१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्वाचन मिति तय नहुँदै उम्मेदवारी घोषणा

नारायण खड्का

अष्ट्रेलिया — निर्वाचन कहिले, कसरी र कुन दिने हुने सार्वजनिक नभइरहेको अवस्थामा अष्ट्रेलियामा भने एनआरएनए निर्वाचनमा उम्मेदवारी दिनेको लहर चलेको छ । 

निर्वाचन मिति तय नहुँदै उम्मेदवारी घोषणा

दुई वर्षे कार्यकालका लागि एनआरएनए अष्ट्रेलियाले निर्वाचनबाट कार्यसमिति चयन गर्ने गरेको छ । वर्तमान कार्यसमितिले मुख्य निर्वाचन समिति छनोट गरेको बताएको भएपनि अहिलेसम्म कुन महिनामा र कसरी निर्वाचन सम्पन्न गर्ने बारेमा कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । तर हालसम्म अध्यक्ष पदका लागि तीनजनाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य पदहरुमा समेत हरेक दिन उम्मेदवारी दिने क्रम बढ्दो छ । अहिलेसम्म अष्ट्रेलियामा रहेका प्राय सबै राज्यहरुमा संयोजकको उम्मेदवार सार्वजनिक भइसकेको छ भने कार्यसमितिमा समेत उम्मेदवारी दिने क्रम चलिरहेको छ ।

एनआरएनए अष्ट्रेलिया विश्व एनआरएनएमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले समेत अष्ट्रेलियाको नेतृत्व महत्वपुर्ण मानिन्छ । उम्मेदवारी घोषणा गर्नेमा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष तथा एनआरएनए पूर्व उपाध्यक्ष दिनेश पोखरेल, भिक्टोरियाका संयोजक तथा उपाध्यक्ष केशव कँडेल र न्यू साउथ वेल्स संयोजक तथा उपाध्यक्ष नन्द गुरुङ छन् ।

त्यसैगरी महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सन्तोष दहाल र अर्जुन केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । उपाध्यक्षमा दक्षिण अष्ट्रेलियाबाट नविन पन्त र रेणुका लामा, न्यु साउथ वेल्सबाट डिला खरेल, भिक्टोरियाबाट प्रेम कंडेल, क्युन्सल्याण्डबाट धिरेन्द्रराज थापा, उमेश खड्का, क्यानबेराबाट ज्ञानु सापकोटा लगायतले समेत निर्वाचनका लागि उम्मेदवारीको घोषणा गरेका हुन् ।

एनआरएनएलाई नजिकबाट बुझेकाहरु भने निर्वाचनको कुनै कार्यक्रम नै सार्वजनिक नभएको अवस्थामा उम्मेदवारी घोषणा गर्नुले संस्थालाई फाईदा नगर्ने बताउँछन् । एनआरएनएको ४ पटकसम्म निर्वाचन समितिमा रहेर काम गरिसकेका सुजीत सिग्देल नेतृत्वमा जानका लागि समय अगावै होडबाजी देखिएको बताउँदै यो गलत तरिका भएको बताए ।

उनले एनआरएनए सामाजिक संस्था भएकाले पद गौण हुनुपर्नेमा र नेतृत्वमा जान होडबाजी आवश्यक नभएको सुनाउँछन् । ‘यस किसिमका प्रक्रियाले भविश्यमा संस्थालाई नै फाईदा गर्दैन,’ उनले भने । एनआरएनएमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका नविन पन्त भने एनआरएनको निर्वाचनमा सदस्यता संख्यालाई बढाउनका लागि नै समय अगावै उम्मेदवारी सार्वजनिक गरिएको बताउँछन् ।

यसले एनआरएनमाको उम्मेदवार बन्छ भन्ने अगाडि नै थाहा हुने र सदस्यता लिनेको संख्या बढ्ने उनको तर्क छ ।

सामान्यतयाः जुलाई महिनामा हुने निर्वाचनका लागि केही साताअघि मात्र सदस्यता वितरण शुरु गरिएको छ । सदस्यता लिनका लागि अब एक सातामात्र बाँकी रहेको भएपनि अहिलेसम्म जम्मा ३ हजार २ सयजनाले मात्र सदस्यता लिएका छन् । गतवर्ष करिब ८ हजार ५ सय सदस्यता रहेको एनआरएनएको सदस्यता यसवर्ष कम हुनसक्ने आंकलन गरिएको छ ।


प्रकाशित : वैशाख १३, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?