कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लन्डन दूतावासमा नेपाल विकास सम्मेलन

नबिन पोखरेल

लन्डन — लन्डनस्थित नेपाली दूतावासले यसपटक गणतन्त्र दिवस पृथक ढंगले मनाएको छ । उक्त दिवसका अवसरमा दूतावासले  नेपालमा लगानी, व्यापार र पर्यटन प्रवद्र्धन एवं द्विपक्षीय सहयोग अभिवृद्धिमा केन्द्रित गरी नेपाल विकास सम्मेलन गरेको हो ।

लन्डन दूतावासमा नेपाल विकास सम्मेलन

कार्यक्रमको दोश्रोचरणमा आयोजित ‘नेपाल विकास सम्मेलन’ मा नेपालको विकासमा बेलायतको सरकारी र गैरसरकारी सहयोगका क्षेत्र र सम्भावनाहरु विषयक सातवटा कार्यपत्र पेश गरिए ।


राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा रोयल बोटानिकल गार्डेन, एडिनवर्गका प्रमुख साइमन मिलन, नवगठित ब्रिटेन नेपाल एनजिओ नेटवर्कका अध्यक्ष डेभिड थोमस, ब्रिटेन नेपाल सोसाइटीको युवा विभाग प्रमुख सुश्री एलिसन मोरिसन, लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हट, लिभरपुल विश्वविद्यालयका डा. सारा वार्कर र श्रीमती सिर्जनासिंह योञ्जन, गोर्खा वेलफेयर ट्रष्टका निर्देशक एल होवार्ड, प्रसिद्ध न्यूरोसर्जन डा विलियम हार्कनेस र डिएफआइडीका उपनिर्देशक डयान कासपर्जले कार्यपत्र पेश गरे ।


राजदूत सुवेदीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै नेपाल राजनीतिक स्थायित्व, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिसहित ‘समृद्ध नेपाल र खुसी नेपाली’ को लक्ष्य हासिल गर्न अग्रसर रहेको जानकारी दिएका थिए ।

सुवेदीले राष्ट्रियता, सामाजिक न्याय, राजनीतिक स्थिरता, लोकतान्त्रिक मूल्य मान्यता र मौलिक हक अधिकारको सुनिश्चितासहित जननिर्वाचित सरकारले मुलुकको विकासको लक्ष्य अघि सारेको अवस्थामा विदेशका नेपालीहरुको पनि सार्थक योगदानको खाँचो औंल्याए ।


समारोहमा प्रमुख अतिथि बेलायती पूर्वमन्त्री टोनी बाल्ड्रीले संयुक्त अधिराज्य र नेपालबीच दुईसय वर्षभन्दा लामो घनिष्ठ मित्रता रहेको उल्लेख गर्दै यो ऐतिहासिक सम्बन्धलाई व्यापार र लगानीको अभिवृद्धिसहित ठोस र सार्थक सहयोगद्वारा अझ प्रगाढ गर्न अपरिहार्य रहेको बताए ।


गत वर्ष नेपालको औपचारिक भ्रमण गरेका विशिष्ट अतिथि लन्डनका पूर्व लर्ड मेयर एन्ड्रियू पार्मलीले राजनीतिक संक्रमण पार गर्दै नेपाल आर्थिक र सामाजिक विकासको बाटोमा अग्रसर रहेको बताए । उनले ऐतिहासिक सम्बन्ध भएको मुलुकको अग्रगमनमा बेलायतले सहयोग र सदाशयता राखेको र आगामी वर्षमा सहयोग अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरे ।


अतिथिका रुपमा बेलायतको परराष्ट्र एवं कमनवेल्थ मामिला मन्त्रालयका उपनिर्देशक श्रीमती लेस्ली क्रेगले बेलायत सरकारले नेपालसंगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताइन् । उनले नेपाल सरकारको आर्थिक समृद्धि लक्ष्य हासिल गर्न बेलायत सरकारले सहयोगलाई निरन्तरता दिने र यसको अभिवृद्धिका लागि यूके प्रतिवद्ध रहेकोसमेत विश्वास दिलाइन् ।


नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रियू स्पार्कस र ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटरले बेलायती जनताको नेपाल र नेपालीप्रति आदर र स्नेहको भावना रहेको बताउँदै अब यो मैत्रीपूर्ण भावनालाई नेपाल र नेपालीको आर्थिक र सामाजिक विकासका निम्ति पनि उपयोग गर्न आवश्यक रहेको धारणा राखे ।


उक्त समारोहमा बाल्ड्री र राजदूतले नेपाल र नेपालीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र प्राविधिक विकासमा संलग्न तीनसय पचास गैर सरकारी संस्थाहरुको छाता संगठन ब्रिटेन नेपाल एनजिओ नेटवर्कको उद्घाटन गरे । साथै ब्रिटिस लेखक सियन र बब गिबोन्सद्वारा लिखित ‘अ ट्रेक टु धौलागिरी’ नामक पर्यटन कृति समेत लोकार्पण गरिएको थियो ।


समारोहमा कलाकार सम्झना राजभण्डारीद्वारा सिर्जित ५४ वटा नेपालको प्रकृति, संस्कृति र सम्पदा झल्किने कृतिहरु सम्मिलित नेपाली कला प्रदर्शनीको प्रमुख अतिथि र राजदूतले उद्घाटन गरे ।


कार्यक्रममा अन्तर्राष्ट्रिय कानूनविद प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) लाई दूतावासका तर्फबाट सम्मान गरिएको थियो । प्राध्यापक सुवेदीले नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको बताउँदै संसदमा दुई तिहाइभन्दा बढीको स्पष्ट बहुमत प्राप्त गरेको जननिर्वाचित सरकारले राजनीतिक स्थायित्व र सुशासनसहित आर्थिक विकास आफ्नो प्राथमिकता निर्धारण गर्नु नेपाली जनताको उज्ज्वल भविष्यको संकेत भएको टिप्पणी गरे ।


दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली सांस्कृतिक कार्यक्रम र गायन प्रस्तुत गरेका थिए ।


प्रकाशित : जेष्ठ १८, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?