२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हरिवंश मामाघरमा

अभिनेता हरिवंश आचार्य भन्छन्– नेपाली कलाकारका लागि प्रवास अहिले माया, सम्मान र श्रद्धा पाउने थलो बनेको छ ।
नारायण खडका

अस्ट्रेलिया — चाडपर्व आयो कि कलाकारलाई दसैं लागेझैं हुन्छ  । अझ दसैं–तिहारको चटारो त बेग्लै ! बाहिरका नेपालीहरू आफन्त मिलनको चाह बोकेर मुलुक फिरिरहेका बेला कलाकर्मी भने कन्सर्ट या सांस्कृतिक प्रस्तुतिका लागि विदेश उडिरहेका हुन्छन्  ।

हरिवंश मामाघरमा

अभिनेता हरिवंश आचार्य पनि दसैंलगत्तै अस्ट्रेलिया आइपुगे, कला प्रस्तुतिका लागि नभई निजी भ्रमणमा । तर, उनको अस्ट्रेलिया बसाइ थाहा पाएपछि के फुर्सद मिल्थ्यो ! सबै राज्यमा रहेका नेपालीहरूले भेटघाट, अन्तरक्रिया र कला प्रस्तुतिका लागि बोलाउन थालिहाले ।


‘मामाघर आकोजस्तो भयो नि !’ उनले भने, ‘नेपाली कलाकारका लागि प्रवास अहिले माया, सम्मान र श्रद्धा पाउने थलो बनेको छ ।’ यति बेला उनी भेटघाटसँगै आफ्नो लेखन तथा कलाकारिताबारे अन्तरक्रिया मात्रै हैन, आफूले हालै सिर्जेको ‘जँडयाहा’ को एकल रंगमञ्चीय प्रस्तुतिसमेत दिइरहेका छन् ।

जाँडरक्सीका प्रभाव र असरमाथिको उक्त सन्देशमूलक नाटकले दक्षिणी अस्ट्रेलियामा दर्शकबाट निकै प्रशंसा पायो । यससँगै उनका छोटामीठा प्रहसन र कलाकारिताको संघर्षको कथा रोचक र मन छुने थिए ।


केही वर्षअघि आफ्ना जोडी मदनकृष्ण श्रेष्ठसहित महसञ्चारको टिम लिएर युरोप र अमेरिकाको कला यात्रा गरेका उनले पछिल्लो समय नेपाली डायस्पोरामा विकास भएको सांस्कृतिक चेतनाको प्रशंसा गरे । ‘कलाकारका लागि विदेशका नेपाली दर्शकश्रोताहरू ज्युँदो भगवान् जस्तै हुन्,’ उनले भने, ‘विदेशमा पाइने माया मामाघरमा पाइने मायाभन्दा कम छैन ।’


उनका अनुसार, हरेक कलाकारका लागि दर्शकश्रोता भगवान् जस्तै हुन्छन् । ‘त्यसैले पनि मलाई नेपालीहरूसमक्ष पुग्दा मन्दिर गएको अनुभव हुन्छ किनकि मन्दिरको देवता आस्था हो भने दर्शकश्रोता साक्षात् भगवान् हुन्,’ उनले भने । विदेश र कलाकारबीचको सम्बन्धलाई उनले माइती–चेलीको सम्बन्धको रूपमा समेत व्याख्या गरे ।

‘हरेक पटक विदेश आउँदा श्रीमान्को घरबाट माइती आएकी चेलीजस्तै माया पाउँछु म,’ उनले भने । अस्ट्रेलियामा रहेको बेला उनी सिड्नी लगायत केही सहरमा नेपालीहरूले गरेका विभिन्न अन्तरक्रियामा सहभागी भइरहेका छन् । औपचारिक कार्यक्रम नभए पनि उनले आफ्ना ‘म’ अर्थात् मदनकृष्णलाई हरेक पटक सम्झिरहेका छन् । ‘हामीले सँगै काम गरेको दशकौं भइसकेकाले पनि मदन दाइ मेरो जीवनको अभिन्न अंग जस्तै हुनुहुन्छ,’ उनले भने, ‘त्यही भएर हरेक स्थानमा उहाँको अभाव खड्कने गर्छ ।’


कुराकानीका क्रममा आचार्यले अहिले अस्ट्रेलियाको बजार नेपाली कलाकारका लागि तेस्रो ठूलो बजार भएको बताउँदै विदेशी बजारलाई आकर्षण गर्न नेपाली कलाकार पनि उत्तिकै दत्तचित्त भएर लाग्नुपर्ने सुझाए ।


निजी भ्रमणमा सुटुक्क आएको पनि भए पनि यस पटक उनी प्रस्तुत भएका कार्यक्रमहरूलाई आयोजकले सामाजिक सेवासँग पनि जोडेका छन् । उठेको रकम नेपालस्थित मानव सेवा आश्रम र स्थानीय केही सामाजिक संस्थाहरूलाई सहयोगस्वरूप हस्तान्तरण गरिने आयोजकले दाबी गरेको छ । कार्यक्रमको आकर्षण भने हास्य अनुभव र सोलो नाटक मात्रै बनिरहेको छैन, आत्मकथा ‘चिना हराएको मान्छे’ र उपन्यास ‘हरिबहादुर’ अर्को आकर्षण बनेको छ । उनको हस्ताक्षरसहित किन्नेहरू उत्तिकै भेटिन्छन् ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?