न्युजिल्यान्डमा सगरमाथा दिवस

नारायण खडका

अस्ट्रेलिया — न्युजिल्यान्डको संसद् भवनमा पहिलोपटक सगरमाथा दिवस मनाइएको छ । न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो पाइला राखेको सम्झना स्वरूप हरेक वर्ष न्युजिल्यान्डमा ‘एभरेस्ट डे’ मनाइने गरिन्छ ।


संसद् भवनमा आयोजना गरिएको कार्यक्रममा न्युजिल्यान्डका मन्त्री, सांसदहरूका साथै एडमन्ड हिलारीकी श्रीमतीको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा इथ्निक मन्त्री जेनी सालेसा, अन्डर सेक्रेटरी माइकल उड, सांसदहरू डङन वेब, मेलिसा ली, सिमिओन ब्राउन, प्रियंका राधाकृष्णनका साथै न्युजिल्यान्डमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । हरेक वर्ष प्रवासी नेपालीको संगठन एनआरएनले यो दिवस मनाउने गरेको भए पनि यस वर्ष नेप्लिज सोसाइटी अफ वेलिङटनको सक्रियतामा संसद् भवनमै पहिलोपटक आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रमिल अधिकारीले जानकारी दिए ।


कार्यक्रममा एडमन्ड हिलारीकी श्रीमती जुन हिलारीको उपस्थितिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । प्रायः सबै नेपाली कार्यक्रममा उपस्थिति जनाउने उनले नेपाल आफूलाई दोस्रो घर लाग्ने बताउँदै कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा मन्त्री सालेसाले सगरमाथाको देशमा जन्मिएका नेपालीहरू भाग्यमानी भएको बताउँदै यस्ता कार्यक्रमले नेपाल र नेपालीको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएकी थिइन् ।


कार्यक्रममा नेपाल र न्युजिल्यान्डका साथै अन्य देशका व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए । न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष दिनेश खडकाले यस कार्यक्रमले न्युजिल्यान्डमा नेपालीहरूको पहिचानलाई अझ फराकिलो बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनसमेत हुने बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा ग्यास उत्सर्जन बढ्दो

नारायण खडका

(अस्ट्रेलिया) — अस्ट्रेलियामा हरित गृृह ग्यास उत्सर्जनमा गत वर्षको भन्दा वृद्धि भएको छ । अस्ट्रेलियाली सरकारको नयाँ तथ्यांकअनुसार वायु प्रदूषणमा मुख्य कारक रूपमा मानिएको हरित गृह ग्यास उत्सर्जन गतवर्षको भन्दा ०.७ प्रतिशतले वृद्धि भएको हो । 

अस्ट्रेलिया सरकारले हरेक ३ महिनामा ग्यास उत्सर्जनसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । बिहीबार सार्वजनिक तथ्यांकअनुसार हरित गृह ग्यास उत्सर्जन वृद्धि हुनुमा डिजेल प्रयोगमा वृद्धि, प्राकृतिक ग्यास निर्यात, धातु तथा कोइला उत्पादनमा वृद्धि मुख्य कारक रहेको उल्लेख गरिएको छ । वातावरण तथा ऊर्जा विभागका अनुसार हरित गृह ग्यास उत्सर्जनमा विद्युत् क्षेत्रको ३३.२ प्रतिशत, यातायातको १९.९ प्रतिशत, कृषि क्षेत्रको १२.९ प्रतिशत र अन्य विद्युतीय स्रोतको १९.१ प्रतिशत योगदान छ । ऊर्जामन्त्री एङग्स टेलरले तथ्यांक सार्वजनिक गर्दै जाडोयाममा मानिसहरुले बढी ऊर्जा खपत गर्ने भएकाले पनि ग्यास उत्सर्जनमा वृद्धि भएको जनाए ।

अस्ट्रेलियाले केही समयअघि कार्बनमा लगाउँदै आएको कर हटाएपछि यसको थप वृद्धि भएको हो । मन्त्री टेलरले प्राकृतिक ग्यास निर्यातका कारण तत्काल हरित गृह ग्यास उत्सर्जन बढेको देखिए पनि विश्वव्यापी रूपमा यसले अस्ट्रेलियाको २७ प्रतिशत उत्सर्जन कम गर्न मद्दत पुर्‍याएको दाबी गरे । विश्वव्यापी उत्सर्जन कम गर्न सहयोग पुर्‍याइरहेको प्राकृतिक ग्यासको निर्यात नहटाउने पक्षमा सरकार रहेको उनको भनाइ छ ।

अस्ट्रेलियामा केही साताअघिको निर्वाचनमा समेत वातावरण प्रदूषणसम्बन्धी विषय मुख्य एजेन्डा बनेको थियो । सत्तारूढ दल लिबरल र विपक्षी दल लेबरले समेत यसलाई प्रमुख एजेन्डाका रूपमा उठाएका थिए ।

वातावरण विषयलाई नै लिएर बि्रसबनमा करोडौं डलरमा बन्न लागेको अदानी कोल माइन पनि विवादमा अाइरहेको छ । अस्ट्रेलियामा ठूलो संख्यामा कोल माइनको खानी उत्खनन् गरेर विद्युत् निकाल्ने गरिएको छ । अस्ट्रेलियाले वातावरण प्रदूषण कम गर्नका लागि नै सोलारलगायतका प्राकृतिक स्रोतमा बढी प्राथमिकता दिन ठूलो मात्रामा आमजनतालाई आर्थिक लगायतका सहुलियत दिने गरेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ २२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×