२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

न्यूयोर्कमा ल्होछार कार्यक्रम सम्पन्न 

न्यूयोर्क — तमु सोसाइटी अमेरिकाले विविध कार्यक्रमको आयोजना गरी ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा ल्होछार मनाएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनलाई गुरुङहरुले स्वागत गरेका हुन् ।

न्यूयोर्कमा ल्होछार कार्यक्रम सम्पन्न 

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित ८० बर्षिया उमा गुरुङले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । ल्होछारको अवसरमा गुरुङको मौलिक संस्कृति अनुसार साँस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।


न्यूयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले ल्होछारका अवसरमा शुभकामना दिंदै नेपालको जातीय, भाषिक र साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुर्याएको उल्लेख गरे । उनले यस्ता साँस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिनुपर्ने पनि सुझाए । साथै नेपालमा परेको प्राकृतिक विपत्तिहरुमा न्यूयोर्कको गुरुङ समाजले सहयोग गरेको पनि उल्लेख गरे ।


यसैबीच, गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग पुगेको बताए । उनले ल्होछार पर्वको अवसरमा तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न मद्दत पुगेको पनि बताए ।


कार्यक्रममा अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष सिद्दार्थ गुरुङले वाणिज्यदुत कृषु क्षेत्रीलाई गुरुङहरुको मौलिक पहिरन भाँग्रा र पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गरेका थिए ।


सोही कार्यक्रममा सन २०१५ मा नेपालमा गएको भुकम्पपछि गुरुङ समाजले संकलन गरेको रकमबाट नेपालको चार वटा जिल्लामा पुननिर्माण अन्तगर्त भइरहेको परियोजनाको बारेमा जानकारी गराइएको थियो । समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँगको सहकार्यमा दुईटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माणको काम पुरा गरेको छभने बाँकी ३ जिल्ला, चन्द्र गुरुङ संरक्षण कोषसँगको सहकार्यमा गोरखाको गुम्दा गाविसमा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांणको काम, जागरण मिडिया सेन्टरसँगको सहकार्यमा सिन्धुपाल्चोकको सिपापोखोरमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माणको र सगुनसँगको सहकार्यमा काभ्रेपलाञ्चोकको खार्पाचोकमा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम भइरहेको जानकारी दिएको छ ।


हिउँ परेर मौसम प्रतिकुल भएपनि करिव ६ सयको हाराहारीमा उपस्थित मध्ये अन्य समुदायका बाहेक सबै महिला तथा पुरुषहरु आफनो गुरुङको मौलिक पोशाक लगाएका थिए । कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने समाजले बर्षभरी गरिने विभिन्न महत्वपूर्ण कार्यक्रम समेटर तयार पारेको बर्ष क्यालेन्डर २०१८ पनि सार्वजनिक गरिएको थियो । मैरिमो चलचित्रका निर्देशक तथा नायक प्रेम गुरुङको नयाँ गीतको सिडी पनि विमोचन गरिएको थियो ।

प्रकाशित : पुस १९, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?