कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साथी बचाउन २५० किलोमिटर पदयात्रा

नारायण खडका

अस्ट्रेलिया — क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।

साथी बचाउन २५० किलोमिटर पदयात्रा

९ वर्षअघि विद्यार्थी भिसामा श्रीमतीसहित अस्ट्रेलिया आएका काठमाडौंका विदुर कर्माचार्यलाई ३ महिनाअघि ब्रेन क्यान्सर भएको पत्ता लाग्यो ।


सामान्य टाउको मात्र दुख्ने समस्या रहेका उनी अचानक अस्वस्थ बनेपछि अस्पताल गए । उपचार क्रममा क्यान्सर लागेको थाहा भयो ।


सामान्य काम गरेर जीविका चलाइरहेका २ साना नानीका अभिभावक उनलाई आर्थिक भार त पर्‍यो नै, जीवन कसरी व्यवस्थित बनाउने समस्या थपियो । उनीहरूको समस्याबाट परिचित विदुरका अस्ट्रेलियाली साथी म्याट लोयडले सहयोग जुटाउने नयाँ उपाय निकाले ।


विदुरकै लागि भनेर न्युकासलदेखि सिडनीसम्म २ सय ५० किलोमिटर जंगल पैदलयात्रा गर्ने र न्यूनतम १० हजार डलर (करिब ८ लाख रुपैयाँ) सहयोग संकलन गरिदिने ।


म्याटले एक वेबसाइटमार्फत आफ्नो पैदलयात्राका लागि सहयोग जुटाउन आह्वान गरेका छन् । उनले अहिलेसम्म झन्डै ९ हजार ५ सय डलरभन्दा बढी सहयोग संकलन गरिसकेका छन् । उनको पदयात्रा २३ तारिखमा १० दिनपछि टुंगिनेछ ।


म्याट विदुरलाई नेपालमै भेटेको र अत्यन्तै मिल्ने साथी भएकाले पनि आफू सहयोग संकलनमा लागेको सुनाउँछन् । ‘विदुरजस्तो टिपिकल नेपाली साथी पाउन एकदमै मुस्किल पर्छ ।’ उनले कान्तिपुरसँग भने, ‘यसैका लागि पनि म उनलाई बचाउन र परिवारलाई सहयोग पुर्‍याउन यो अभियानमा लागेको हुँ ।’


म्याटले सुरु गरेको यो अभियानमा करिब १ सय जनाले न्यूनतम १० डलरदेखि ५ सय डलरसम्म सहयोग गरिसकेका छन् । सहयोग अभियान अझै २ साता बढी चल्ने भएकाले थप रकम जुट्ने विश्वासमा उनी छन् ।


भन्छन्, ‘यो अभियानको उद्देश्य सहयोग जुटाउने भए पनि साथीका लागि हामीले चाह्यौं भने धेरै गर्न सकिन्छ भन्ने भावनाको विकास गर्नु पनि हो ।’


उनी यही सेप्टेम्बर २३ तारिखमा ५० वर्ष पुग्दै छन् र आफू ५० वर्ष पुगेको खुसियाली विदुरसँगै अस्पतालमा गएर मनाउने योजनामा छन् । ‘मैले आफ्नो जन्मदिन प्रिय नेपाली साथी जो बाँच्नका लागि संघर्षरत छ, उससँग मनाउन पाउनु ठूलो अवसर हुनेछ ।’


सिडनीबाट ५ घण्टाको दूरीमा रहेको डब्बोमा बसोबास गर्ने विदुर ३ महिनादेखि उपचार क्रममा अस्पतालमै छन् । विशेषज्ञ डाक्टरहरूबाट नियमित उपचार गराइरहनुपर्ने आर्थिक संकटबाट गुज्रिरहेको भए पनि उनीहरूले कसैलाई सार्वजनिक रूपमा सहयोगको आग्रह गरेका छैनन् ।


उपचारमा नियमित सहयोग पुर्‍याइरहेकी उनकी श्रीमती बिनु महर्जनले म्याटको अभियानमा सहयोग पुर्‍याउन र उनको पैदलयात्रा टुंगिने दिन सिडनीको सर्कुलर कि मा उपस्थित भइदिन आग्रह गरेकी छन् ।

प्रकाशित : भाद्र २२, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?