अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु

अष्ट्रेलिया — दुई साताको अवधिमा अष्ट्रेलियाको सिड्नीमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक युवक र नेपालबाट आफन्त भेट्न सिड्नी आएकी एक महिला रहेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु

एनआरएन पदाधिकारीहरुका अनुसार गत शुक्रबार सिड्नीको बरउडमा बस्दै आएका पोखरा घर भएका नेपाली विद्यार्थी सन्तोष धमला बाथरुममा गएको तर लामो समयसम्म बाहिर ननिस्किएपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएपनि बचाउन सकिएन । ४ वर्षअघि विद्यार्थी भिषामा अष्ट्रेलिया आएका उनको मृत्युको कारण थाहा पाउन सकिएको छैन । उनको शव कोरोनरको कार्यालयमा राखिएको छ । उनको शवलाई सिड्नीमा नै दाहसंस्कार गर्ने तयारी भइरहेको बताइएको छ ।

यसैगरी सिड्नीकै हर्नस्बीमा बसोबास गर्ने महेन्द्र श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ । सोही स्थानमा रहेको नेपालीहरुको संस्था नर्थसोर नेप्लिज कम्युनिटीका उपाध्यक्ष सरोज पाण्डेकाअनुसार राति सुतेका बेला बिरामी परेका उनलाई उपचारका अस्पताल लगिएपनि बचाउन सकिएको थिएन । उनको शव पनि कोरोनरको कार्यलयमा राखिएको छ ।

परिवारसहित उक्त स्थानमा बस्दै आएका उनको शवलाई परिवारको आग्रहमा दाहसंस्कारका लागि नेपाल पठाउने तयारी सुरु गरिएको छ । १० वर्षअघि विद्यार्थी भिषामा आएका उनले अध्ययन पूरा गरेर अष्ट्रेलियामा नै स्थायी बसोबासको अनुमति लिइसकेको बताइएको छ ।

करिब ७ महिनाअघि चितवन घर भएर सिड्नीको पेन्टहस्टमा रहेका आफ्ना आफन्त भेट्न आएकी कौशिला न्यौपानेको करिब दुई साताअघि मृत्यु भएको दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख दु्रपदा सापकोटाकाअनुसार अस्वस्थ भएपछि उपचारका लागि उनलाई कोग्राहा अस्पताल लगिए पनि ज्यान जोगाउन सकिएन ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउन कागजात तयार गरेर दिइएको सापकोटाले बताइन् ।

उनले सिड्नीमा मृत्यु भएका दुबै जनाको बारेमा आफूहरुलाई सूचना आएको र आवश्यक सहयोग पुर्‍याइरहेको समेत बताइन् । यसैगरि मृतकका आफन्तलाई सहयोगका लागि अष्ट्रेलियास्थित एनआरएनले समेत आवश्यक सहयोग पुर्‍याइरहेको महासचिव नारायण कोइरालाले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?