अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या बढ्दो

नारायण खड्का

अष्ट्रेलिया — एक सातामा दुईजना नेपालीद्धारा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार एक नेपाली विद्यार्थीले आत्महत्याको धम्की दिदै नेपालका परिवारमा सन्देश पठाए । लगत्तै सिड्नी र मेलबर्नका नेपालीहरुले प्रहरी, एम्बुलेन्सलाई उद्दारका लागि खबर गर्नुपऱ्यो ।

अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या बढ्दो

अष्ट्रेलियामा उच्च शिक्षा र उज्जवल भविश्यको चाहना राखेर आएका नेपालीहरुले आत्महत्याको बाटो रोज्न थालेपछि यहाँका नेपाली समुदाय चिन्तित छन् ।


हालै घटेको घटनामा एक महिला पहिलेदेखि सिड्नीमा ब्यवस्थित रुपले बसोबास गरिरहेकी थिईन भने एक महिला ४ वर्षपहिले अध्ययनका लागि अष्ट्रेलिया आएकी थिइन् । एक महिला यहाँ उच्च शिक्षा अध्ययन सकेर नर्सको रुपमा कार्यरत थिइन् भने अर्की महिला स्थानीय कलेजमा अध्ययनरत थिइन् । आधिकारिक तथ्यांक नभएपनि अहिलेसम्म करिब १ दर्जन नेपालीहरुले आत्महत्याको बाटो रोजेको बताइएको छ ।


अष्ट्रेलियामा रहेर मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेकाहरुका अनुसार नेपालीहरुमा पछिल्लो समयमा मानसिक रोग बढ्दै गएको छ । अष्ट्रेलियाको राष्ट्रिय अनुपात जस्तै प्रत्येक ५ नेपालीमा एक ब्यक्तिमा कुनै न कुनै मानसिक समस्या रहेको उनीहरुको दाबी छ । बिशेष गरेर आफुमा समस्या भएपनि स्वीकार गरिनहाल्ने र उपलब्द्ध सेवाहरु समेत समयमै नलिने प्रवृतिका कारण नेपालीहरु मानसिक रोगको चपेटामा पर्दै गएका हुन् ।


मानसिक रोग बिशेषज्ञ तथा अष्ट्रेलिया सरकारको सिड्नीस्थित टेबलल्याण्डस मानसिक स्वास्थ्य सेवाको प्रमुखका रुपमा काम गरिरहेका डा. घनश्याम चापागाईं अहिले पनि आफुले दर्जनौ नेपालीहरुलाई मानसिक स्वास्थ्य सेवा दिइरहेको सुनाउँछन् । उनका अनुसार उपचारका लागि आउने अधिकांश विरामीहरुले शुरुको समयमा भन्दापनि रोग बढिसकेपछि मात्र आउने गरेकाले समस्या थपिने गरेको छ । एकातिर मानसिक रोगको उपचारका लागि नेपाली बिशेषज्ञ भेट्न नचाहने प्रवृति र अर्कोतिर मानसिक रोग भएपनि यसलाई कमजोरीका रुपमा लिने र स्वीकार नगर्ने चलन नेपालीहरुमा भएको उनको अनुभव छ ।


अष्ट्रेलियाको सरकारको तथ्यांक अनुसार प्रत्येक बर्ष २ हजार ७ सय ९५ जनाले आत्महत्या गर्ने गर्दछन भने सन २०१६ मा यो संख्या २ हजार ८ सय ६६ थियो । मानसिक रोग यहाँ मृत्युको कारक रोगमध्ये १३ औं नम्बरमा आउने तथ्यांक उपलब्ध छ । यहाँको केन्द्र र राज्य सरकारले मानसिक रोग भएकाहरुलाई उपचारका लागि बिभिन्न गोप्य परामर्श, उपचारहरु समेत उपलब्द्ध गराउने गरेको छ । यद्यपी मानसिक रोग अपेक्षित रुपमा नियन्त्रणमा आउन सकेको छैन् ।


लैङ्गिक र अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा काम गरिरहेकी अञ्जना रेग्मी अष्ट्रेलियामा उमेर समुह अनुसार मानसिक समस्या देखिने गरेको बताउँछिन् । सबैभन्दा बढी युवाहरुमा यो समस्या गम्भिर रुपमा देखिएको उनको अनुभव छ । यहाँ रहेका नेपालीहरुमा आफ्ना समस्याहरु अरुलाई भन्ने वातावरण नभएकाले समेत समस्या थपिदै गएको उनको भनाई छ । एकातिर सामाजिक सहयोग र सहकार्य कम हुने र आफ्नो नजिकको परिवार पनि आफुसँग नहुने भएकाले मानसिक रोगले अझ समस्या सृजना गरेको हो ।


मेलबर्नमा मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेका डा. अनुपम पोखरेल नेपालीहरुमा मानसिक समस्या बढ्दै जानुमा अष्ट्रेलिया आउनुअघि जे सोचेर आएको हुन्छ त्यस्तो वास्तविकता नहुने र नेपालमा परिवारले आवश्यक्ताभन्दा धेरै अपेक्षा गर्नाले समस्या आउने गरेको हो । बिद्यार्थीहरु यहाँ आउनुअघि नै यहाँको वास्तविकता र यथार्थसँग परिचित भएर आएको खण्डमा केही हदसम्म उनीहरुलाई सहज हुने उनी सुनाउँछन् ।


पछिल्लो समयमा मानसिक लगायतका समस्या बढ्दै गएपछि एनआरएनले समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याउने भएको छ । एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा उपाध्यक्ष नन्द गुरुङले नेपाली समुदायलाई सहयोग गर्नका लागि आफुहरुले सामाजिक पहल सुरु गरेको जानकारी दिए ।

प्रकाशित : पुस २५, २०७४ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?