२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कतारले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन सहयोग गर्छ : राजदूत हैल

होम कार्की

काठमाडौँ — कतारी राजदूत युसुफ बिन अल हैलले नेपाली र कतारी नागरीकबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । कतारको राष्ट्रिय दिवसको पूर्वसन्धामा कान्तिपुरसँग कुराकानी गर्दै राजदूत हैलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि कतारको समर्थन र सहयोग रहने बताएका छन् ।

कतारले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन सहयोग गर्छ : राजदूत हैल

‘नेपाल प्रकृतिले दिएका अनुपम उपहार हो । पर्यटनबाटै नेपालले ठूलो धन राशी भित्र्याउन सक्छ । नेपालको नेपाल भ्रमण वर्ष २०२० लाई हामी खुलेर सहयोग गर्छौ । २० लाख पर्यटन भित्र्याउने नेपालको लक्ष्यलाई हामी सबै मिलेर पुरा गर्नुपर्छ,’ उनले भने ।


राजदूत हैले कतारमा रहेको नेपाली समुदायले त्यहाँ सौहार्द्रता, भाइचारा र कल्याणकारी व्यवहार प्रदर्शन गरेका भन्दै प्रशंसा पनि गरेका थिए । ‘सबै तहका नेपाली र कतारी नागरीकबीचको घनिष्ठसम्बन्ध छ,’ हैलले भने, ‘हामी कतारी नागरीकले नेपाली समुदायको इमान्दारिताको उच्च मुल्याकंन गरेका छौं । नेपालीको कामप्रतिको लगाव अतुलनीय छ । यो पृष्ठभुमिमा नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ ढंगबाट बढाउँदै अपासी हितमा अघि बढ्नुपर्छ ।’

उनले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने कामलाई प्राथमिकता दिइरहेको बताए । ‘नेपाल र कतारबीचको सम्बन्ध निकै नै घनिष्ठ र प्रगाढ छ । नेपाल र कतारबीचको सम्बन्ध कति प्रगाढ छ भन्ने देखाउन अहिले कतारमा कार्यरत ५ लाख बढी नेपालीको संख्या नै काफी हुन्छ । जसले यो सम्बन्धको महत्वलाइ पनि दर्शाउँछ ।’

उनले दुवै देशबीच उच्च तहमा सवांद हुन थालेको पनि जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भ्रमणपछि सम्बन्धलाई थप उचाइ दिन हामी केही हदसम्म सफल भयौं । दुवै देशमा उच्च तहका भ्रमण गराउन र आपसी समझदारी बढाउँदै सम्बन्ध विस्तार र विकासका काममा पनि अघि बढ्ने हाम्रो कोशिस रहनेछ,’ उनले भने ।

राष्ट्रपतिको भ्रमणका बेला कतारसँग नेपालले कुटनीतिक राहदानी बाहकका लागि भीसा नचाहिने व्यवस्थामा सहमति, सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारीमा समेत हस्ताक्षर गरेको थियो ।

राजदूत हैलले नेपालको कृषि उत्पादन, शुद्ध खानेपानी, कपडा र कार्पेट उत्पादनले कतारको बजार पाउने बताए । ‘व्यापार विस्तार गर्न कतार र नेपाल चेम्बरबीच दुई पक्षीय व्यापार विस्तार बारे सहमति भइसक्यो,’ उनले भने ।

कतारले आफ्नो राष्ट्रपिता शेख जासिम बिन मोहम्मद अलथानीको जन्मोत्सव (१८ डिसेम्बर)लाई हरेक वर्ष राष्ट्रिय दिवसका रुपमा मनाउने गर्छ ।

कतारमा आयोजना गरिएको राष्ट्रिय दिवसको कार्यक्रममा यो वर्ष नेपालीहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो । उनीहरुले राजधानी दोहामा आयोजित कार्यक्रममा मार्चपास समेत गरेका थिए ।


प्रकाशित : पुस ३, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?