अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

(अस्ट्रेलिया) — नेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् ।

यही मे १८ मा घोषणा गरिएको केन्द्रीय निर्वाचनमा तेस्रो ठूलो दल मानिएको गि्रन्सबाट पश्चिम अस्ट्रेलियाबाट अर्का नेपाली मूलका युवा भुवन खडका माथिल्लो सदन 'सिनेट' को सदस्यमा सिफारिसमा परेका छन् ।
लिबरलबाट नेपाली मूलकाहरुको बाक्लो बसोबास रहेको क्षेत्र बार्टनबाट सांसदको उम्मेदवार बनेका २६ वषर्ीय श्रेष्ठ प्रचारप्रसारमा व्यस्त छन् । १ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरकी प्रभावशाली नेतृ लिन्डा बर्नी, गि्रन्सका कोनोर पेरिसिस, युनाइटेड अस्ट्रेलियाका बेन ल्यु लगायतका सँग उनले प्रतिस्पर्धा गर्दै छन् । २०१३ को निर्वाचनमा सत्तारुढ दल लिबरलकै उम्मेदवारको जित भएका कारण समेत यस वर्ष हुने निर्वाचनमा आफ्नो राम्रो सम्भावना रहेको श्रेष्ठको भनाइ छ ।
निर्वाचन हुन करिब ३ साता मात्र बाँकी रहेकाले आफू जतिसक्दो सबैको घरदैलोमा गएर आफ्नो एजेन्डाहरु बताउन लागिरहेको उनको भनाइ छ । अर्काेतिर, पहिलो पटक कुनै नेपाली मूलको युवाले सांसदको उम्मेदवारको जिम्मेवारी पाएका कारण समेत आफू थप गम्भीर र जिम्मेवार भएर निर्वाचनमा होमिएको उनी सुनाउँछन् । उनलाई नेपाली मूलका मात्र नभएर यहाँका स्थानीय कार्यकर्ताहरुले समेत सहयोग पुर्याइरहेका छन् । आफ्नो उम्मेदवारीले अस्ट्रेलियामा भएका नेपाली मूलहरुलाई यहाँको केन्द्रीय राजनीतिमा अवसरको सृजना गरिदिएको समेत दाबी गर्छन् ।
पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका खडका पनि तेस्रो ठुलो दल गि्रनबाट सिनेट सदस्यका लागि मनोनयनमा परेपछि अहिले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उक्त पार्टीबाट चौथो तहको सिनेट सदस्यमा मनोनयमा परेका उनी पनि अबको ३ सातापछि हुने निर्वाचनमा जित हासिल गर्न लागिपरेका छन् ।
उनी निर्वाचनमा हारजित जे भए पनि नेपालबाट आएको युवालाई ठूलो दलले विश्वास गरेर सिनेटमा मनोनयन गर्नु नै महत्त्वपूर्ण भएको बताउँछन् । उनी सिड्नीमा प्रमेजलाई सत्तारुढ दलबाट सांसदको उम्मेदवार बनाइनु र आफूलाई पर्थबाट गि्रनले उम्मेदवार बनाउनुले यहाँ रहेका नेपाली मूलकाहरुलाई अस्ट्रेलियाली राजनीतिमा बिस्तारै सम्भावना बढदै गएको सुनाउँछन् । २ वर्ष अघि पश्चिम अस्ट्रेलियाको बेलमोन्ट क्षेत्रबाट राज्यस्तरीय निर्वाचनमा गि्रनबाटै उम्मेदवारी दिएका उनले हार बेहोरेका थिए ।
अस्ट्रेलियाको जनगणना अनुसार ५५ हजार नेपालीको जनसंख्या रहेको अस्ट्रेलियामा यसअघि स्वतन्त्र रूपमा तल्लो तहका निर्वाचनहरुमा केहीले सहभागिता जनाएका भए पनि पार्टीगत रूपमा भने यो पहिलो अवसर हो । सत्तारूढ दल लिबरल समर्थक नेपाली मूलकाहरुको संस्था लिबरल फ्रेन्डस अफ नेपालका अध्यक्ष श्री नापित छोटो समयमै राजनीतिक तहमा ठूलो फडको मारेको दाबी गर्छन् । 'निर्वाचनमा होमिएपछि हारजित हुनु सामान्य हो तर ठूला दलहरुको विश्वास पाएर अघि बढ्न पाउनु महत्त्वपूर्ण हो,' नापित भन्छन् ।
अस्ट्रेलियामा हुने निर्वाचनले तल्लो सदनका लागि १ सय ५० सांसदहरु निर्वाचित गर्छ भने माथिल्लो सदन सिनेटमा ७६ जना चुनिन्छन् । बहुमतको सरकार निर्माणका लागि ७६ सिटको आवश्यक पर्नेछ ।
प्रकाशित : वैशाख ११, २०७६ २१:२६