कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीको समस्या सुन्दै दूतावास

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीमा धेरै समस्या देखिएको गुनासो आएपछि दूतावासले विद्यार्थीहरुको समस्या बुझ्ने पहल सुरु गरेको छ ।

विद्यार्थीको समस्या सुन्दै दूतावास

सामाजिक सञ्जाल तथा समाचारमाध्यमबाट अस्ट्रेलियाका विद्यार्थीहरुले समस्या भोग्नु परेको गुनासो आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले विद्यार्थीसँग अन्तरक्रिया गर्न सुरु गरेको हो ।

कार्यक्रमबाट विद्यार्थीहरुबाटै उनीहरुको वास्तविक समस्याको पहिचान हुने र त्यसलाई बिभिन्न तहबाट समाधान गर्नका लागि आग्रह र पहल गरिने दूतावासको दाबी छ ।

विद्यार्थीहरुको वास्तविक समस्या के हो ? यसको निराकारणको उपाय के हुनसक्छ भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको अस्ट्रेलियाका लागि नेपालकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाको भनाई छ । दूतावासले विद्यार्थीको समस्या समाधानका लागि गर्नसक्ने सबै सहयोग गर्ने नभए यहाँ देखिएका समस्याहरुलाई पहिचान गरेर परराष्ट्र मन्त्रालय अन्तरगत विभिन्न सरोकारवाला निकायहरुमा पठाइने उनको भनाई छ ।

सापकोटाले यदि अस्ट्रेलियामा रहेका शैक्षिक निकायहरुबाट पनि केही समस्या भएको भए त्यसका लागि समेत दूतावासले छलफलमार्फत समस्याको समाधान निकाल्ने प्रयास गर्ने सुनाइन् । ‘विद्यार्थी संख्या झण्डै ४० हजार भएको सन्दर्भमा उनीहरुको कुनै समस्या भए त्यसलाई कसरी हल गर्न सकिन्छ भन्ने सरकारी निर्णय अनुसार नै यो कार्यक्रम सुरु गरिएको हो,’ सापकोटाले कान्तिपुरसँग भनिन् ।

यही कार्यक्रम अन्तरगत दूतावास र अवैतनिक वाणिज्य दूतावासले एनआरएनसँग समन्वय गरेर दक्षिण अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुसँग पहिलोपटक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रमको उद्देश्यकै बारेमा आफूहरुलाई प्रष्ट नभएको बताएका थिए ।

उनीहरुले दूतावास आफ्नो समस्या सुन्न आएको भए पनि दूतावासलाई आफूले के प्रश्न सोध्ने र दूतावासबाट के अपेक्षा गर्ने त्यसबारेमा कुनै जानकारी नै नभएको बताएका थिए । यसका साथै दूतावासले नेपाल सरकारमार्फत विद्यार्थीलाई अस्ट्रेलिया ल्याउने कन्सल्टेन्सीहरुलाई कडा नियमन गर्नुपर्ने आवाज समेत उठाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुमा पछिल्लो समयमा देखिदैँ आएको मानसिक समस्या, उनीहरुलाई सल्लाह सुझाव दिने भरपर्दो निकायको अभाव, विभिन्न कारणले ठगिने लगायतका समस्या राख्दै दूतावासले यस विषयमा गम्भिर हुनुपर्ने बताएका थिए । उनीहरुले दूतावास विद्यार्थीहरुको आफ्नै हो भन्ने भावनाको विकास हुने किसिमका कार्यक्रमहरु गर्न समेत सुझाव दिएका थिए । यसका साथै अस्ट्रेलिया अध्ययन गर्न आउनुअघि नै विद्यार्थीहरुलाई यहाँको बारेमा जानकारी दिने व्यवस्था मिलाउन पनि सुझाएका थिए ।

कार्यवाहक राजदूत सापकोटा, तृतीय सचिव यादव कोइराला, अवैतनिक वाणिज्यदूत दीपक धमला र एनआरएन उपाध्यक्ष अशोक केसीले विद्यार्थीहरुका प्रश्नको उत्तर दिएका थिए । सापकोटाले दूतावास विद्यार्थीहरुको आफ्नै भएकाले केही समस्या परे सहयोगका लागि तयार रहेको बताएकी थिइन् । उनले विद्यार्थीहरुबाट आएका समस्यालाई नेपाल सरकारलाई पठाएर नीतिगत रुपमै कार्यन्वयनमा ल्याउन पहल गर्ने आश्वासन दिएकी थिइन् ।

प्रकाशित : असार ७, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?