१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लन्डनको बसमा नेपालको पर्यटन प्रवर्द्धन 

लन्डन — विश्वमाझ लन्डनको चिनारी बनेका लन्डनका राता बसहरु यतिबेला नेपालको पर्यटन प्रवर्द्धनका सामग्रीसहित गुडिरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको लक्ष्यसहित राता बसका भित्ताहरुमा 'नेपाल लाइफटाइम एक्सपेरियन्सका पोस्टरहरु टाँसिएका छन् ।

लन्डनको बसमा नेपालको पर्यटन प्रवर्द्धन 

लन्डन सहरका विभिन्न २ दर्जन रुटमा चल्ने करिब ५० बसहरुमा यी पोस्टरहरु लगाइएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । जसमध्ये मध्य लन्डनका पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिङटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका महत्वपूर्ण क्षेत्रहरु हुंदै गुड्ने बसहरु पनि छन् । मंगलबारदेखि २ सातासम्म चल्ने यो प्रचार अभियानले करिब ४५ लाख बेलायतीहरुमाझ नेपाल भ्रमणको सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ ।


लन्डनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुको प्रचारको लागि समेत यहाँका राता बसहरु प्रभावकारी माध्यमका रुपमा रोजाइमा पर्ने गरेका छन् । लन्डन दूतावासले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनकै सिलसिलामा लन्डनका राता बसहरुमा प्रचारमूलक पोस्टरहरु राखिएको बताएको छ । यसअघि लन्डनको लर्ड्स क्रिकेट ग्राउण्ड नजिकैको सेन्ट जोन्स उड अन्डरग्राउण्ड रेल स्टेसनमा पनि नेपाल भ्रमण वर्षको यस्ता पोस्टरहरु राखिएको थियो ।


बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा एक तयारी समिति गठन गरेर दूतावासले भ्रमण वर्ष प्रवर्द्धनका विभिन्न कार्यक्रम गरिरहेको छ । दूतावासले सन् २०२० मा बेलायतबाट मात्रै १ लाख पर्यटक नेपाल भित्र्याउने आफ्नो लक्ष्य सार्वजनिक गरिसकेको छ ।


सन् २०१८ मा ६३ हजार बढी बेलायती पर्यटक नेपाल गएको जनाउँदै दूतावासले यो वर्ष ८० हजार र अर्को वर्ष १ लाख बेलायती पर्यटक नेपाल लैजाने योजना बनाएको हो ।

प्रकाशित : श्रावण २, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?