुतिहरु गरिएका थिए । सम्मेलनमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद मार्कस जोन्सले नेपालमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा कार्यरत ब्रिटिस संस्थाहरुको प्रशंसा गरे । उनले नेपाल ब्रिटेनको भरपर्दो मित्र भएको बताउँदै नेपालको विकासमा सघाउन बेलायत प्रतिबद्ध रहेको बताए। उनले हालै बाढीबाट नेपालमा धनजनको क्षति भएकोप्रति दु:ख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरे ।


ब्राङ्गोका संयोजक डेविड थोमसले नेपालमा काम गरिरहेका ब्रिटिस कल्याणकारी संस्थाहरु तथा अन्य संगठनहरुबीच सञ्चार, सहकार्य र आपसी सहयोग बढाउने उद्देश्यले सञ्जाल स्थापना गरिएको बताए । उनले १०० भन्दा बढी ब्रिटिस कल्याणकारी संस्थाहरु नेपालमा कार्यरत रहेकोमा ४२ वटा आफ्नो संस्थामा आबद्ध भइसकेको जनाए ।


नेपालका लागि पूर्व बेलायती राजदूत तथा ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष एन्ड्रयु स्पर्क्सले नेपालमा कार्यरत ब्रिटिस कल्याणकारी संस्थाहरुलाई बेलायती राजदूतावाससँग समन्वय गरी काम गर्न सुझाव दिए । उनले चेभनिंग स्कलरसिपजस्ता छात्रवृत्तिका लागि थप रकम छुट्याउन बेलायत सरकारलाई आग्रह पनि गरे ।


सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच जनस्तरको सम्बन्ध बलियो बनाउन बेलायत गैरसरकारी संस्थाहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले गत महिना प्रधानमन्त्री केपी ओलीको बेलायत भ्रमण निकै सफल र उपलब्धिपूर्ण रहेको दाबी गरे । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ब्रिटिस कल्याणकारी संस्थाहरुलाई आग्रह पनि गरे ।


गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्न गैरआवासीय नेपाली संघ तयार रहेको बताए ।


ब्रिटेन-नेपाल च्याम्बरका अध्यक्ष तथा पूर्वसांसद राजेन्द्र खेतानले गैरसरकारी तथा निजी क्षेत्रलाई मिलेर काम गर्न सुझाव दिए ।


कार्यक्रमको दोस्रो चरणमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली चियाका बारेमा प्रस्तुति गरेका थिए । उनले नेपाली चियाको गुणस्तर विश्वस्तरको रहेको भन्दै नेपाली चिया पीउन सबैलाई आग्रह पनि गरेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?