कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

‘कामको धपेडी, समयसीमाको चिन्ता, सम्बन्धमा आउने जटिलता, आर्थिक समस्या प्रमुख कारण’
नारायण खडका

अस्ट्रेलिया — अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

करिब दुई महिनाअघि पनि सिड्नीमा अध्ययनरत गिरी थरकी नेपाली युवतीले आत्महत्या गरेकी थिइन् । उनको शव समुद्र किनारमा भेटिएको थियो ।


पछिल्लो डेढ वर्षमा अस्ट्रेलिया पढ्न आएका १२ विद्यार्थीले आत्महत्या गरिसकेका छन् । अस्ट्रेलियाको अनुसन्धान संस्था हेडस्पेस र नेसनल युनियन अफ स्टुडेन्टसले २०१७ को अन्त्यमा गरेको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीले आफैँलाई हानि पुर्‍याउने सोच राख्ने गरेको सार्वजनिक गरेको थियो । उक्त अध्ययनमा १७ देखि २५ वर्ष उमेरका २ हजार ६ सय विद्यार्थी सहभागी थिए ।


अध्ययनमा धेरै देशका विद्यार्थी थिए, जसमा नेपाली पनि थिए । ‘कामको धपेडी, समयसीमाको चिन्ता, सम्बन्धमा आउने जटिलता, आर्थिक कारणलगायत समस्या छन्,’ सर्वेक्षणमा देखाइएको छ । सर्वेक्षणमा सहभागी ६५ प्रतिशत विद्यार्थीले आफू उच्च मानसिक तनावमा परेको बताएका थिए । त्यसमध्ये आधाले समयमा निद्रा नपर्ने, काम गर्न मन नलाग्ने, बेकारमा आएको जस्तो लाग्ने, अब कसरी फर्कौं र घरमा के भन्ने जस्ता कुराले तनाव हुने गरेको बताएका थिए ।


सजिलै उच्च शिक्षा र गतिलो आर्थिक कमाइ हुने आसमा आउनेहरू त्यस्तो नपाउँदा निराश हुने गर्छन् । यस्ता विद्यार्थीलाई बेलैमा परामर्शको अभाव हुने गरेको छ । अस्ट्रेलियाभरि झन्डै २ सय हाराहारी नेपाली संगठन भए पनि त्यस्ता विद्यार्थीलाई सहयोग पुर्‍याउन उल्लेख्य कार्य गरेका छैनन् । एनआरएनलगायत संस्थाले गरेको पहल पनि प्रभावकारी बन्न सकेको छैन । नेपाली दूतावासले समेत यस विषयमा केही गर्न सकेको छैन ।


विद्यार्थीहरूको संस्था ‘अस्ट्रेलियन फेडेरेसन अफ इन्टरनेसनल स्टुडेन्ट्स’ ले केही समयअघि सिनेट इन्क्वायरीलाई बुझाएको एक रिपोर्टमा अस्ट्रेलिया सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्न आग्रह गरिएको थियो । उक्त रिपोर्टपछि अस्ट्रेलियामा विभिन्न विश्वविद्यालय र प्राध्यापकको ध्यान यसमा तानिएको छ ।


अस्ट्रेलियाबारे पूर्वजानकारी नलिईकन आउँदा समस्या हुने गरेको एक विद्यार्थी बताउँछन् । ‘एयरपोर्ट ओर्लिएदेखि नै समस्या सुरु हुन्छ । फोटो र गुगलमा देखिएजस्तो छैन अस्ट्रेलिया,’ उनी भन्छन्, ‘यहाँ हुन सक्ने समस्याको सामना गर्न तयार भएर आउनुपर्छ तर धेरै विद्यार्थी सपना मात्रै लिएर आउँछन् ।’ साथीभाइको संगतले पनि फरक पार्ने उनले बताए ।


सिड्नीका मानसिक रोग विशेषज्ञ घनश्याम चापागाईंका अनुसार अस्ट्रेलियामा रहेका पाँचमध्ये एक नेपाली मानसिक रोगबाट पीडित छन् । समयमै चिकित्सकको सल्लाह नलिनु ठूलो समस्या भएको उनी बताउँछन् । सल्लाह र उपचार लिन आउँदा ढिलो भइसक्ने उनको अनुभव छ । ‘यसले गर्दा बेलैमा उपचार हुन पाउँदैन,’ उनले भने ।


‘मसँग अहिले ३० जना मानसिक रोगका नेपाली बिरामी छन् । आर्थिक अभाव, गलत संगत, धेरै अपेक्षाले उनीहरू यो रोगको चपेटामा परे,’ मेलवर्नका मानसिक रोग विशेषज्ञ अनुपम पोखरेल भन्छन् ।


उनी पनि दूतावास र एनआरएनलगायत संस्थाले विद्यार्थीलाई प्रभावकारी परामर्श दिनुपर्ने बताउँछन् । अस्ट्रेलिया अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिनुअघि विद्यार्थी तथा अभिभावकलाई अस्ट्रेलियाबारे विशेष जानकारी लिनैपर्ने प्रावधान राख्नुपर्ने उनी बताउँछन् ।


‘भिसा लागेपछि कन्सल्टेन्सीले पनि तालिमको व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन् । एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइराला सकेसम्म सामाजिक कल्याणकारी कोषमार्फत विद्यार्थीलाई सहयोग गर्ने कोसिस गरेको बताउँछन् । ‘मानसिक समस्यामा रहेकालाई रिफरल, नेपाल फर्किन परे टिकट काटिदिने, अस्पतालमा आवश्यक परे साथी बनिदिने जस्ता काम हामीले गरिरहेका छौँ,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?