कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायिक बन्दै अस्ट्रेलियामा नेपाली फोटोग्राफी

नारायण खड्का

अस्ट्रेलिया — सन् २००१ ताका नेपालबाट फोटोग्राफी र ग्राफिक डिजाइनसम्बन्धी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए विवेक प्रधान । तास्मानियाबाट आफ्नो अध्ययन सकेपछि उनले सिड्नीमा सुरुको समयदेखि व्यावसायिक फोटोग्राफी सुरु गरे ।

व्यावसायिक बन्दै अस्ट्रेलियामा नेपाली फोटोग्राफी

थोरै मात्र नेपाली रहेको त्यस समयमा पनि उनले फोटोग्राफी व्यावसायिक हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । अस्ट्रेलियामा रहेका नेपालीमध्येमा पहिलो व्यावसायिक फोटोग्राफर बनेका प्रधानपछि अहिलेसम्म करिब ५ दर्जन व्यावसायिक, अर्धव्यावसायिक वा सोखिन फोटोग्राफरहरू जन्मिसकेका छन् ।


केही वर्षअघिसम्म सोखको रूपमा मात्र रहेको फोटोग्राफी अब व्यवसायको रूपमा विकास हुँदै गएको छ । अस्ट्रेलियामा अहिले करिब ३ दर्जनको हाराहारीमा पूर्ण व्यावसायिक र अर्धव्यावसायिक रूपमा सक्रिय रूपमा लागिरहेका छन् । जसमा कति आफैं सिकेर आएका हुन् भने केहीले औपचारिक शिक्षा नै लिएका छन् । कतिपय फोटोग्राफरहरू त आफ्नो व्यवसायमा जागिर दिनसमेत सक्षम बनिसकेका छन् ।


अहिले सिड्नीमा फोटोग्राफी र भिडियोग्राफीमा समेत जम्दै गरेका सुरेन फोटोग्राफीदेखि पहिलो पुस्ताकै व्यावसायिक फोटोग्राफर केवल राई अहिलेसम्म सक्रिय छन् । राईसँगै फोटोग्राफी गरेका विवेक बस्नेत समेत फुर्सदमा व्यावसायिक फोटोग्राफी गर्दै आएका छन् । अर्काेतर्फ नेपालबाटै व्यावसायिक फोटोग्राफी गर्दै आएकी सुधीरा शाहले समेत नेपाली फोटोग्राफीलाई अलग पहिचान दिने प्रयास गरिरहेकी छन् । त्यसबाहेक अर्धव्यावसायिक रूपमा जमिरहेका दर्जनौं नेपाली युवाहरू समेत फोटोग्राफीमा रमाइरहेका छन् । जसमध्ये कोही व्यावसायिक रूपमा जम्ने कोसिस गरिरहेका छन् भने कोही सिकाइकै प्रक्रियामा छन् ।


अहिले सिड्नीबाट साउथ अस्ट्रेलियाको एडिलेड बसोबास गर्न आइपुगेका अर्धव्यावसायिक फोटोग्राफर तेज वानेम सिड्नीदेखि बाहिरको सहरमा समेत व्यावसायिक फोटोग्राफर सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्ने कोसिसमा छन् । हुन त यहाँको विश्वविद्यालयमा फोटोग्राफी अध्ययन गरेका सुजन भुसालसमेत व्यावसायिक फोटोग्राफरको रूपमा जमिरहेका छन् । नेपाली समुदाय र कार्यक्रमहरू मात्र नभएर विदेशी समुदायमा समेत राम्रो पहिचान बनाउँदै आएका उनीहरू व्यावसायिक रूपमा नै जमिरहेका छन् ।


अहिले सिड्नी नै फोटोग्राफरहरूको मुख्य स्थान हुँदै आएको भए पनि अन्य सहरहरूमा समेत व्यावसायिक फोटोग्राफी फस्टाउँदै गएको छ । व्यावसायिक रूपमा फोटोग्राफी गर्दै आएकाहरूको भनाइ मान्ने हो भने नेपाली फोटो व्यवसाय हेर्दा जति ग्ल्यामर र व्यावसायिक लागे पनि यसमा चुनौतीहरू समेत उत्तिकै छन् । आफ्ना ग्राहकले चाहेजस्तो फोटो दिन सकिने हो वा होइन, उनीहरूले चाहेजस्तो फोटो आउने हो वा होइन जस्ता चुनौतीहरू हरेक फोटोग्राफरले भोग्ने गर्दछन् । यो हुनु सामान्य नै हो । फोटोग्राफर तेज वानेम सुनाउँछन् ।


हातमा क्यामेरा र आवश्यक सामग्री लिएर फोटो खिचिरहेका युवाहरूलाई देख्दा सामान्य लागे पनि सामान्यतया व्यावसायिक फोटोग्राफर बन्नका लागि मात्र १५ हजारभन्दा माथि खर्च गर्नुपर्ने हुन्छ । त्यसमाथि हुने खर्च भनेको आफूले कस्तो सामान प्रयोग गर्ने भन्नेमा भरपर्छ । अहिले व्यावसायिक रूपमा जमिरहेका प्राय: फोटोग्राफरहरूलाई कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याएका पत्रकार केवल राई नेपाली फोटोग्राफरहरूको भविष्य राम्रो भएको सुनाउँछन् । ‘विवेक प्रधानले सुरु गरेको नेपाली फोटोग्राफरको व्यावसायिकताले अहिले जुन स्थान बनाएको छ, यसले नेपाली युवाको फोटोग्राफी भविष्य राम्रो देखिएको छ,’ राई भन्छन् ।


नेपाली फोटोग्राफरले अहिले न्यूनतम १ सय ५० डलर (करिब १२ हजार रुपैयाँ) देखि ३ हजार ५ सय (करिब ३ लाख रुपैयाँ) डलरसम्म शुल्क लिने गरेका छन् । उनीहरू विवाह, व्रतबन्ध, पास्नीलगायतका पारिवारिक समारोहहरू मात्र नभएर सामाजिक रूपमा हुने कार्यक्रमहरूमा समेत व्यावसायिक फोटोहरू अलगअलग रकममा खिच्ने गरेका छन् । यद्यपि सामान्यता ३ सयदेखि ५ सय डलरको बीचमा पारिवारिक कार्यक्रममा फोटो खिचिने गरिएको उनीहरूको भनाइ छ ।


प्रकाशित : माघ १४, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?