१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खाडी देशका राजदूत भन्छन्– ‘घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिए हुन्छ’

अविलम्ब टुंग्याउनुपर्छ : मानव अधिकार आयोग
होम कार्की

काठमाडौँ — खाडीस्थित नेपाली राजदूतहरूले रोजगारी गुम्ने डरले खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

खाडी देशका राजदूत भन्छन्– ‘घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिए हुन्छ’

संसदीय समितिको निर्देशनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७२ चैत २० देखि पुनः श्रमस्वीकृति बन्द गर्दा खाडीमा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश आउनबाट वञ्चित छन् । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले तीन वर्षदेखि रोकिएको पुनः श्रमस्वीकृति खोल्न ढिला भएको बताए । ‘दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति खोलिदिए हुन्छ,’ उनले भने, ‘स्पोन्सर (मालिक) ले दूतावासमै आएर प्रतिबद्धता जनाएपछि हामी जिम्मा लिन्छौं ।’


बहराइनका सबैजसो उच्च सरकारी अधिकारीको घरमा नेपाली महिला र पुरुष कार्यरत छन् । बहराइनका प्रधानमन्त्रीको घरमा काम गर्दै आएकी कामदारसमेत बिदामा आएपछि फर्किन पाइनन् । ‘ओहदाको प्रमाणपत्र बुझाउन जाँदा प्रधानमन्त्रीले आफूले छोरीजस्तै गरी राखेको कामदार रोकिएको विषय उठाउनुभयो,’ उनले भने, ‘मैले खुलाउने प्रयास हुँदै छ भन्नुपर्‍यो ।’


बहराइनका सबैजसो उच्च सरकारी अधिकारीको घरमा नेपाली महिला र पुरुष कार्यरत छन् । त्यहाँका प्रधानमन्त्रीको घरमा काम गर्दै आएकी कामदारसमेत बिदामा आएपछि फर्किन पाइनन् ।


घर फिर्न नपाएका घरेलु कामदार हरेक महिनाजसो नेपाली दूतावासमा संगठित भएर ज्ञापनपत्र बुझाउन जाने गरेका छन् । केही साताअघि कुवेतस्थित नेपाली दूतावासमा उनीहरूले आफूहरू बिदामा गएर फर्किन पाउनुपर्ने भन्दै राजदूत दुर्गाप्रसाद भण्डारीको ध्यानाकर्षण गराएका थिए । ‘समस्यामा परेर नेपाल जान्छु भन्दै आउने घरेलु कामदार पनि छन्, नेपाल गएपछि आउन पाइन्न भन्दै आउने पनि छन्,’ भण्डारीले कान्तिपुरसँग भने, ‘यो विषयलाई एउटै टोकरीमा राखेर हेर्न मिल्दैन । नीति निर्माताले परिस्थितिलाई आकलन गरेर उपयुक्त निर्णय लिन जरुरी छ ।’


दूतावासहरूले आफ्नो मासिक प्रतिवेदनमा निरन्तर घरेलु कामदार स्वदेश फिर्न नपाउँदा भइरहेको समस्याबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराउँदै आएका छन् । पुनः श्रमस्वीकृति वा वैधानिकता दिने कार्य बन्द गर्नुअघि दूतावासमा स्पोन्सरले सुरक्षाका लागि भन्दै बैंक धरौटी राख्ने व्यवस्था गरिएको थियो । ‘जुन घरमा काम गर्ने हो, त्यही स्पोन्सरले दूतावासमा धरौटी रकम जम्मा गर्ने व्यवस्था थियो, धरौटी दिएपछि हामीले घरेलु कामदारलाई पत्र दिने गरेका थियौं, त्यही आधारमा विभागबाट पुनः श्रमस्वीकृति वा वैधानिकता पाउने स्थिति थियो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘पुनः श्रमस्वीकृति बन्द भएपछि दूतावासको यो अभ्यास पनि बन्द भयो ।’


उनले खुसीका साथ पुरानै स्पोन्सरको घरमा काम गर्न आउने कामदारलाई पुनः श्रमस्वीकृति दिनुपर्ने बताइन् । ‘दैनिकजसो यहाँ कार्यरत घरेलु कामदारले कहिले खुल्छ भन्दै सोधिरहेका हुन्छन्, उनीहरूलाई दिने ठोस जवाफ हामीसँग छैन,’ उनले भनिन्, ‘नयाँको हकमा दुई देशबीच श्रम सम्झौता भएपछि मात्रै खोल्न उपयुक्त हुन्छ । पुरानोको हकमा दूतावासको जिम्मेवारीमा खोलिदिनुपर्छ ।’


साउदी अरब र कतारमा महिलाभन्दा पुरुष कामदार बढी छन् । ‘घर गएर आउन चाहनेहरू दूतावासमा धाइरहेका छन्, उनीहरू आफ्नै जिम्मेवारीमा आउन चाहन्छन्, यस्तोमा महिला छैनन्, पुरुष मात्रै आउँछन्, आफ्नै जिम्मेवारीमा आउने लिखित निवेदन दिएपछि हामीले पत्र दिने गरेका छौं,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘त्यो पत्र लिएर गएपछि उनीहरू आउँछन् कि आउँदैनन् भन्ने हाम्रो जानकारीमा आउँदैन ।’


घर बिदामा आएर पुनः त्यही रोजगारदातासँग काम गर्न पाऊँ भन्दै वैदेशिक रोजगार विभागमा पुगेका झन्डै एक हजार घरेलु कामदारले पुनः श्रमस्वीकृति पाएका छैनन् । ‘२० वर्षसम्म एउटै घरमा काम गर्नेहरू पनि छन्, उनीहरू आफ्नो रोजगारदाता, काम र तलबप्रति सन्तुष्ट भएपछि नरोक्दा हुन्थ्यो,’ सुन्दासले भने, ‘असुरक्षित भएमा कोही पनि त्यही रोजगारदातासँग काम गर्न आउँदैन ।’


राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकले घरेलु कामदार निर्वाध रूपमा आफ्नो घर आउन पाउनुपर्ने विषयलाई सरकारले अविलम्ब टुंग्याउनुपर्ने बताए । ‘घर फिर्न नपाएको विषयमा मानव अधिकार आयोगमा पनि उजुरी परेको छ, यसबारे हामीले श्रम मन्त्रालयलाई निरन्तर सोधिरहेका छौं,’ पाठकले कान्तिपुरसँग भने, ‘उनीहरूलाई पुनः श्रमस्वीकृति दिन सरकारलाई किन अप्ठेरो परेको हो, यसमा हामी छलफल गर्न तयार छौं । घरेलु कामदारलाई परिवारसँग पुनर्मिलन हुनबाट वञ्चित गरिनु न्यायसंगत होइन । परिवार भेट्न पाउने हकको हनन हो ।’

प्रकाशित : असार २३, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?