कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपाललाई दुख दिने भारतकाे कुनै मनसाय हुँदैन : याेगी आदित्यनाथ

काठमाडौँ — भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीआदित्यनाथले नेपालीलाई दुख दिने भारतको कुनै मनसाय नहुने बताएका छन्। उनले नेपाल भारत सम्बन्ध धर्म संस्कृतिसँग जोडिएको भन्दै कुनै एक पलले सदियौ‌ंको सम्बन्ध नबिग्रने बताए ।

नेपाललाई दुख दिने भारतकाे कुनै मनसाय हुँदैन : याेगी आदित्यनाथ

नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालीहरुलाई भारत आवत-जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफूले भारतको केन्द्र सरकारसँग आग्रह गरेको समेत जानकारी दिए । 'सिमानाका नेपालीहरुले भारतीय पक्षबाट कहिलेकाहीँ दुःख पाउने गरेको मैले सुनेको छु । अब त्यसो हुनु हुँदैन, हाम्रो सदियाै देखिको सम्बन्ध अझै सुमधुर हुनु जरुरी छ,' उनले भने।


फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाली पक्षलाई चेकजाँचका नाममा दुःख नदिन मुख्यमन्त्री योगीसँग आग्रह गरे । जवाफमा त्यसकालागि भारतीय सुरक्षाकर्मीलाई आफूले निर्देशन दिइसकेको योगीले जानकारी दिए । यस्तै आफै समेत भारततर्फ सिमाको अनुगमन गर्न जाने तयारिमा रहेको उनले बताए ।


केही व्यक्तिहरुले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै उनले त्यसतर्फ भने दुवै पक्ष सजग हुनुपर्नेमा जोड दिए । उनले भने, 'लागूऔषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्नेहरु सीमा क्षेत्रमा सक्रिय छन्, त्यतातर्फ दुवै मुलुकले निगरानी गर्नु पर्छ ।'


आफूहरुले सधैं नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको भन्दै मुख्यमन्त्री आदित्यनाथले नेपाल सरकारको 'समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा भारत सहयोगी बन्ने समेत बताए ।


नेपालीको स्वाभिमान विश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधीन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै उनले प्रशंसा समेत गरे । यस्तै नेपालीको धर्म संस्कृति समेत वैश्विक पहिचान भएको उनले बताए ।


उनले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिणतर्फका नागरिक समेत नेपाल जाने गरेको आफूलाई जानकारीमा आएको बताउँदै धार्मिक पर्यटनमा विश्वलाई नेपालले तान्न सक्नु पर्नेमा जोड दिए ।


विवाह पञ्चमीको अवसरमा जनकपुरको भ्रमण गरेको स्मरण गर्दै उनले न्यानो आतिथ्यताको लागि नेपाल सरकार र नेपालीहरुप्रति कृतज्ञता समेत व्यक्त गरे । मुख्यमन्त्री योगीले छिटै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा संचालनको तयारी भएको समेत जानकारी दिए ।

प्रकाशित : असार ५, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?