१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिनियाँमा नेपाली मन

चेतनाथ आचार्य

बेइजिङ — बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा शनिबार अपरान्ह चिम्सा आँखा र डल्लो अनुहार भएका ६ युवायुवती रेसम फिरिरी गीतमा नाच्दै थिए । तीनजना युवतीले चौबन्दी चोलो र सारी लगाएका थिए भने तीनजा युवाले दौरासुरुवाल र टोपी लगाएका थिए ।

चिनियाँमा नेपाली मन

उनीहरु नेपालकै राई लिम्बू जस्ता देखिन्थे । रेसम फिरिरी गीतमा नृत्यसकिँदै लाग्दा अन्य १० जना उस्तै अनुहारका युवायुवती मञ्चमा उक्लिए । भेला भएका १६ जनाले एकै स्वरमा गाए,

'जसो गर जे भन जतासुकै लैजाउ मलाई

यो मन त मेरो नेपाली हो ।'

नेपाली नयाँ वर्ष २०७५ को स्वागत सांस्कृतिक कार्यक्रममा रेसम फिरिरी गीतमा नाच्ने र कुटुम्ब ब्याण्डको लोकप्रिय गीत, ‘यो मन त मेरो नेपाली हा’े गाउने ती १६ जना युवायुवती चिनियाँ विद्यार्थी थिए । उनीहरु सबै बेइजिङस्थित सञ्चार विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका स्नातक तहका विद्यार्थीहरु हुन् ।


नेपाली दूतावासले आयोजना गरेको सो सांस्कृतिक कार्यक्रममा चिनियाँहरुले प्रस्तुत गरेको नेपाली नृत्य र गाएको नेपाली गीतले उपस्थित ६ सय नेपालीमा तरङ्ग ल्यायो । उनीहरुको गीतमा सबैले ताली लगाउँदै साथ दिए ।


नयाँ वर्ष २०७५ को अवसरमा बैशाख १ गते शनिबार दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बेइजिङ र आसपासका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेर चिनियाँ र नेपालीलाई मनोरञ्जन दिलाए । कार्यक्रममा ६ सयभन्दा बढी नेपाली र एक सय चिनियाँहरुको उपस्थिति थियो ।


नेपालका आदिवासी तामाङ, मैथिली, भोजपुरी, घाटु, मारुनी, नेवारी जातिका गीतमा नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने कुमारी र भरत नाट्यम जस्ता शास्त्रीय नृत्यले चिनियाँको मन तानेको थियो ।


चीनमा बसोबास गर्ने समस्त नेपालीलाई नयाँ वर्षको शुभकामना दिँदै नेपाली राजदूत लीलामणि पौडेलले नेपालका ३४ वटा दूतावासमध्ये बेइजिङको नेपाली दूतावासले मात्र नेपाली नयाँ वर्षका अवसरमा स्वागत कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नेपालीहरुमा शुभकामना आदानप्रदान गर्नु र चिनियाँसम्म नेपाली संस्कृतिको प्रचार गर्नु रहेको उनले औँल्याए । नेपाली दूतावासले गत वर्षदेखि नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न सुरु गरेको हो ।

प्रकाशित : वैशाख २, २०७५ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?