कांग्रेसको बेल्जियम जनसम्पर्क समितिमा विवाद, पूर्व र वर्तमान दुई पदाधिकारी निष्काशित

कान्तिपुर संवाददाता

काठमाडौँ — समानान्तर संस्था खोलेर गतिविधि गरेको भन्दै कांग्रेसको बेलिज्यमस्थित जनसम्पर्क समितिले संस्थाका पूर्व र वर्तमान दुई पदाधिकारीलाई कारबाही गरेको छ ।

कांग्रेसको बेल्जियम जनसम्पर्क समितिमा विवाद, पूर्व र वर्तमान दुई पदाधिकारी निष्काशित

समितिका पूर्व अध्यक्ष गंगाधार गौतम र महामन्त्री सुवास गुरुङलाई समितिको साधरण सदस्यता समेत नरहने गरी चार वर्षका लागि निष्कासन गरिएको अध्यक्ष सीता सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


समितिकी अध्यक्ष सापकोटासँग असन्तुष्ट हुँदै पार्टीको संस्थापन निकटहरुकै जोडमा महामन्त्री गुरुङको अध्यक्षतामा १५ सदस्यीय समानान्तर समितिको घोषणा गरिएको छ । गौतम र गुरुङ दुवैले केही समय अघि वरिष्ठ नेता रामचन्द्र पौडेलको युरोप भ्रमणका क्रममा आयोजित कार्यक्रममा असहयोग गर्ने, बहिष्कार गर्ने र संस्थाको हित विपरितको काम गरेको आरोप समितिले लगाएको छ ।


‘पूर्व अध्यक्ष गौतमले संगठनको हित विपरित काम गरेको र महामन्त्री गुरुङले संस्थाको लेटरप्याड दुरुपयोग गरी वरिष्ठ नेता पौडेलको कार्यक्रम विरुद्ध वक्तव्यबाजी गरी बहिष्कार गरेकाले समितिको पूर्ण बैठकले विधानको भाग ५ को धारा २२ (२) अनुसार कारबाही गरिएको छ,’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गौतम र गुरुङलाई सच्चिन पटकपटक आग्रह गर्दा समेत सम्भव नभएपछि कारबाही गर्नुपरेको अध्यक्ष सापकोटाले बताइन् ।


प्रकाशित : कार्तिक ९, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?